
गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन् ।
शुक्रबार बागलुङ बजारमा सुरु भएको १०औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।
निर्वाचन संयोजक डा डिल्लीराज गौतमका अनुसार एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष भएका हुन् ।
उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत भएका छन् । यसअघि नवौं जिल्ला अधिवेशनबाट भुसाल सचिव चयन भएका थिए ।
सचिवमा भने तीन जनाको उम्मेदवारी परेको छ । एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्माको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ । उपसचिवमा पनि सर्वसम्मत रूपमा धनबहादुर परियार र करमती पुन चयन भएका छन् ।
‘निर्वाचनको कार्यतालिकामै छौँ, एकल उम्मेदवारी कायम भएपछि अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत भइसकेको छ’, संयोजक गौतमले भने, ‘सचिवको विषयमा पार्टीले छलफल गरिरहेको होला, निर्वाचन कार्यतालिकाअनुसार हामी अगाडि बढिरहेका छौँ, एकल उम्मेदवारी पर्नु भनेको निर्वाचन जित्नु हो, निर्वाचन कार्यतालिकाअनुसार सबैको नतिजा आएपछि मात्रै घोषणा हुन्छ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij