
आमा कसैकी छोरी हुनत कसैकी सासु, कसैकी श्रीमती त कसैकी दिदीबहिनी आदि इत्यादी । आखिर जे भने पनि आमा एक नारी नै हुन् ।
तिमी नै जगत जननी धरती पनि हो तिमी । जतिसुकै दुःख पीडा सहेर पनि नौ महिनाको भारी बोकेकै हुन्छौ आमा तिमीले । कति गाहरो कति असजिलो, अत्याचार, पीडा महसुस भएतापनि कुनै परवाह नै नगरिकन मातृत्व अवश्य तिमीले वहन गरेकै हुन्छौ । मातृत्व वहन गर्दागर्दै ९ महिना पछि त्यो मातृत्वको भारी यो धरतीमा बिसाएकै हुन्छयौ, त्यो भारी । त्यो भारी धरतीमा विसाएता पनि सुख हुँदैन तिमीलाई । त्यसलाई लालनपालन गर्दागर्दै तिम्रो जीवनको अनुहार नै बदलिएको हुन्छ । न रात न दिन, न भोक न निद्रा । न फोहोर, केही कुनै कुराको परवाह नगरिकन आफ्नो मातृत्वको मोहलाई पालन गर्दै उसैको जीवनलाई उद्दार गरेकी अवश्य हुन्छौ तिमी आमा । त्यसैले त तिमी आमा हौ ।
ति आमा नै हाम्रो तिम्रा बालबालिकाको निम्ति जीवनको पहिलो गुरु हुन्छिन् । जीवनमा के गर्नु हुन्छ, के गर्नु हुँदैन् भनि ति आमाले नै ज्ञानको पाठ सिकाएकी हुन्छिन् । आमाको काखबाटै दुधको चुस्की लिँदालिँदै हामी काखमा नै बढेको हुन्छौं । संसारमा आमाको माया स्नेह कति हुन्छ भन्ने भन्न नै सकिन्न । यसको गन्ती नै छैन, व्याख्या गर्न सकिने शब्द नै छैन । मायाको पनि स्वार्थ हुन्छ । तर आमाको माया निःस्वार्थ, निश्चल, पवित्र र गंगा जस्तै हुन्छ । आफ्नो सन्तानको लागि आफ्नो शरीरको पनि परवाह नगरिकन बलिदान दिएका धेरै उदाहरणहरु भेटिन्छन् यस संसारमा ।
“संसारमा पैसाबाट के किन्न पाईंदैन ? आमा ।” “भगवानलाई पाउने पहिलो भर्याङ (बाटो) भनेकै आमा हुन् ।”
“संसारमा मायाकी देवि भनेर आमालाई भनिन्छ ।”
“संसारमा सबैभन्दा ठूलो श्राप भनेकै आमाको आंशु हो ।”
“संसारमा सर्वश्रेष्ट पुजा भनेकै आमाको पुजा हो ।”
“संसारमा सबैभन्दा ठूलो तीर्थ भनेकै आमाको सेवा हो ।”
आमाको सामु भगवान पनि स्वार्थी हुन्छ । भगवानलाई पनि जसले पूजा आराधना गर्दछ । उसको मात्र जयजयकार र कल्याण गाउँछ । यसले मेरो धेरै सेवा तपष्या गर्यो भनि भगवानले समेत खुशी भई दैत्य समेत वरदान दिएको हामीले हाम्रा पुराण तथा विभिन्न ग्रन्थहरुमा पढेका र सुनेका छौं । भगवान शिवले भष्मासुरलाई वरदान दिए । तर आमाको माया निःसन्देह, निश्चल र निश्कपट हुन्छ । जुन आफ्नो सन्तानमा सबभन्दा कमजोर दुःखी वा सानो जो छ, उसै प्रति नै बढी माया दर्सिएको हुन्छ । उसको लागि सबै सन्तान बराबरी भेदभाव रहित हुन्छ । हर प्राणीमा आफ्नो सन्तानको लागि आमाको माया कति हुन्छ भनि यहाँ मैले वर्णन गर्नु आवश्यक ठान्दिन । तपाईहरु आफैले देखेकै कुरा हो । बल्की एउटा प्राणी हो । जुन हाम्रो घर आँगन र खेतबारीमा अवश्य देखेका र परिचित नै रहेका हुन्छौं । जुन प्राणी आफ्नो सन्तानलाई जन्माउनको लागि हरेक किरा फट्याङ्ग्रालाई आफ्नो खानाको जालमा फसाउँदा फसाउँदै अन्त्यमा आफ्नो सन्तान जन्मने बित्तिकै उसको प्राण त्याग गरिएको हुन्छ । “त्यो हो माकुरोको माया” माकुरो जस्तो प्राणीमा त यस्तो माया छ भने हामी त मानिस । प्राणीमा पनि सर्वश्रेष्ठ, विवेकशिल, चेतनशिल प्राणी । तैपनि हामीमा अवगुण धेरै छन्, आफूलाई मन नपरे लाखौं गुण भएता पनि एउटा मात्र मूल वंशको गल्तीले वैगुण पर्नासाथ लाखौं गुणलाई बिर्सेर बैगुणको मात्र चर्चा गरेका हुन्छौं । यसले मलाई यस्तो गर्यो, उस्तो गर्यो भनि नानाभाँती चर्चा परिचर्चाहरु गरिएको हुन्छ । यो नै हाम्रो सर्वश्रेष्ठ प्राणीको महान वैगुण हो ।
यसरी आमाको माया यति सम्म हुन्छ की, आफ्नो आमा केही गरि एक ठाउँबाट अर्को ठाउँमा अरु कुनै व्यक्ति विशेषसँग पोइल नै गएपनि आफ्नो पहिलेको श्रीमानबाट जन्मेको सन्तानलाई समेत साथमा लिएर पोइल जाने गरेका धेरै उदाहरणहरु हामी कहाँ छन् । तर बाबुको माया भने अर्की कान्छी श्रीमति ल्याउने बित्तिकै उसको माया प्रेममा धेरै भिन्नता र भेदभाव भएको देखिन्छ । कान्छी श्रीमतीको लहलहैमा लागेर पहिलेकी श्रीमतीबाट जन्मेको सन्तानलाई बाहिर निकाल्न या मार्न पनि आफ्नै बाबु पछि नपरेका धेरै उदाहरणहरु भेटिन्छन् ।
सौतेनी आमाको व्यवहार र सौताका छोराछोरीसँगको माया कति हुन्छ भन्ने बारे हाम्रो हिन्दु धर्म ग्रन्थ रामायणमा वर्णन गरिएको छ । भनिन्छ, सुनिन्छ, आमा भनेको धरती हो रे, बाबु भनेको आकाश हो रे । मेरो वा तपाईको विचारमा पनि अवश्य हो जस्तो लाग्छ होला । किन ? हामी मानिस हो या कुनै प्राणी नै किन नहोस्, उसलाई या जसलाई पनि जब दुख या पीडा या रोदन हुन्छ । सबभन्दा पहिला हे आमा, हे धरती भनी पुकार अवश्य गरेका हुन्छौं । तपाईं हामी सबै नै । उदाहरणको लागि हाम्रा पुजनीय भगवान् श्रीरामकी अर्धाङगिनी सीता पनि रामसँगबाट बिछोड हुन्छ, तब धरतीमाता सँग नै गुहार माग्न पुग्छिन् । साथै धरतीमाता सँगै उनी विलिन पनि हुन्छिन् ।
हो, अहिले हामीले ती धरतीमातालाई जतिसुकै कुल्चेपनि धरतीमाताले सहेर बसेकी हुिन्छन् । तर ति आकाश बाबु भने कहिले रिस चलेको बेला मेघ गर्जे जस्तो गरि कराउने, कहिले असिना जस्तो पानीको ढुङ्गाले ती धरतीमा हामी सन्तानलाई कुटेर आफ्नो रिस शान्त पार्ने । त्यस्तो अवस्थामा हामी बचाउको लागि कुनै छाना या घरमुनी लुक्न जान्छौं । तर विचरा ती धरती मातालाई कसले बचाउन सक्छ र ? न चल्न न हिँड्नै सक्छिन् उनी । ती धरतीमाता जतिसुकै आकाश बाबुले पानीको बर्सात नै गराएपनि या आगो जस्तो पोल्ने गरी बैशाख जेठको जस्तो तातो घामले नै सताएपनि वा जतिसुकै पीडा र दुख नै भएपनि सहेर नै बसेकी हुिन्छन् ।
कहिलेकाहीँ ति आकाश बाबुलाई कलकारखाना, इट्टाभट्टाको प्रदुषित धुवाँको नसाले लागेर वातावरण नै अन्धकार हुने गरी दिनको ३ बजेको समयलाई नै अँध्यारो पारी रातको समय बनाएर तर्साउने काम गर्छन् त कहिले आफ्ना सन्तान अर्थात हामीलाई । त्यति मात्रले रिस शान्त नभइ कहिलेकाहीँ घाँटी नै सुक्ने गरि तृष्णा लागेको बेला असार श्रावणमा सुख्खा मौसम गरिदिने पनि ती आकाश बाबु नै हुन् । उनले त्यत्ति मात्र पनि गर्दैनन्, आफ्ना सन्तान र बुढीले खाइनखाइ गरि बनाएको बस्तीलाई नै क्षणभरमा उजाड हुने गरि वर्षात् गराई बाढीको माध्यमबाट बगाउने काम गर्न पनि उनी पछि पर्दैनन् ।
( बनेपाली हाल भक्तपुरको दत्तात्रयमा बस्नुहुन्छ )
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij