२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

आज अटोमोटिभ कनक्लेभ २०८१ हुँदै

आज अटोमोटिभ कनक्लेभ २०८१ हुँदै

काठमाडौं । मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले फागुन २८ गते (बुधबार उक्त कनक्लेभ आयोजना गर्ने भएको हो ।

नेपालको समग्र अटोमोबाइल क्षेत्रका विद्यमान समस्या, तिनको समाधानका उपाय, स्वदेशमै सवारी उत्पादनको सम्भावना र चुनौती लगायत विषयमा बृहत् छलफल गर्ने उद्देश्यले कनक्लेभ आयोजना गर्न लागेको आयोजकले जनाएको छ । त्यस्तै कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

अटोमोटिभ कनक्लेभ तीन सत्रमा संचालन हुनेछ । पहिलो सत्र (११ बजेदेखि १२ः३० बजेसम्म)मा ‘निजी सवारी ः आजको आवश्यकता’ विषयमा बहस हुनेछ । मेरोअटोका सम्पादक सागर गजुरेलले सहजीकरण गर्ने यो सत्रमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, अन्तर्राष्ट्रिय व्यापार विशेषज्ञ रवि शंकर सैंजु र काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. विराज सिंह थापा वक्ताको रूपमा रहेका आयोजकले जानकारी दिनुभयो ।

त्यस्तै, दिउँसो १ बजे सुरू हुने दोस्रो सत्रमा ‘सार्वजनिक सवारी ः समस्या र समाधान’ विषयमा बहस हुनेछ । यस सत्रका वक्ताहरूमा बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रमेभक्त मर्हजन, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापा, भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्त र सीजी मोटर्सका सीईओ हेमन्त अग्रवाल छन् । यो सत्रमा मोडेरेटरको भूमिकामा आशिष गजुरेल रहेका छन् ।

‘सवारी उत्पादनको नयाँ गन्तव्य’ विषयक अन्तिम सत्र दिउँसो ३ः३० बजे सुरू हुनेछ । यो सत्रमा नेकपा एमालेका सांसद योगेश भट्टराई, नेपाली काँग्रेसका सांसद उदय शमशेर राणा, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री र उद्योग वाणिज्य महासंघका गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छाले आफ्ना धारणा राख्ने छन् । यस सत्रको सहजीकरण रुपेश श्रेष्ठले गर्नेछन् ।

अटोमोटिभ कनक्लेभ मेरोअटोको आधिकारिक फेसबुक पेज र युट्युबबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । यस कनक्लेभको प्रमुख साझेदारी सिटिजन्स बैंक इन्टरनेशनल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij