
काठमाडौं । नेपाल वितरक महासंघले शनिबार १२ औं अधिवेशन भव्य रुपमा सम्पन्न गरेको छ ।
काठमाडौंको बुढानिलकण्ठ स्थित पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’मा १२औं अधिवेशन भव्य रुपमा सम्पन्न भएको महासंघका केन्द्रीय अध्यक्ष हरिराज पन्तले जानकारी दिनुभयो ।
अधिवेशनमा देशभरका वितरक संघबाट प्रतिनिधित्व गर्दै उपस्थित भएका करिब २ सय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

अधिवेशन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको मुख्य आतिथ्यता एवं महासंघका अध्यक्ष हरिराज पन्तको सभापतित्वमा सम्पन्न भएको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गिरीले वितरक व्यवसायीहरुले राष्ट्रमा पु¥याएको योगदानको प्रशंसा गरेका छन् । साथै नीतिगत रुपमा व्यवसायलाई कुनै अप्ठ्यारो परेको भए आफू त्यस सहजीकरण गर्नको लागि सदैव तयार नै रहने बताएका छन् । व्यवसायलाई व्यवस्थित बनाउँदै लैजानुपर्नेमा उनको जोड छ ।

सोही अधिवेशनमा वितरक व्यवसायीहरुले वाणिज्य ऐन, यातायात व्यवस्था ऐन लगायतका केही अमिल्दा ऐन नियमहरुमा सुधार तथा संशोधनको आवश्यकता रहेको बताएका छन् ।
कार्यक्रममा वितरक व्यवसायीहरुको अलावा अतिथिको रुपमा अन्य विभिन्न क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, समाजसेवी लगायतको समेत उपस्थिति रहेको थियो ।
साेही अवसरमा संस्थाको उन्नती र प्रगतीको लागि अनवरत लागिरहनुहुने नेपाल बितरक महासंघका सचिव कृष्णराज श्रेष्ठलाई सम्मान पनि गरीएको थियो
नेपाल वितरक महासंघ नेपालमा उत्पादित एवं आयातित वस्तुहरु सहज रुपमा उपलब्ध गराउने काममा संलग्न रहँदै आएका व्यवसायीहरु समेटिएको संस्था हो ।
हाल यस संस्थाका सदस्यहरुमा मूलतः चाउचाउ, बिस्कुट लगायतका खाद्यान्न, कस्मेटिक, चिया, साबुन, धूप, मदिरा लगायतका वस्तुहरु बजारीकरण तथा वितरण कार्यमा संलग्न रहँदै आएका व्यवसायीहरुको संलग्नता रहँदै आएको छ ।

देशभर रहेका स्थानीय वितरक संघहरुको समेत अभिभावकीय संस्थाको रुपमा रहेको नेपाल वितरक महासंघले व्यावसायिक सचेतना अभिवृद्धि, विभिन्न समस्या सृजना हुँदा सहजीकरण गर्ने र बजारमा देखिँदै आएको अस्वस्थ प्रतिष्पर्धा न्यूनीकरणको लागि संस्थागत पहल गर्नुको अलावा नीतिगत सुधारको लागि राज्य पक्षलाई घच्घच्याउने लगायतका काममा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।






© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij