२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेपालमा उद्यमशिलता- सेताेघर

नेपालमा ग्रिल उद्योगको योगदान महत्वपूर्ण छ: अध्यक्ष श्रेष्ठ

नेपालमा ग्रिल उद्योगको योगदान महत्वपूर्ण छ: अध्यक्ष श्रेष्ठ

अप्ठ्यारो अवस्थामा सबै मिलेर अघी बढौं

ठूलोबाबु श्रेष्ठ, अध्यक्ष, ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल

विश्वव्यापी मन्दीको कारण नेपालका सबैजसो व्यवसायहरु अहिले प्रभावित बनेका छन् । यसबाट ग्रिलजन्य उद्योग पनि प्रभावित भएको छ । व्यवसायीहरु अप्ठ्यारोमा परेको बेला राज्यले जुन रुपमा व्यवसायीहरु प्रति सहयोग गर्नुपर्ने जरुरी रहन्थ्यो, त्यो भूमिका राज्यबाट वहन हुन नसकेको ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष ठूलोबाबु श्रेष्ठ बताउँछन् ।

तथ्याङ्कको आधारमा नेपालमा ग्रिल उद्योगको अवस्था

अहिले यो उद्योगले नेपालको अर्थतन्त्रमा एक महत्वपूर्ण उद्योगको रुपमा प्रतिनिधित्व गर्दछ, हाल महासंघमा करिब ११ हजार उद्योगी व्यवसायीहरु जोडिनुभएको छ । कामदार कर्मचारी करिब १ लाख ६० हजार छन् । जसबाट परिवारका सबै सदस्य गरेर करिब ६ लाख मानिसहरूको लागि यो उद्योग मुख्य रोजीरोटीको आधार बन्दै आएको छ । साथै राष्ट्रि«य आय (राजस्व) सङ्कलनमा पनि यस उद्योगको भूमिका महत्वपूर्ण रहँदै आएको छ ।

ग्रिल उद्योगका प्रकारहरु 

नेपालमा सञ्चालनमा रहेका र महासंघमा आबद्ध भएका ग्रिल तथा स्टिल उद्योगहरु क्षमताको हिसाबले सबै समान अवस्थामा छैनन् । सीपमा आधारित स्वरोजगारमूलक साना उद्योग देखि करोडौं लगानीका उद्योगहरु सम्म यस क्षेत्रमा क्रियाशिल छन् । अधिकांश उद्योगहरु सानो लगानीबाट सञ्चालित छन् ।

ग्रिलको आवश्यकता

अहिले ग्रिल सबैको लागि आवश्यक वस्तु बन्दै गएको छ । ग्रिल मूलतः निर्माण कार्यमा प्रयोग हुन्छ । गेट, पुल, टावर, हाइड्र«ोपावर, ट्रस, ढोका, झ्याल लगायत फलाम सम्बन्धी वस्तुहरु निर्माण गर्ने र आवश्यक सेवा उपलब्ध गराउने उद्योगलाई ग्रिल उद्योग भनेर चिन्न सकिन्छ ।
विगतमा काठबाट निर्माण हुँदै आएका फर्निचरजन्य सामानहरुको स्थान अहिले फलामबाट निर्मित वस्तुहरुले लिँदै आएको अवस्था छ । नेपालको परिप्रेक्ष्यमा कुरा गर्दा यस क्षेत्रको भविष्य समेत निकै राम्रो छ । कारोबार र दायरा बढ्दै जाँदा ग्रिल व्यवसाय एक सम्मानित पेशाको रुपमा विकास हुँदै आएको छ । पेशालाई व्यावसायिक बनाउन एवं यसमा संलग्न व्यक्तिहरुको क्षमता अभिवृद्धि गर्नमा महासंघको पहल समेत निकै महत्वपूर्ण रहँदै आएको छ ।

चुनौतीः

ग्रिल उद्योगले पक्कै पनि केही चुनौतीहरूको सामना गरिरहेको छ । व्यवसायीहरुमा रहेको अस्वस्थ प्रतिष्पर्धा, दररेटमा एकरुपता कायम हुन नसक्नु लगायतले पनि समस्या सृजना गरेको छ । यसको अलावा मूल्यमा आउने उतारचढाव तथा स्वदेशका उद्योगहरुमा आयातित तयारी वस्तुहरुसँग हामीले प्रतिष्पर्धा गर्नुपर्ने स्थितिबाट सृजित समस्या पनि हामीले सामना गरिरहेका छौं । बैंकहरुको तर्फबाट ब्याजदर उच्च बन्न पुग्दा हामीलाई समस्या सृजना भएको छ ।
यसको अलावा व्यवसायीहरुमा कर, भ्याट लगायतका विषयवस्तुहरु बारे राम्रो ज्ञान हुन नसक्नु, वित्तीय साक्षरताको अभावले गर्दा सही तवरले बजेट निर्माण, लगानी एवं कारोबारबारे निर्णय लिन नसक्नु, जोखिमको पहिचान हुन नसक्नु, उधारो कारोबार, चेक बाउन्स लगायतका समस्यामा पनि हामीले भोग्दै आएका चुनौतीहरु हुन् ।

मन्दीबाट परेको असर

अर्थतन्त्र मन्दीमा भएको कारण अहिले हामी लगायत अधिकांश व्यवसायीहरु अलि तनावपूर्ण अवस्थामा छौं । हुनतः व्यावसायिक क्षेत्र जोखिमयुक्त अवश्य हुने गर्दछ । तथापि अहिलेको मन्दीको प्रभाव हामीले अनुमान गरे भन्दा निकै बढी पर्न गएको छ । यस्तो अवस्थामा पनि व्यवसायीहरु चिन्ता र तनावमा नभइ विकल्प खोजी तर्फ लाग्नुहुन म व्यवसायी साथीहरुलाई आग्रह गर्दछु ।

महासंघको भूमिकाः

महासंघले व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न एवं राज्यका नीतिहरु बारे व्यवसायीहरुलाई सुसुचित गर्न विभिन्न तालिम र सीप विकासमूलक कार्यक्रमहरू प्रदान गर्दै आएको छ । सङ्कटको अवस्थालाई सबैले आपसी समझदारी र सहकार्यबाट नै निवारण गर्ने हो भन्ने बारे बुझाउँदै महासंघले व्यवसायीहरुलाई सान्त्वना दिँदै आएको छ । महासंघ सदस्यहरुका उचित समस्या समाधानको लागि अभिभावकीय निकाय समेत भएकोले हामीले व्यवसायीहरुका समस्या समाधानको लागि राज्यलाई घच्घच्याउने काम समेत गर्दै आएका छौं ।


विकास र समृद्धिमा ग्रिलको भूमिकाः

मुलुकको विकास र समृद्धिको लागि पूर्वाधार विकास निकै महत्वपूर्ण रहन्छ । पूर्वाधार विकासको लागि ग्रिल पनि एउटा महत्वपूर्ण क्षेत्र अन्तरगत पर्दछ । मुलुकको समृद्धि र औद्योगिकरणको लागि राम्रो वातावरण बन्दै जाँदा नेपालमा यस क्षेत्रमा अझ बढी अवसरहरु सृजना हुन सक्नेछन् । अहिले पनि नेपालका उद्योगहरुमा आवश्यकता अनुसार जनशक्ति परिपुर्ति हुन सकेको छैन ।

गुणस्तरमा जोड दिउँः

नेपालमा काम गर्नको लागि दक्ष जनशक्ति छ । आफ्नो क्षमतामा दक्ष हुँदाहुँदै पनि कर, राजस्व, राज्यका नीतिनियम लगायतका सबै कुराको ज्ञान सबै व्यवसायीमा नहुन सक्छ । काम गर्ने क्रममा आफू संलग्न हरेक कुराको ज्ञान व्यवसायीमा हुनु निकै महत्वपूर्ण हुन जान्छ ।

महासंघले यस सम्बन्धमा सदस्य व्यवसायीहरुलाई सुसूचित गर्दै आएको छ । कामको गुणस्तरीयता कायम हुनुपर्छ भन्ने कुरामा हामी विशेष जोड दिँदै आएका छौं । काम गर्दै जाने क्रममा अज्ञानताको कारण आउन सक्ने समस्या केही हद सम्म क्षम्यशिल पनि हुन सक्छन् तर नियतवश हामीले गल्ती गरेका छौं भने क्षमा पाउन सक्दैनौं भन्ने कुरा पनि व्यवसायीले बुझ्नुपर्छ ।

अहिले व्यवसायीहरुमा एक किसिमको निराशा देखिएको छ । यो स्वभाविक हो । तथापि हामी सदैव सकारात्मक हुन सक्नुपर्छ । यसो हुन सक्यौं भने समाधान पनि आफैंले भेट्टाउन सक्छौं । हाम्रो सफलताको आधार नै आफ्नो कामको गुणस्तरीयता हुने भएकोले आफ्नो काममा सदैव गुणस्तर दिन सक्नुपर्छ ।

सरकारको दायित्व

–  राज्यले स्वदेशमा निर्माण गर्ने सामानहरुको प्रयोगलाई नै स्वदेशी उद्योगको लागि प्रयोग गर्न प्रवद्र्धन गर्नुपर्ने ।
– नेपालमा सञ्चालन गरिने कामको लागि नेपालीलाई प्रोत्साहन गर्नुपर्ने ।
– कामदारको ग्रेडिङ आवश्यक रहेको
– आवश्यकता अनुसार क्षमता विकासमूलक तालिमहरु सञ्चालन गर्नुपर्ने ।
– तालिमलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग सहकार्य एवं समन्वय गर्नुपर्ने ।
– बैंकको व्याज सन्तुलनमा राख्नुपर्ने ।
– राज्य र सरोकारवाला व्यवसायीबीच निरन्तर समन्वय आवश्यक ।

प्रविधिको प्रयोगमा जोड दिउँः
अहिलेको समय सूचना प्रविधिको समय पनि हो । यस समयलाई विचार गर्दा अब हामी डिजिटल युगमा प्रवेश गरिसकेका छौं । अब हामीले प्रविधिलाई पनि सँगसँगै आत्मसात् गर्दै जान सक्नुपर्छ । अब हामीले ‘हार्ड वर्कको बदलामा स्मार्ट वर्क कन्सेप्ट’लाई पनि सँगसँगै आत्मसात् गर्नुपर्छ । अब हामीले व्यावसायिक तौरतरिकामा बदलाव समेत ल्याउन सक्नुपर्छ । फस्टाउँदै गएका ई–कमर्स प्लेटफर्महरू र अनलाइन व्यापार उपकरणहरूबाट समेत अब हामी लाभान्वित बन्न सक्ने अवस्था सृजना भइसकेको छ । यसकारण समय र परिस्थिति अनुसार हामी पनि बदलिनुपर्ने जरुरी अवश्य छ ।

रचनात्मक योजनामा जोड दिउँ
अब हामी देखासिकीको आधारमा नभई बजार अनुसन्धानको आधारमा लगानी बिस्तार गर्ने तर्फ पनि सोच्नुपर्छ । जसबाट बजार स्वस्थ र सन्तुलित बन्न सकोस् । सोही आधारमा हामीले लगानी गर्यौं, नयाँ बजार सम्भावना खोजी गर्यौं र हाम्रा उत्पादनहरूको गुणस्तर कायम राख्दै प्रविधिको प्रयोगलाई पनि जोड दियौं भने हाम्रो भविष्य निकै राम्रो हुनेछ । यसकारण अब हामीले आफ्नो सोचाईको दायरालाई समेत फराकिलो बनाउन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij