चन्द्रश्याम डंगोल, अध्यक्ष, स्टोन क्राफ्ट एसोसिएसन अफ नेपालविषयप्रवेशः
नेपाली कला क्षेत्रमा प्रस्तर कला एउटा अलग पहिचान बोकेको मौलिक कला हो । प्रस्तर अर्थात ढुङ्गाबाट बनेका मुर्तिहरु बलिया र टिकाउ समेत हुने गर्दछन् । देख्दा आकर्षक यस्ता कलात्मक मुर्ति एवं आकृतिहरु निर्माणको निकै गर्विलो इतिहास छ । यस्ता कलाकृतिहरुको नेपाली एवं विदेशी दुवै बजारमा राम्रो माग छ ।
यस क्षेत्रमा कच्चा पदार्थको रुपमा आवश्यक पर्ने ढुङ्गाको उपलब्धता ठूलो समस्याको रुपमा रहँदै आएको छ । नेपालमा अहिले मुर्तिकला क्षेत्रमा क्रियाशिल उद्योगहरु करिब ५०–६० ओटाको हाराहारीमा हुनुपर्छ । करिब ५ सय कालिगढ–कलाकारहरु यस व्यवसायमा संलग्न हुनुहुन्छ । यो व्यवसाय मूलतः काठमाडौं केन्द्रित व्यवसाय हो । विगतमा पुस्तान्तरण हुँदै सीप हस्तान्तरण हुने गरेको यस क्षेत्रमा पछिल्ला बर्षहरुमा नयाँ जनशक्तिको प्रवेश बढ्दो छ ।
माथिल्लो तहको औपचारिक शिक्षा हासिल नगरेका व्यक्तिहरुले यस क्षेत्र मार्फत राम्रो आर्थिक उपार्जन गर्न सकिने कारणले गर्दा नै यस क्षेत्रलाई आफ्नो रोजाईमा पार्ने गरेको पाइन्छ ।
नवप्रवेशीहरु बढ्दै
अहिले बजारमा रहेका कालिगढ-कलाकार मध्ये आधाजसो (करिब साढे २ सय) व्यक्तिहरु परम्परागत पेशा अपनाउने परिवार भन्दा बाहिरबाट प्रवेश गरेका छन् । विगतमा यस व्यवसायमा शाक्य, बज्राचार्यहरुको बढी बाहुल्यता थियो । अहिले यस व्यवसायमा तामाङ, परियार, विश्वकर्मा लगायतका व्यक्तिहरुको प्रवेश समेत उल्लेख्य रुपमा बढेको छ । नेपालमा नयाँ भित्रिएका व्यक्तिहरुले नेपालको बजारलाई नै मुख्य आधार बनाउने गरेका छन् । पहिले देखि संलग्न शाक्य, बज्राचार्य लगायत परिवारका व्यक्तिहरुले भने स्वदेशी सँगै विदेशी बजारलाई पनि आफ्नो कार्य क्षेत्र बनाउँदै आएका छन् । अनुभव, कार्यशैली, जनसम्पर्क लगायतले पुरानो पुस्तालाई बाह्य बजारमा प्रवेश गर्न सहज भएको अनुमान गर्न सकिन्छ ।
औपचारिक शिक्षामा मुर्तिकला
नेपालमा विगत केही बर्ष पहिले देखि त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा परम्परागत मुर्तिकला नामक शैक्षिक कार्यक्रम समेटेको छ । जसले माटो, ढुङ्गा, धातु लगायतमा मुर्ति निर्माण सम्बन्धी सीप विकासमा केही सहयोग पुर्याएको छ । यस औपचारिक शिक्षाले उच्च शिक्षामा परम्परागत मुर्तिकलालाई नयाँ ढङ्गले बुझ्न र उत्पादकत्व वृद्धि गर्न निकै महत्वपूर्ण सहयोग पुर्याएको पाइन्छ ।
पर्यटन प्रवद्धनमा महत्वपूर्ण भूमिका
नेपाली कला नेपाली धर्म, संस्कारसँग प्रत्यक्ष जोडिएको छ । नेपालमा पर्यटनको प्रवद्धनमा पनि नेपाली मुर्ति-कलाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ र थप योगदान गर्न सक्छ । अहिले पनि काठमाडौंमा भ्रमण गर्ने स्वदेशी र विदेशी दुवै पर्यटकहरु हाम्रा परम्परागत कलाकृति हेर्नकै लागि भ्रमणमा जाने गर्दछन् । बुढानिलकण्ठको विष्णुको मुर्ति, बसन्तपुर क्षेत्रका कालभैरव लगायतका मुर्तिहरु, पाटनका कृष्ण मन्दिर एवं ढुङ्गेधाराहरु, पशुपतिनाथ कीर्तिपुरको बाघभैरव, स्वयम्भू, चोभारको मञ्जुश्रीको मुर्ति लगायत सबै मन्दिरहरु कुनै न कुनै भगवानको आकृतिको कारण प्रख्यात भएका हुन् । जहाँ प्रस्तरकलाको समेत महत्वपूर्ण भूमिका छ ।
समस्या
अहिले सम्म नेपालमा राज्यले पराम्परागत कला र संस्कृतिसँग जोडिएको क्षेत्रलाई राम्रो तवरले बुझ्नै सकेको छैन । राम्रोसँग बुझ्न सकेको भए राज्यले बनाउनुपर्ने नीतिहरु दीर्घकालिन बनाइन्थ्यो होला । यस क्षेत्रलाई केही थप प्रवर्द्धन गर्न सकेको खण्डमा विदेशी मुद्रा आर्जनमा कति सहयोग पुग्छ भन्ने कुरामा राज्यले ध्यान नै दिएन । यस क्षेत्रलाई अझ नजिकबाट बुझेको भए राज्यले सोहीबमोजिम नै नीतिनिर्माण गरेर दिगो प्रवद्र्धनमा सहयोग पुर्याउन सक्थ्यो ।

कच्चा पदार्थको समस्याः
प्रस्तर कला क्षेत्रमा कच्चा पदार्थको रुपमा रहेको ढुङ्गाको समस्या लामो समय देखिको हो । म यस क्षेत्रमा संलग्न हुनुभन्दा पहिले पनि ढुङ्गाको समस्याको बारेमा कुरा हुन्थ्यो । मेरो यस क्षेत्रमा ३ दशकको संलग्नता भइसकेको छ । तैपनि ढुङ्गाको समस्या समाधान हुन सकेको छैन । हात्तिवन र मच्छेनारायण क्षेत्रमा पाइने ढुङ्गा हाम्रो लागि राम्रो ढुङ्गा हो । यसमा आकृति कुँद्न पनि सहज हुन्छ । यो ढुङ्गा जति पुरानो हुँदै गयो, त्यत्ति नै राम्रा आकृति यस ढुङ्गामा निर्माण गर्न सकिन्छ । तथापि अहिले सम्म सरकारले उक्त ढुङ्गालाई अनुमति दिने सम्बन्धमा कदम चाल्न सकेको छैन । अहिले हामी व्यवसायीले अलि साह्रो पनौती क्षेत्रमा उपलब्ध ढुङ्गाबाट काम गरिरहेका छौं ।

संघको आवश्यकता
मुर्तिकलामा आवद्ध हुने व्यवसायी-कलाकारहरुको संलग्नता बढ्दै जाँदा यसको गुणस्तर कायम गर्ने विषय पनि अर्को महत्वपूर्ण पक्ष बन्न पुगेको छ । नवप्रवेशीहरुलाई सबै सैद्धान्तिक पक्षको ज्ञान नहुन सक्छ । राम्रो सैद्धान्तिक ज्ञान बिना निर्माण गरिने आकृतिले सही अर्थ दिन सक्दैन । जसले गुणस्तरमा पनि प्रभाव पार्छ । यसकारण प्रस्तरकला क्षेत्रमा संलग्न जनशक्तिलाई क्षमतावान् बनाउनुपर्छ, स्टोन कार्भिन क्षेत्रलाई गुणात्मक बनाउँदै लैजानुपर्छ भन्ने मान्यताले नै यस संस्थाको स्थापना गरिएको हो । सोही बमोजिम संस्थाले सदस्यहरुको क्षमता अभिवृद्धिको लागि केही तालिम एवं क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ । यस संस्थाले भर्खर मात्रै पहिलो बार्षिकोत्सव समेत सम्पन्न गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij