दोलखामा निर्माण सम्पन्न भएको ४५६ मेगावाट क्षमता रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको हकप्रद सेयरको आवेदन २०८० भदौ १८ गतेदेखि असोज ७ गते सम्म खुला गरिएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याइएको कम्पनीले भदौ १८ गतेदेखि हकप्रद सेयर निष्काशन सुरू गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड रूपैयाँको शतप्रतिशत अर्थात एक बराबर एक का दरले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले एक सूचना जारी गर्दै १ः१ को अनुपात अर्थात विद्यमान एक कित्ता बराबर एक कित्ता नै साधारण सेयरका दरले सेयरधनीका लागि आगामी भदौ १८ गतेदेखि असोज ७ गतेसम्म आवेदन खुल्ला गरेको थियो । यो सँगै यही भदौ १८ गतेदेखि असोज ७ गतेसम्म हकप्रद सेयरको लागि आवेदन दिन सकिनेछ । कम्पनीबाट प्रतिसाधारण सेयर सय अंकित दरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीको गत वर्ष २०७९ साल भदौ ३ गते बसेको १४औँ साधारण सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड बराबरको प्रतिसेयर रकम सय अंकित दरको १० करोड ५९ लाख कित्ता साधारण सेयरको हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
संस्थापकबाट हकप्रद शेयर बापतको रकम चुक्ता गरिँदै
माथिल्लो तामाकोशी जलविद्युत कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरूले हकप्रद शेयर बापतको रकम सर्वसाधारण सेयर धनीलाई निष्काशन गर्नु अगाडि नै चुक्ता गरेका छन्। सर्वसाधारणतर्फको सेयर निष्कासन गर्नुभन्दा पहिले नै कम्पनीका संस्थापकहरू नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद शेयर बापतको रकम चुक्ता गरेका हुन्। संस्थापकहरूले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका छन। १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक सेयर रहेको छ।
सेयर स्वामित्वअनुसार प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख रूपैयाँ, नेपाल टेलिकमले ६३ करोड ५४ लाख रूपैयाँ र नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख रुपैयाँ हकप्रद सेयर बापतको रकम चुक्ता गरिसकेका छन् । रकम चुक्ता भइसकेपछि शेयरको बाँडफाँड पनि भइसकेको छ।
साधारण सेयरमा कसको कति ?
कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरूको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरूको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ। सर्वसाधारणतर्फबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्ने छ। जसमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखावासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरूले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामाकर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरूले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद शेयरबापत चुक्ता गर्नु पर्ने छ। हकप्रद शेयर बापतको रकम संकलनपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ।
हकप्रद सेयरबाट १० अर्ब ५९ करोड रकम उठदै
माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भदौ १८ देखि असोज ७ गते सम्म म्याद जारी गरेर हकप्रद सेयरबाट १० अर्ब ५९ करोड रुपैयाँ उठाउन थालेको छ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजीको आकार २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।

हकप्रद सेयरको रकमबाट ऋण तिरिने
माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले हकप्रद विक्रीबाट आएको रकमको ठूलो हिस्सा ऋण तिर्न प्रयोग गर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणको २ अर्ब, नबिल बैंक लि.को २ अर्ब र एचआइडीसीएलको २ अर्ब रुपैयाँ भुक्तानी गर्ने कम्पनीले जनाएको छ। यस्तै रिटेन्सन मनीको १ अर्ब १४ करोड रुपैयाँ भुक्तानी गर्नेछ। बाँकी रहेको ३ अर्ब ४५ करोड रुपैयाँ सहायक आयोजना रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणमा खर्च गर्नेछ। तर रोल्वालिङ निर्माणका लागि करीब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोसी निर्माण गर्दा लिइएको अल्पकालीन ऋणको साँवा ब्याज चुक्ता गर्न र २१ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणमा खर्च गरिने बताएका छन। कम्पनीले माथिल्लो तामाकोशी निर्माण गर्दा ६ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको थियो। यो ऋण तिरेपछि माथिल्लो तामाकोसी जलविद्युत आयोजना ऋण मुक्त हुनेछ।
साउन २६ गते भएकाे थियाे बुक क्लाेज
तामाकोशी जलविद्युत आयोजनाको हकप्रद सेयरका लागि कम्पनीले गत साउन २६ गते बुक क्लोज गरेको थियो । साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाएका छन् । २०८० असोज ७ गते यस कम्पनीको हकप्रद सेयर बिक्री बन्द हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । हकप्रद सेयर भर्न सेयर धनीहरूको उत्साहजनक सहभागिता देखिएको छ,तर पनि केही सेयर बिक्री नहुने सम्भावना छ। वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका लगानीकर्ताले हकप्रद सेयर भर्ने सम्भावना कम रहेको छ। यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन्। यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड
हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । अपर तामाकोशीले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो ।
तामाकोशीको सेयर मूल्य भने घटदो क्रममा
माथिल्लो तामाकोशीको हकप्रद शेयर भर्ने समयसगै शेयर मूल्य भने बढ्न सकेको थिएन ।तामाकोशीको शेयर उच्चतम प्रतिकित्ता ९६४ रुपैयाँसम्म पुगेको थियो। त्यसपछि निरन्तर घटने क्रममा छ । तामाकोशीको शेयर न्यूनतम १९४ रुपैयाँसम्म शेयर कारोबार भएको थियो । गत जेठ ३२ गते शेयर मूल्य बढेर प्रतिकित्ता ४७२ रुपैयाँमा कारोबार हुन पुगेको थियो । तर, डेढ महिनाको अवधिमा तामाकोशीको शेयर मूल्य ६० रुपैयाँले घटिसकेको छ । साउन १६ गते तामाकोशीको शेयर ४१० रुपैयाँसम्म आइपुगेको थियो ।
कतिपय लगानीकर्ताहरुले त्यसबेला तामाकोशीको हकप्रद शेयर आउन लागेकोले शेयर मूल्य घटेको बताएका थिए । हकप्रदको शेयर भर्नका लागि रकम जोहो गर्नका लागि शेयर बिक्री गर्न पुग्दा मूल्य घटन पुगेको बताइन्छ । यता लगानीकर्ताहरूले भने हकप्रद शेयर आउने वित्तिकै शेयर मूल्य बढ्ने अपेक्षा गरेका थिए । मूल्य बढेको बेला बिक्री गरेर नाफा बुक गर्ने पक्षमा केही लगानीकर्ता देखिएका थिए । तर, शेयर मूल्य बढेन बरू उल्टै घटेपछि पख र हेरको स्थितिमा लगानीकर्ता पुगेका छन् ।
शतप्रतिशत हकप्रद सेयर किन
स्वदेशी लगानीमा दोलखामा निर्माण गरिएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वित्तीय संस्थाबाट लिएको ऋण तिर्नका लागि १ बराबर १ अर्थात शतप्रतिशतका दरले हकप्रद शेयर जारी गरेको छ । अहिले माथिल्लो तामाकोशी आयोजनाले दोहोर अंक अर्थात ११ प्रतिशत भन्दा बढीमा ऋणको ब्याज तिर्दै आएको छ । त्यसरी उच्च ब्याजदरमा लिएको ऋण हकप्रद शेयर जारी गरेर तिरेपछि लगानीकर्तालाई विस्तारै लाभांश बाडने योजना बनाएको छ ।

आयोजनाको लागत ८० अर्ब
आयोजना निर्माण गर्दा साँवा र ब्याज समेत गरेर आयोजनाको लागत करिव ८० अर्ब पुगेको थियो । सुरुको ३५ अर्ब रूयैयाँको लागत बढेर ८० अर्ब पुगेपछि ऋण कसरी घटाउने भन्ने योजना सञ्चालक समितिले बनाउँदै आएको थियो । त्यसका लागि हकप्रद जारी गर्नुसबैभन्दा उपयुक्त हुने सञ्चालक समितिले ठहर गरेको थियो । त्यही अनुसार माथिल्लो तामाकोशी आयोजनाले हकप्रद शेयर जारी भएको छ । आयोजना पूर्ण क्षमतामा सञ्चालन भइरहेकाले बिजुली बिक्री गरेर राम्रो आम्दानी गर्न थालेको छ । आयोजनाले ब्याज, ऋण भुक्तानी गरेपछि लगानीकर्तालाई लाभांश वितरण गर्न थाल्ने छ । लगानीकर्ताले आयोजनाबाट लाभांश पाउन अब धेरै लामो समय कुर्नु नपर्ने भएको छ ।
माथिल्लो तामाकोशीमा संस्थापक तर्फ कसको कति लगानी ?
यस आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषको २ अर्ब र राष्ट्रिय बीमा संस्थानको २ अर्ब गरि २० अर्ब लगानी रहेको छ। बाँकी अपुग ११ अर्ब ८ करोड रुपैया नेपाल सरकारले ऋण लगानी गरेको छ । ऋणको ब्याजदर ११प्रतिशत नजिक छ । यसैगरि कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको दुई– दुई प्रतिशत संस्थापक शेयर रहेको छ । यस कम्पनीमा सर्वसाधारणको १५ प्रतिशत, दोलखाबासीको १० प्रतिशत, कर्मचारी संचय कोषका संचयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर हिस्सा रहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस आयोजनाबाट लगानीकर्ताहरूले आगामी दिनमा उच्च लाभांश पाउने अपेक्षा गरेका छन् ।

रोल्वालिङ आयोजना निर्माणको ठेक्का प्रक्रिया पुरा भएर निर्माण कार्य अगाडि बढिरहेको छ । यो आयोजनाका लागि करिव ३ अर्ब ४५ करोड रूपैयाँ वित्तिय सहयोग जुटने छ। शतप्रतिशत हकप्रद सेयर निष्काशनबाट माथिल्लो तामाकोशीको बित्तीय अवस्थामा सुधार आउनुका साथै जडित बिद्युत क्षमतामा बिस्तार हुने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij