यस बर्ष विषम परिस्थिति बीच नाडाले अटो शो आयोजना गरेको अध्यक्ष धु्रव थापाले बताउनुभयो ।
वर्तमान विषम परिस्थितिमा विभिन्न कारणले विगत ३ बर्ष देखि रोकिएको नाडा शो आयोजना गर्ने काम आफूहरुले ठूलो जोखिम उठाएर सञ्चालन गरेको समेत अध्यक्ष थापाले बताउनुभयो ।
समग्र आर्थिक स्थिति कमजोर रहेको, मुलुक व्यापक मन्दीमा रहेको र मानिसको साथमा पैसाको अभाव रहेको अवस्थामा के–कति अवलोकनकर्ताहरुको उपस्थिति रहने हो, राम्रो कारोबार हुने स्थिति नरहला भन्ने लगायतका विविध आशङ्काहरु आफूहरुको लागि चिन्ताको विषय बनेका भएपनि पहिलो दिनको अवलोकनकर्ताहरुको उपस्थितिबाट नै आफूहरुलाई ठूलो आशा, ऊर्जा र प्रोत्साहन मिलेको अध्यक्ष थापाको धारणा छ ।
नाडा अटो शो को आयोजनाबाट अटोमोबाइल व्यवसायीहरु मात्र नभई यसबाट समग्र अर्थतन्त्रलाई चलायमान बनाउनको लागि नै ठूलो सहयोग पुगेको, अन्य क्षेत्रका व्यवसायीहरुलाई पनि यस शोले आशावादी बनाएको र राज्य कोषमा समेत ठूलो परिमाणमा राजस्व सङ्कलनमा योगदान पु¥याएको अध्यक्ष थापाले बताउनुभयो ।
यस पटकको व्यापक मन्दीको बिचमा पनि सवारीसाधनमा ठूलो परिमाणमा बुकिङ हुनुले अटोमोबाइल व्यवसायीहरुलाई थप उत्साहित समेत बनाएो छ । आफूहरुले अपेक्षा गरे भन्दा बढी मात्रामा अवलोकनकर्ताहरुको आवागमन भएको नाडा सचिवालयले बताएको छ ।
यस पटकको शोमा करिब ७५ हजार अवलोकनकर्ताहरुको सहभागिता हुन सक्ने कुरा नाडाले आधिकारिक रुपमा बाहिर व्यक्त गरेपनि ५० हजारको हाराहारीमा मात्र सहभागिता हुन सक्ला कि भन्ने भित्री अनुमान थियो । तथापि औपचारिक रुपमा ७६ हजार भन्दा बढी व्यक्तिहरु यसपटकको शोमा उपस्थित भए ।
मौसम पूर्वानुमान अनुसार लगातार ६ दिन सम्म पानी पर्ने देखिएपनि मौसमले समेत आफूहरुलाई राम्रो साथ दिएको अध्यक्ष थापाले बताउनुभयो ।
समग्रमा यसपटकको नाडा शोलाई उत्कृष्ट मान्न सकिने अवस्था सृजना भयो ।
नाडालाई सफल बनाउन सहयोग गर्ने स्टल राखेर सहभागि हुने व्यवसायी, सञ्चारकर्मी, व्यवस्थापन पक्ष लगायत सबैलाई अध्यक्ष थापाले कृतज्ञता प्रकट गर्नुभयो ।
साथै कठिन परिस्थितिमा पनि चुनौतीलाई सामना गर्न दृढनिश्चय सहित तयार भएको खण्डमा सफलता प्राप्त गर्न सकिने रहेछ भन्ने कुरा आफूहरुलाई आगामी दिनको लागि समेत ठूलो पाठ हुने अध्यक्ष थापाको धारणा छ ।