
जय बहादुर धामी नेपालको सुदुरपश्चिम प्रदेशको बझाङ्ग जिल्ला भित्र पर्ने बुङ्गल नगरपालिकाको प्रमुख (मेयर) हुनुहुन्छ । उहाँ सुदुरपश्चिमका जनताहरुकाे लागि एक विकासप्रेमी नेताका परिचित व्यक्ति हुनुहुन्छ ।
बुङ्गल नगरपालिका जुन भौगोलिक हिसाबले अति विकट पुर्वमा शुर्मा गाउँपालिका र केदारस्यु गाउँपालिका, पश्चिममा बैतडी जिल्लाको पुर्चौडी नगरपालिका, उत्तरमा दार्चुला जिल्लाको मार्मा गाउँपालिका तथा दक्षिणमा बित्थडचिर गाउँपालिका पर्दछन् ।
बुङ्गल नगरपालिकाको कुल क्षेत्रफल ४४७.५९ वर्ग कि. मि. रहेको छ । यस नगरपालिकालाई ११ वटा वडाहरुमा विभाजन गरिएकाे छ । यहाँ ५७३५ घरधुरी सहित कुल जनसंख्या ३९५५० रहेको छ । बुङ्गल नगरपालिकामा कार्यरत स्वास्थ्य बाहेकका कर्मचारी संख्या ८३ कार्यरत छन् ।
आफू जुन एजेण्डा लिएर जनतामाझ गएका थिए ती एजेण्डाहरुलाई शतप्रतिशत पुरा गर्ने नसकिएकाे बताउँछन् धामी । त हिँड्न सकेको छैनौं । विभिन्न तरिकाले बजेटहरु पनि सानो हुने, विभिन्न साथीहरुको इच्छा आकांक्षा पनि विभिन्न खाले भएकोले त्यसरी जान सकिएको छैन । विशेष गरी त्यहाँको आधारभुत आवश्यकताहरुलाई परिपुर्ति गर्न अगाडी बढेका छौं । मुख्य भनेको बाटाघाटा नै हुन् । सबै जनताले खोजिरहेका हुन्छन्, पहिला अलिअलि ट्रयाक खोलेका थिए तिनीहरुलाई मर्मत गरी अलि राम्रोसँग सुचारु गर्ने तिर लागेका छौं ।
नगरभित्रका शिक्षा क्षेत्रको सुधार
धानीले विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारको लागि पनि प्रयाप्त काम गरेका छन् । विगतमा शिक्षाको लागि प्रयाप्त भौतिक पूर्वाधार पनि नभएको र शिक्षाको गुणस्तर पनि राम्रो नरहेको स्थिति थियो । अहिले पालिका भित्रका विद्यालयहरुमा अंग्रेजी र नेपाली माध्यम दुइटै माध्यमबाट पठनपाठनको व्यवस्था मिलाइएको छ । अलिकति शिक्षक दरबन्दीहरु मिलान गर्ने प्रक्रियामा पनि आफूहरु रहेको धामी बताउँछन् ।
प्रयाप्त कर्मचारीकाे अभाव
आफूहरुसँग प्रयाप्त जनशक्ति नरहेको बताउँछन् धामी । यद्यपि भएका कर्मचारीहरुबाट आफूले राम्रो सहयोग पाइरहेको उनको भनाई छ । उनी भन्छन्, हामीसँग प्रयाप्त जनशक्ति छैन, प्रमुख प्रशासकिय अधिकृत नभएको वर्षौं भइसक्यो । निमित्तले काम चलाईरहनुभएको थियो, निमित्तले पनि आफ्नो अनुभव छैन भन्दै राजीनामा दिनुभयो, माघदेखि हामी प्रमुख प्रशासकीय विहिन छौं । प्रशासकिय अधिकृत नभएर केदारसिंह गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतले नै ३ दिन उता ३ दिन यता काम गरिरहनुभएको अवस्था छ । त्यसकारण हाम्रो योजना अनुसार काम हुन सकेको छैन ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्नको लागि पनि आफूहरुसँग प्रयाप्त कर्मचारी छैनन् विभिन्न सेक्टरमा पर्याप्त मात्रामा प्राविधिक धारमा पनि कर्मचारी छैनन् । एउटै कर्मचारीले धेरै ठाउँमा काम गर्नुपर्छ । राजधानी भन्दा टाढा रहेको कारण थुप्रै समस्या हामीले भोग्नुपरेको छ ।
संघ र प्रदेशबाट सहयोग
मलाई लाग्छ केन्द्र र प्रदेशबाट हामीलाई प्रयाप्त सहयोग मिलेको छैन । पोहोर साल हामीले जेठमा निर्वाचित हुँदै गर्दा प्रदेशका योजना थिए, त्यो हामीसँग स्थानीय सरकारसँग कुनै खालको पनि समन्वय नभइकन हामीले सिफारिस गरेका योजनाहरु नभइकन कुनै कार्यकर्ताहरुले ल्याएका योजनाहरुमा बजेट हाल्नुपर्ने हाम्रो बाध्यता छ । तटबन्धन जहाँ हुनुपर्ने हो, त्यहाँ नभई अर्कै कार्यकर्ताको घर नजिकैको खोलामा, सामान्य पहिरो गएको खोलोमा योजनाहरु दिइएको अवस्था छ । त्यहाँका साथीहरुले यो त मैले किनेर ल्याएको हो भन्दै आउँछन्, जहाँ आवश्यकता थियो त्यहाँ चाहीँ योजना बाँड्न पाएका छैनौं । प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको र प्रदेश सरकार र स्थानीय सरकारले सिफारिस गरेको योजनाहरु नदिएको अवस्था छ । मेरै नगरपालिकामा ५÷६ करोड बढीको योजनाहरु परेको छ, त्यसमा मैले सिफारिस गरेको ५० लाख पनि छैन होलान् । केवल ३ वटा योजना परेका छन् । बाँकी अन्य साथीहरुले पारेका हुन् । साथीहरुको आर्थिक आम्दानी कहाँ हुन्छ त्यो ठाउँमा योजना पारेका छन् । राष्ट्रपति शैक्षिक सुधार भवनहरु जुन छन् ति पनि साथीहरुले हामीले किनेर ल्याएका हौं भनेपनि यसपाली टेण्डर मैले नै हाल्ने व्यवस्था गरेको छु । सोचेको जस्तो गरी पदमा हुँदा पनि काम गर्न नसकिने अवस्था छ । अब सुधारात्मक दिशातीर जानुपर्छ भन्ने मलाई लाग्छ मैले संघीय मन्त्रालयमा कर्मचारीको खाँचो भएको जानकारी दिएको छु । दरबन्दी अनुसारको कर्मचारी दुर्गम क्षेत्रतिर अलि बढी फोकस गर्नुपर्छ भन्ने कुरा मन्त्रालयहरुलाई भन्दै आएको छु ।
नगरपालिकाको समग्र विकासको लागि स्थानीय श्रोत र साधन पर्याप्त छन्
यस पालिकामा पर्याप्त मात्रामा श्रोत साधन पनि छन् तर तिनलाई उपयोग गर्न सकेका छैनौं । नदीनालाबाट हाइड्रोपावर उत्पादन गर्न सकिन्छ, जडिबुटीको ठुलो सम्भावना छ । हाम्रो हिमाली क्षेत्रतीर यार्सागुम्बासहित बहुमुल्य जडिबुटी छन् त्यहाँबाट बोराका बोरा क्विन्टलका क्विन्टल गाडी भारत जान्छन् भारतबाट आर्युवेदिक र एलोवेदिक औषधी बनेर आउँछन् । औषधी प्रशोधन केन्द्र खोल्ने हो भने राम्रो लाभ लिन सकिन्छ । जसरी पूर्वी नेपालमा औषधीका फ्याक्ट्रीहरु छन्, त्यसैगरी हाम्रो सुदुरपश्चिममा लगानी गर्ने हो भने कुनै पनि कच्चा पदार्थका लागि बाहिर जान पर्दैन ।
स्थानीय स्रोत साधनको उपयोगिताबारे सोच
हामी यस बारे अलिकति सुरुवात गरेका छौं । आयुर्वेदिक औषधीका लागि दुइवटा जडिबुटी प्रशोधन कम्पनी छन्, ति उद्योगहरुमा तेल उत्पादन गर्ने मेसिनहरु छन् । त्यहाँबाट उत्पादन भएका तेल युकेसम्म पठाएका छौं । त्यहाँ उत्पादन गरिएको आर्युवेदिक तेल जसले चोट लागेमा राम्रो औषधीको काम गर्छ । सुन्निएको ठिक हुन्छ । त्यस्तै,२÷३ ठाउँमा आयुर्वेदिक औषधीहरु पिस्ने, बनाउने र धुलो बनाउने मेसिनहरु छन् । ती धेरै जसो प्रयोगमा ल्याएका छौं । बझाङकै सबैभन्दा धेरै बुङ्गल नगरपालिकामा प्रयोगमा ल्याएका छौं । कल्पसन जडिबुटी प्रशोधन केन्द्र छ त्यसबाट धेरै कामहरु गरिरहेका छन् ।
आगामी योजना
अर्को वर्ष पनि अहिलेको कामलाई नै निरन्तरता दिनुपर्नेछ । स्वास्थ्य क्षेत्रमा बन्न लागेको स्वास्थ्य भवन, सबै वडामा स्वास्थ्य कार्यालय बनाउने, भौतिक संरचना तयार गर्नुपर्छ भन्नेमा लाग्दैछु म । बर्खायाममा नचल्ने सडकहरुलाई बाह्रै महिना चल्ने बनाउने, २ ठुला नदीहरुमा पुल निर्माण गर्न प्रदेश र संघलाई आग्रह गर्ने मेरो योजना छन् । नदीमा पुलको अति नै धेरै आवश्यक छ उताबाट बजेट आएन भने पनि नगरपालिकाकै बजेट हालेर भएपनि त्यो काम अघि बढाउँछु । शिक्षा क्षेत्रमा थालनी गरेको काम पुरा गर्ने, आगामी वर्ष ३–४ वटा स्कुललाई मावी बनाउने, १० वटा जतिलाई अंग्रेजी र नेपाली माध्यमबाट पढाइ गरेर अगाडी बढाउने कामहरुमा म लागेको छु।

बुङ्गलको शिक्षा क्षेत्रको गुणस्तर उन्नती कार्य एकदमै चुनौतिपुर्ण छ । पालिकामा ८४ वटा स्कुलहरु छन् जनसंख्या थोरै छन् ति स्कुलहरुलाई व्यवस्थापन गर्नु र अलिकति पढाइको गुणस्तरलाई ध्यान दिनुपर्ने आवश्यकता हुँदाहुँदै पनि त्यो गर्न सकिएको छैन । शिक्षामा गुणस्तर सुधार गर्नु सबैभन्दा ठुलो चुनौती छ । २ वटा ठुला नदी र ३० वटा खोलाहरु छन्, तिनिहरुले खेतीयोग्य जमिन काटिरहेका छन् । कटानबाट बचाउन तटबन्धन गरेर बचाउनु ठुलो चुनौती छ । यी सबै काम गर्नको लागि बुङ्गल नगरपालिकामा करोड होइन अरबको बजेट आवश्यक पर्ने स्थिति छ, धामी बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij