२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

इन्धन आयात १६ प्रतिशतले घट्यो

इन्धन आयात १६ प्रतिशतले घट्यो

नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकामा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म दुई खर्ब २४ अर्ब ५७ लाख ५७ हजार रुपियाँ बराबरको २१ लाख २५ हजार ४६४ किलोलिटर (डिजेल, पेट्रोल, हवाई इन्धन, मटितेल र ग्यास) पेट्रोलियम पदार्थ आयात भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा दुई खर्ब २३ अर्ब ६३ करोड ८४ लाख ८२ हजार रुपियाँ बराबरको २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएको थियो ।

अघिल्लो वर्षको तुलनामा यसपालि रकममा भन्दा पनि परिणाममा इन्धन आयात कम भएको निगमले जनाएको छ । इन्धन आयात कम भएसँगै व्यापार घाटामा समेत कमी आएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले सुरुमा इन्धनको मूल्य बढेको र पछिल्लो समय आन्तरिक बजारमा खपत कम हुँदा आयातमा कमी भएको जानकारी दिनुभयो । दस महिनामा सबैभन्दा धेरै डिजेलमा २६ प्रतिशतले खपत कम भएको उहाँले जानकारी दिनुभयो । गत वर्ष सो अवधिमा १४ लाख एक हजार ८०४ किलोलिटर डिजेल खपत भएकामा चालु आवको सो अवधिमा घटेर १० लाख ३६ हजार किलोलिटरमा झरेको छ । विकास निर्माणका काम तीव्र गतिमा नहुनु र सीमानाकाको तुलनामा नेपालमा डिजेल, पेट्रोलको मूल्य कम भएकाले तस्करी नहुँदा खपतमा कमी आएको साहले जानकारी दिनुभयो ।

मुलुकमा आर्थिक सङ्कटका कारण विकास निर्माण पूर्ण रूपमा सञ्चालन नहुँदा डिजेल खपतमा कमी आएको छ । निगमका अनुसार औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशत डिजेल खपत हुने गर्छ ।

बैङ्कको उच्च ब्याजदर र आर्थिक सङ्कटका कारण औद्योगिक क्षेत्र पूर्ण रूपमा चल्न सकेका छैनन् । इन्धनको मूल्य वृद्धि, विकास निर्माणको काम ठप्प हुनु, डिजेलको मूल्य महँगो पर्नुजस्ता कारणले डिजेल खपत घटेकाले आयातसमेत कमी भएको निगमले जनाएको छ । चालु आर्थिक वर्षको १० महिनामा पेट्रोल खपत ९ प्रतिशतले घटेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार जेठ १० गतेसम्म पुँजीगत ३४.९१ प्रतिशत भएको छ । विकास निर्माणका काम तीव्र गतिमा नहुँदा पुँजीगत खर्चसमेत कम हुने गर्छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij