
यादब पन्थी । हाम्रो समाजमा भ्रष्टाचार निरन्तर वृद्धि हुँदै गइरहेको छ । भ्रष्टाचार समाजको लागि डरलाग्दो आतङ्क र कलंक हो । जसले राज्य कोषलाई खोक्रो पार्ने, जनतालाई चुस्ने, अनावश्यक दुःख दिने साथै विधिको शासनलाई धज्जी उडाउने कामलाई प्रोत्साहित गर्ने कार्य गर्छ ।
हाम्रो समाजमा अहिले मूलतः २ किसिमका गलत प्रवृत्तिका गतिविधिहरुले प्रश्रय पाइरहेका छन् । एउटा प्रत्यक्ष रुपमा अधिकारको दुरुपयोग गरी गरिने भ्रष्टाचार र अर्को समाजमा गलत एवं भ्रामक सन्देश प्रवाह गरेर सामाजिक वातावरण खल्बल्याउने (आतंकित पार्ने)प्रवृत्ति ।
यो सामाग्री यिनै २ किसिमका आचरणमा केन्द्रित छ ।
क) अहिले राज्यले भ्रष्टाचारसँग जोडिएका फाइलहरु खोल्दै गएपछि धमाधम भिआईपीहरु पक्राउ परिरहेका छन् । भिभिआइपीहरु पनि पक्राउ परिने डरले भिआइपिहरुलाई पक्रनमा असहयोग गरेको, शीर्ष तहबाट नै अनुसन्धानलाई प्रभावित पार्न र घटना सामसुम पार्न खोजेको, भ्रष्टाचारीहरुलाई संरक्षण गरिरहेको भन्ने आरोप पनि लाग्न थालेको छ ।
अनुसन्धानलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले छानबिन गर्नु सम्बन्धित सबैको कर्तव्य हुन जान्छ । अनुसन्धान÷छानबिनले दोषी ठहर गरे संवैधानिक व्यवस्था अनुसार व्यक्ति जुनसुकै पद÷तहको भएपनि सजाय अवश्य हुनुपर्छ । दोषी ठहर नभए सफाइ पनि अवश्य मिल्नेछ । जनतालाई चुसेर, सास्ती पुर्याएर अकुत सम्पत्ति आर्जन गर्नेहरुलाई कठघरामा उभ्याउनैपर्छ, कारबाही गर्नैपर्छ ।
सरकारी एवं गैरसरकारी निकाय र सार्वजनिक संस्थानहरुमा समेत कुनै काम गर्न या नगर्नको लागि आर्थिक लेनदेन, हिनामिना, अपचलन र बार्गेनिङ हुने गरेको गुनासो नागरिक स्तरबाट आउने गरेको स्थितिमा त्यस तर्फ पनि सरकारको नजर जानुपर्छ ।
ख) सामाजिक विकृति भित्र्याउने कार्यमा फेसबुक, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालहरुको भूमिका पनि महत्वपूर्ण रहँदै आएको छ । आफ्नो च्यानलमा लाइक, कमेन्ट र भ्यु बढाई निहीत स्वार्थ पूरा गर्ने उद्धेश्यले छोटा र प्राङ्क भिडियोहरु अपलोड गर्ने गतिविधिहरु बढिरहेका छन् । जसबाट समाजमा भ्रम सृजना हुने गरेको छ । साथै पीडितलाई थप पीडा सृजना गर्न तथा सामाजिक द्वन्द्व बढाउनमा समेत यस्ता गलत र भ्रामक समाचार÷सामाग्रीको भूमिका महत्वपूर्ण रहँदै आएको छ । कतिपय अश्लिल सामाग्रीहरु समेत खुलमखुल्ला प्रदर्शन गर्ने क्रम बढ्दै जाँदा समग्र समाज नै संस्कार र नैतिकताको ट्रयाक भन्दा बाहिर गइरहेको छ ।
विशेष गरी युट्युब, टिकटक जस्ता सञ्जालहरुबाट प्रशारण गरिने सामाग्रीहरु सामाजिक सद्भाव खल्बलाउने र परिवारका सबै सदस्य सँगै बसेर हेर्न नसकिने किसिमका समेत छन् । यस्ता अपाच्य श्रव्य दृष्य सामाग्रीहरु प्रदर्शनलाई सरकारले पूर्ण रुपमा प्रतिबन्ध लगाउन र यस्ता गतिविधिमा संलग्न सबैलाई कारबाही गर्न जरुरी छ ।
सामाजिक सञ्जालको प्रभाव
बेरोजगारीको दर वृद्धि भइरहेको वर्तमान स्थितिमा सामाजिक सञ्जालकै कारण समाजमा विकृति र विसङ्गतिहरु बढ्दै गइरहेका छन् । चोरी, लुटपाट देखि साधारण घरायशी विवाद र लेनदेनकै निहुँमा हत्या र अपहरण जस्ता घटनाहरु वृद्धि भइरहेका छन् । महिला हिंसा एवं बलात्कार लगायतका घटनाहरु वृद्धि हुनुमा समेत यस्ता प्रशारण सामाग्रीको ठूलो भूमिका रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

यस्ता सामाग्रीहरुले व्यक्तिलाई निराशा र डिप्रेसनको चरम उत्कर्षमा पुर्याउनको लागि कारक तत्वको रुपमा काम गर्दै आएका छन् ।
झुन्डिएर एवं विष सेवन गरेर स्वयं मृत्युको बाटो रोज्ने गतिविधि समेत पछिल्लो समय बढ्दै जानुमा यस्ता भ्रामक र गलत सन्देश प्रवाहको भूमिका महत्वपूर्ण हुने गरेको मानिँदै आइएको छ ।
अन्त्यमा,
समाजलाई सामाजिक सञ्जाल मार्फत भ्रामक सन्देश प्रवाह गर्ने युट्युबर लगायतका व्यक्तिहरु पनि प्रत्यक्ष आर्थिक अपचलनमा संलग्न भ्रष्टाचारी भन्दा कम छैनन् । अब सरकारले प्रत्यक्ष भ्रष्टाचारमा संलग्न व्यक्तिहरुको अलावा सामाजिक विकृति बढाउन भूमिका खेल्ने व्यक्तिहरुलाई समेत कारबाही गर्नको लागि गम्भीरतापूर्वक कदम चाल्नु जरुरी छ । जसबाट यस्ता सामाग्री प्रशारणलाई निरुत्साहित पार्न सकियोस् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij