२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न रात्रिकालीन अनुगमन

जथाभावी फोहर फाल्नेलाई कारबाही गर्न रात्रिकालीन अनुगमन

 

सार्वजनिक स्थानमा फोहर फाल्ने बढेपछि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ ।

यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । जथाभावी फोहर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप रु १५ हजार असुलेको छ । बिहीबार राति वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा४च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो ।

जरिवाना असुल गरी उक्त गाडीलाई फोहर जथाभावी नफाल्ने सर्त राखेर रिहा गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । दुई हप्ताअघि पनि कामपाले तोकिएको स्थान भन्दा अन्यत्र फोहर फाल्नेबाट कारबाहीस्वरूप रु १२ हजार जरिवाना असुल गरेको थियो ।

वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहरको व्यवस्थापन गर्नका लागि कामपाको फोहर सङ्कलन गर्ने गाडी आउने गर्दछ । कामपाको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिवाना तिराउन थालेको छ ।

फोहरलाई तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्नका लागि कामपाले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । “नागरिकले सडकमा यत्रतत्र फोहर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई रु पाँच सयदेखि पाँच हजारसम्म जरिवानासमेत तिराउने गरेको छ”, प्रमुख श्रेष्ठले भन्नुभयो ।

कामपाले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । कामपाको आग्रह अटेरी गरे अनुगमन गरी जरिवाना गर्ने गरेको छ ।

उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि हरेक दिन दुई सय गाडी फोहर बोकेर बञ्चरेडाँडामा जाने गर्दछन् । पुतलीसडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेकाले दुर्घटनाको खतरा बढाएको भन्दै कामपाले अनधिकृत फोहर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा नगर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij