
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऊर्जा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानलाई कारवाही गरेको छ । १९ चैत आइतबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष प्रधानलाई ७५ हजार रुपैयाँ नगद जरिवाना सहित १० वर्षसमम कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक बन्न नसक्ने गरी कारवाही गरेको हो ।
बोर्डको विभागीय अध्ययनमा प्रधानले अनाधिकृत रुपमा सेयर कारोबार गरेको पुष्टि हुने आधार देखिएपछि २४ मंसिरमा प्रधानलाई गैरकानुनी रुपमा सेयर कारोबार गरेको आरोपमा अनुसन्धान गर्ने तहकिकात अधिकृत नियुक्त गरेको थियो । अध्ययन अनुसार प्रधानले सूचीकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत धितोपत्र कारोबार गरेको पुष्टि भएको पाइएको छ ।
प्रधानलाई धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०१ (७) अनुसार ७५ हजार रूपैयाँ जरिवाना र धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०८ अनुसार कारवाही गरेको बोर्डले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij