२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

एसोसिएसन निर्वाचनको १ बर्षः के–के भए उपलब्धि, कस्तो रह्यो अनुभव ?

एसोसिएसन निर्वाचनको १ बर्षः के–के भए उपलब्धि, कस्तो रह्यो अनुभव ?

सरोज धिताल, उपमहासचिव, नेपाल इन्जिनियर्स एसोसिएसन

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन गत बर्ष फागुन २७ गते सम्पन्न भएको १ बर्ष पूरा भएको छ । डा.ई. हरि दर्लामीको अध्यक्षतामा निर्वाचित ३३ कार्यसमितिले निर्वाचन सम्पन्न भएपश्चात् ईन्जिनियरहरुको हक, हित र अधिकारको लागि विभिन्न महत्वपूर्ण कार्यक्रमहरु उठान गर्दै निरन्तर रुपमा काम गर्दै आएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसन इन्जिनियरहरुको हक, हित, अधिकार र क्षमता अभिवृद्धिको लागि काम गर्दै आएको साझा संस्था हो ।

एसोसिएसनले दैनिक रुपमा विभिन्न क्षेत्रमा आउने इन्जिनियरहरुका समस्या बारे नजिक रहेर ऊहाँहरुका समस्या समाधानका लागि निरन्तर काम गर्दै आइरहेको छ । यद्यपि एसोसिएसनका आफ्नै सीमाहरु छन् । विभिन्न सीमा, स्रोतसाधनको सीमितता र नीतिगत एवं अन्तरनिकाय समन्वयमा हुँदै कठिनाईका वावजुद अघी बढाइएका कामहरुलाई यस आलेखमा समेट्ने प्रयाश गरिएको छ ।

यी हुन् ३३ औं कार्यसमितिले अघी बढाएका गतिविधिहरु

क) इन्जिनियरिङ स्टाफ कलेज

इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ शिक्षा औपचारिक रुपमा पूरा गरेर उत्तीर्ण गरेका इन्जिनियरहरुले सेवामा जोडिँदा शुरुवाती दिनमा निकै नै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । यस सम्बन्धमा एसोसिएसन गम्भीर छ । नवप्रवेशी इन्जिनियरहरुलाई आफूले वहन गर्नुपर्ने दायित्व र जिम्मेवारीको बारेमा राम्रो ज्ञान हुँदैन । सरकारी निकायहरुमा इन्जिनियरको भूूमिका के रहन्छ ? भन्ने बारे समेत जानकारी नभएका कारण नियत राम्रो हुँदाहुँदै पनि इन्जिनियरहरुबाट सम्पादन हुने काममा कमीकमजोरी सृजना हुन सक्छन् । पछिल्लो समय थुप्रै इन्जिनियरहरु टिप्पणी उठाउने, खरिद प्रक्रिया र कार्य क्षेत्र लगायतका सम्बन्धमा आफ्ना दायित्व र जिम्मेवारी बारे प्रष्ट हुन नसकेकै कारण हुने प्रक्रियागत त्रुटिकै कारण जेल जानुपर्ने स्थिति समेत देखिँदै आएको छ । यसकारण इन्जिनियरिङ क्षेत्रमा रहँदै आएका समस्याहरुलाई न्यूनीकरण तथा इन्जिनियरहरुलाई आधारभूत, मध्यम र उच्चस्तरीय तालिम सञ्चालन मार्फत क्षमता अभिवृद्धिको निम्ति इन्जिनियरिङ स्टाफ कलेज अत्यावश्यक बन्न गएको हो ।

हाम्राे प्रयाश

लामो समय देखि चर्चामा रहँदै आएको इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको माग नयाँ होइन । लामो समय देखि चर्चामा रहँदै सेलाउँदै गरिरहेको र इन्जिनियरिङ क्षेत्रको भविष्यलाई नै नयाँ उचाईमा पुर्याउन सक्ने इन्जिनियरिङ स्टाफ कलेज स्थापनालाई सार्थक बनाउन ३३ औं कार्यसमिति विभिन्न निकायहरुसँग सहकार्यमा रहँदै आएको छ । यस कार्यसमितिले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, तालुकदार भौतिक पूर्वाधार तथा यातायात मन्त्री लगायतसँग पहल गर्दै आएको छ । जसले गर्दा अहिले इन्जिनियरिङ स्टाफ कलेज सम्बन्धी फाइल भौतिक पूर्वाधार ता यातायात मन्त्रालयले अर्थ मन्त्रालयमा परिपत्र गरेको छ ।

ख) तालिमको लागि त्रिपक्षीय सम्झौता
इन्जिनियरिङ स्टाफ कलेज स्थापना तत्काल हुन सम्भव नरहेको अवस्थालाई लक्षित गरी एसोसिएसनले आफ्नै पहलमा इन्जिनियरहरुको क्षमता अभिवृद्धिको लागि एसोसिएसन मातहत नै तालिम केन्द्र स्थापनाको पहल भएको छ । सोही उद्धेश्यबाट प्रेरित भई भर्खर मात्रै नेपाल टेलिकम, नेपाल आयल निगम र नेपाल विद्युत प्राधिकरणसँग त्रिपक्षीय सम्झौता गरिएको छ । जसले नवप्रवेशी इन्जिनियरको अलावा बदलिँदो परिस्थिति बमोजिम नियमित रुपमा क्षमता अभिवृद्धिको लागि सबैलाई लाभ पुग्न सक्ने अपेक्षा गरिएको छ ।

ग) प्रदेश स्तरमा इन्जिनियर सातौं तहको रुपमा सेवा प्रवेश व्यवस्था
केन्द्रीय संरचना अनुसार आह्वान गरिने इन्जिनियरलाई सातौं तहको रुपमा सेवामा प्रवेश गराईंदै आइएको छ । यद्यपि प्रादेशिक संरचनामा जाँदा भने इन्जिनियरलाई छैठौं तहको कर्मचारीको रुपमा सेवामा लिने व्यवस्था गरियो । हामीले यसको विरोध जनायौं । इन्जिनियरलाई सरकारी सेवामा प्रवेश गर्ने समयमा सातौं तहबाट नै सेवा प्रवेश गर्न सक्ने गरी नीतिगत परिमार्जनको लागि हामीले निरन्तर दबाबमूलक भूमिका समेत निर्वाह गर्दै आएका छौं । निरन्तरको दबाब स्वरुप हाल सम्ममा यो व्यवस्था बाग्मती र गण्डकी प्रदेशमा लागु भइसकेको छ । अन्य प्रदेशहरुमा पनि यसै कार्यकालमा नै लागु गराउने उद्धेश्यले यो कार्यसमिति समर्पित रहँदै आएको छ ।

घ) भोटिङ प्रणालीको लागि तथ्याङ्कलाई व्यवस्थित बनाईंदै
३३ औं कार्यसमिति निर्वाचनको लागि भोटिङ कार्यमा अनलाइन-इलेक्ट्रोनिक प्रणाली अपनाइनुपर्ने भन्ने सम्बन्धमा व्यापक चर्चा भयो । यद्यपि सबै सदस्यहरुको तथ्याङ्क एसोसिएसनमा अद्यावधिक नभएको कारण उक्त कार्य सम्भव हुन सकेन । अबको निर्वाचनमा भने अनलाइन-इलेक्ट्रोनिक प्रणालीबाटै भोटिङ गर्ने प्रतिवद्धता सहित एसोसिएसन निरन्तर क्रियाशिल छ । सोही उद्धेश्यबाट प्रेरित भई सदस्यहरुको बायोमेट्रिक सहितको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्न छिटै नै इन्जिनियरहरुमाझ जाँदैछ ।

ङ) ‘टक शो’ लाइभ प्रशारण
एसोसिएसनको पहलमा हरेक शुक्रबार नियमित रुपमा सञ्चालन गर्दै आएको ‘टक शो’लाई लाइभ प्रशारण गर्दै आइएको छ । उक्त ‘टक शो’लाई अधिकांश इन्जिनियर सदस्यहरुको पहुँचमा पुर्याउने उद्देश्य सहित युट्युब मार्फत आफ्नो समयको अनुकुलता अनुसार हेर्न सकिने व्यवस्था समेत मिलाइएको छ । जुन कार्यक्रमले इन्जिनियरहरुमा अद्यावधिक ज्ञान एवं अनुभव आदानप्रदान तथा क्षमता अभिवृद्धिमा सहयोग पुग्दै आएको छ ।

 

इन्जिनियरलाई सरकारी सेवामा प्रवेश गर्ने समयमा सातौं तहबाट नै सेवा प्रवेश गर्न सक्ने गरी नीतिगत परिमार्जनको लागि हामीले निरन्तर दबाबमूलक भूमिका समेत निर्वाह गर्दै आएका छौं । निरन्तरको दबाब स्वरुप हाल सम्ममा यो व्यवस्था बाग्मती र गण्डकी प्रदेशमा लागु भइसकेको छ । अन्य प्रदेशहरुमा पनि यसै कार्यकालमा नै लागु गराउने उद्धेश्यले यो कार्यसमिति समर्पित रहँदै आएको छ ।

च) लाइसेन्स परिक्षा सम्बन्धी स्पष्ट पार्न कार्यशाला
संसदबाट इन्जिनियरको लागि पारित गरिएको लाइसेन्स परिक्षा विधेयक नेपाल इन्जिनियर्स एसोसिएसनकै पहलको कारण सम्भव भएको हो । जसअनुसार अब सेवामा प्रवेश गर्नको लागि इन्जिनियरहरुले अनिवार्य रुपमा लाइसेन्स परिक्षा दिनुपर्ने व्यवस्था गरिएको छ । उक्त विधेयक पारित भएसँगै इन्जिनियर साथीहरु बीच केही द्विविधाहरु सृजना भएको हामीले पायौं । त्यसकारण ती द्विविधाबारे सत्यतथ्य जानकारी दिनको लागि सबै सरोकारवालाहरुको उपस्थितिमा १ दिने इन्जिनियरिङ कार्यशाला आयोजना गरियो । जुन कार्यशालामा विभिन्न विभिन्न विश्वविद्यालयका इन्जिनियरिङ सङ्कायका डिनहरु, इन्जिनियरिङ कलेजका प्राचार्यहरु, भौतिक तथा पूर्वाधार मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, नेपाल इन्जिनियरिङ काउन्सिलका प्रतिनिधिहरु एवं नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

छ) प्रोफेसनल सोसाइटीहरुसँग सहकार्य
एसोसिएसनले प्रोफेसनल सोसाइटीहरुसँग सहकार्य गर्दै सम्बन्धित सङ्कायका समस्याहरुलाई समाधान गर्न विभिन्न पहलहरु समेत गर्दै आइरहेको छ

ज) विमा तथा प्रोफेसनल लोनको व्यवस्थाः
विगत २ बर्ष पहिले लागु गरिएको विमा कार्यक्रमको निरन्ता स्वरुप अघिल्लो विमा कार्यक्रमको लागि भएको खर्च कटौती गर्दै सम्पूर्ण इन्जिनियरहरुलाई प्रभु बैंकसँग स्वास्थ्य तथा औषधीउपचार एवं जीवन विमाको लागि सम्झौता गरिएको छ । सम्झौता अनुसार एसोसिएसनको सिफारिसमा इन्जिनियर सदस्यहरुले प्रभु बैंकमा शुन्य रकममै प्रभु विशेष बचत खाता खोल्नुपर्नेछ । उक्त खाता खोल्ने सदस्यहरुले विमाको अलावा १५ लाख रुपियाँ सम्मको प्रोफेसनल लोन समेत लिन सक्नुहुनेछ ।

झ) एसोसिएसनका अन्य गतिविधिहरु
इन्जिनियरहरुको सुविधालाई ध्यानमा राखी एसोसिएसनले आफ्नै प्राङ्गणमा राष्ट्रिय परिचय पत्रको लागि विवरण अद्यावधिक गर्ने व्यवस्था गरेको थियो । १ महिना अवधिको लागि सञ्चालन गरिएको उक्त कार्यक्रमबाट १५ सय भन्दा बढी इन्जिनिजर एवं आर्किटेक्टहरु लाभान्वित भएका थिए । एसोसिएसनकै परिसर भित्रै क्यान्टिन स्थापना गर्ने काम भएको छ । जसले गर्दा एसोसिएसनको खर्च कटौती हुनगई कोषको भार घटेको छ ।

भ्यालुएसन क्षेत्रमा संलग्न इन्जिनियरहरुले थुप्रै समस्या सामना गर्नुपर्ने स्थिति सम्बन्धमा नेपाल इन्जिनियर्स एसोसिएसनले त्यस क्षेत्रका समस्या पहिचान गरी राष्ट्र बैंकका गभर्नरलाई जानकारी गराई ती समस्या समाधानको लागि आवश्यक पहल समेत गरेको छ । साथै केही समस्यामा परेका केही भ्यालुयर्स इन्जिनियरहरुको समस्याको कारण पत्ता लगाई समाधानको काम समेत गरेको छ ।

अन्त्यमा
सरकारी, निजी क्षेत्र एवं एनजिओ-आइएनजिओ क्षेत्रमा कार्यरत विभिन्न सङ्कायका इन्जिनियरहरुले विभिन्न समस्या भोग्दै आइरहनुभएको छ । समस्या परेको खण्डमा जुनसुकै बेला एसोसिएसनमा सम्पर्क गरी आफ्ना समस्याहरु दर्ता गर्न आग्रह समेत गर्दछौं । साथै यस समग्र इन्जिनियरिङ क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने योजना बमोजिम निरन्तर क्रियाशिल रहँदै आएको खण्डमा यस क्षेत्रलाई अझ उचाईमा पुर्याउनका निम्ति एसोसिएसनको एकल प्रयाश मात्र प्रयाप्त हुने छैन । यसकारण यस क्षेत्रलाई पूर्ण व्यवस्थित बनाउनको लागि नेपाल इन्जिनियर्स एसोसिएसन सम्पूर्ण सदस्य इन्जिनियरहरु एवं शुभचिन्तकहरुसँग आवश्यक सहकार्यको लागि हार्दिक अनुरोध गर्दछ । साथै कुनै सुझाव, सल्लाह एवं प्रतिक्रिया निसङ्कोच व्यक्त गरी एसोसिएसनका गतिविधिलाई अझ रचनात्मक बनाउनको निम्ति यहाँहरुको पहल अझ महत्वपूर्ण रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij