
यही फाल्गुन १ गते सोमबार तीनवटा यातायात मजदुर संगठन ९नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल यातायात मजदुर संघले गरेको आन्दोलनको मौका छोपी नेपालको राजधानीको मुख्य बजार नयाँ बसपार्कस्थित ल्होत्से व्यापारिक केन्द्रका पसलहरुको बन्द सटर तोडफोड गरी दिनदहाडै भएको लुटपाटको घटना प्रति विरोध व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले विज्ञप्ति प्रकाशन गरेको छ ।
विज्ञप्तिमा संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। राज्य प्रशासन र कानूनलाई ठाडै चुनौती दिंदै दिनदहाडै भएको यो घटनाले सुरक्षा निकायको जनतालाई दिनुपर्ने शान्ति सुरक्षा र आफ्नो कर्तव्यमा कमिकमजोरी भएको विज्ञप्तिमा उल्लेख छ ।
शान्तिपूर्ण आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार जो कसैलाई पनि हुने तर सोहि आन्दोलनको निहुँमा कसैको व्यक्तिगत व्यवसाय माथि तोडफोड र लुटपाट मच्चाउने अधिकार कसैलाई पनि नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तोडफोड र लुटपाटमा पीडित व्यवसायीले लाखौं करोडौं मालसामानको क्षति भोग्नुपरेको र यस्तो घटना निन्दनीय भएको संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
व्यवसायी यसै पनि कोभिड प्रकोप, चर्को बैंक ब्याजदर लगायतका कारण धरायसि हुँदै गइरहेको निजी क्षेत्रलाइ यस घटनाले थप स्तब्ध बनाउने संघको धारणा छ ।
संघले यो तोडफोड र लुटपाटको घोर विरोध गर्दै यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि पक्राउ गरी कारवाही गर्न र पीडित व्यवसायीहरुलाई आवश्यक क्षतिपुर्ति प्रदान गर्न यस संघले नेपाल सरकार समक्ष जोड्दार माग समेत विज्ञप्ति मार्फत गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij