
गोरखा । बैंकिङ कसुर सम्बन्धी उजुरी जिल्लामा नै दर्ता गर्नुपर्ने सम्बन्धमा केही गोरखाली अग्रजहरुले आवाज बुलन्द बनाएका छन् ।
आफूहरुले विश्वास गरेर चिनजानका र आफन्तहरुलाई रकम उपलब्ध गराएपनि उक्त रकम प्राप्ति गर्न निकै सास्ती भोग्नुपरेको एकजना स्थानीय बासिन्दा राजेन्द्र पराजुलीले बताए ।
कुनै चिनजानको व्यक्तिलाई विश्वासको आधारमा आपसी समझदारीमा अप्ठ्यारो स्थितिमा रकम उपलब्ध गराउनुलाई आफ्नो सामाजिक दायित्व सम्झेर रकम उपलब्ध गराएपनि त्यो रकम असुल गर्ने सम्बन्धमा सम्बन्धित व्यक्ति (ऋणी)ले कुनै चासो नदिई लामो समय झुलाइरहँदा निज व्यक्ति विरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्धा दर्ता गर्न सकिने कानुनी व्यवस्था छ ।
यसरी बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता गर्ने व्यवस्था गोरखामा उपलब्ध नभएको र मुद्दा दर्ता गर्नकै लागि उठाउनुपर्ने भन्दा बढी रकम खर्च गरेर उच्च अदालत धाउनुपर्ने असहज स्थितिलाई सम्बोधन गरिनुपर्ने पराजुलीले बताएका छन् ।
राज्यले यस किसिमको व्यवस्थालाई गम्भीर रुपमा लिनुपर्ने पराजुलीले बताए ।
पराजुलीले अहिले १ लाख असुली गर्ने उद्देश्यले मुद्दा दर्ता लगायतका कानुनी प्रक्रिया पूरा गर्नको लागि नै असुल गर्नुपर्ने भन्दा बढी खर्चेर सबै साना साहुहरु काठमाडौं आउन नसक्ने समेत बताउँछन् ।
राज्यले तत्काल गोरखाबाटै बैंकिङ कसुरी सम्बन्धी कानुनी प्रक्रिया अघी बढाउन चासो नदिए आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुनुपर्ने समेत पराजुली बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij