२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

राजनीतिमा रहँदै आएको फोहोर सफा गर्न मेरो उम्मेदवारीः प्रदीप बिष्ट

राजनीतिमा रहँदै आएको फोहोर सफा गर्न मेरो उम्मेदवारीः प्रदीप बिष्ट

प्रदीप बिष्ट, प्रतिनिधिसभा उम्मेदवार, काठमाडाैं क्षेत्र नं १०, राष्ट्रिय स्वतन्त्र पार्टी

यसपटकको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार प्रदीप बिष्ट आफू राजनीतिमा रहँदै आएको फोहोर सफा गर्र्ने उद्धेश्यले राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनावी मैदानमा होमिएको दावी गर्छन् ।

अहिले सम्म नेपालका स्थापित कहलिएका राजनीतिक दलहरुले जनताका आधारभूत आवश्यकतामा समेत उचित समाधान दिन नसकेको, भ्रष्टाचार मौलाउँदै गएको र दलहरुमा गुटबन्दी बढ्दै गएको कारण वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको बिष्टको ठहर छ ।

विगत केही महिना पहिले मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी विगतका दलहरुका कमीकमजोरीलाई सही ट्रयाकमा ल्याइ जनताहरुलाई उचित समाधान र सुसुचित गर्न सक्षम रहने बिष्ट बताउँछन् ।

आफू संलग्न दलमा विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञ एवं अनुभवी व्यक्तिहरु र विभिन्न राजनीतिक दलका पुराना एवं असन्तुष्ट व्यक्तिहरुको अलावा उर्जाशिल युवाहरुको ठूलो संलग्नता, समर्थन र सहयोग रहेकोले उक्त दल अबको लागि नयाँ विकल्प बन्न सक्ने बिष्टको बुझाई छ ।

वि.सं २०४६ को जनआन्दोलनसँगै राजनीतिमा होमिएका बिष्ट लामो समय नेपाली काङ्ग्रेस निकट रही राजनीतिमा संलग्न भएका र राजनीतिलाई नजिकबाट बुझेका व्यक्ति हुन् । यद्यपि काङ्ग्रेस भित्रको गुटबन्दी र व्यक्तिवादी प्रवृत्तिले सदैव सँगै रहन सकेनन् । यसैकारण उनी उक्त पार्टीबाट असन्तुष्ट भई २०७४ वैशाख देखि काङ्ग्रेसका आफ्नाे समर्थनमा रहेका  सबै  महाधिवेसन प्रतिनिधिहरुले राजिनामा दिएसँगै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग रही राजनीतिबाट नै निष्क्रिय हुन पुगेका थिए ।

यसपटक रवि लामिछाने नेतृत्वमा नयाँ उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी आफूलाई उचित लागेर उनी पुनः राजनीतिमा जोडिन पुगे र यही दलबाट प्रतिनिधिसभामा उम्मेदवारी समेत दिएका छन् ।

तरुण दलको नेतृत्व हुँदै विभिन्न चुनावहरुमा नेपाली काङ्ग्रेसलाई आफ्नो सक्रियतामा विजयी गराउँदै आएका बिष्ट पार्टी भित्रको गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति नसुध्रिई बढ्दै जाने स्थिति नै उक्त पार्टीबाट आफ्नो बाहिरिने मुख्य बाध्यता बन्न पुगेको बताउँछन् ।

स्वतस्फूर्तः व्यापक समर्थन छ, चुनाव जित्छौं

यसपटकको चुनावी माहोल आफूहरुको पक्षमा राम्रो रहेको बिष्ट बताउँछन् । काठमाडौं क्षेत्र नम्बर १० मा गरिएको प्रारम्भिक सर्वेक्षणले समेत यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा रहेको देखिएको बिष्ट बताउँछन् । काठमाडौंको क्षेत्र नम्बर १० मा ७६ हजार भन्दा बढी मतदाता रहेको क्षेत्र हो ।

यसपटकको निर्वाचनमा आफूहरुले जित्ने आधार प्रस्तुत गर्दै बिष्ट स्थानीय जनताहरु गठबन्धन र भागबण्डा गर्ने राजनीतिक दलहरुको प्रवृत्तिकोे अलावा जनताहरुलाई उचित समाधान दिन नसकेको स्थितिले आफूहरुको पक्षमा राम्रो माहोल बनाएको दावी गर्छन् ।

रवि लामिछाने नेतृत्वको अभियानमा युवाहरुको स्वतःस्फूर्त साथ सहयोग रहनुले आफूहरुलाई ठूलो उर्जा मिलेको समेत बिष्ट बताउँछन् ।

बिष्ट आफू पार्टीले सार्वजनिक गरेको वाचा पत्रलाई नै शिरोधार्य गरेर सोहीबमोजिमका क्रियाकलापमा निरन्तर अघी बढ्नेछन् । भ्रष्टाचार र वेथिति अन्त्यको लागि वैकल्पिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासन सहितको समृद्धिलाई सार्थक बनाउने अभियानबाट कहिल्यै विश्राम नलिने समेत बिष्टको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij