
वेरोजगारी, अशान्ति र अराजकतालाई विकास, समृद्धि र सुशासनमा बदल्नको लागि आफूले यसपटक उम्मेदवारी दिएको बताउने रामहरि अधिकारी विगत १ दशक देखि वैकल्पिक राजनीतिमा क्रियाशिल रहँदै आएका पात्र हुन् ।
यसपटकको प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ (क)बाट चुनावी मैदानमा खटिएका अधिकारीले २०७४ को निर्वाचनमा समेत विवेकशिल साझाको तर्फबाट प्रदेशसभामा उम्मेदवारी दिएका थिए ।
यति बेला अधिकारी विकास, समृद्धि, सुशासन, उद्यमशिल समाजको निर्माण र आत्मनिर्भरताको मुख्य मुद्दा लिएर अधिकारी जनताको घरदैलोमा दौडिरहेका छन् । उनी सामाजिक गतिविधिहरुमा समेत सक्रिय पात्र हुन् ।
राष्ट्रिय संस्कार धाम नेपाल र रारा समाज योग केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका अधिकारी राष्ट्रका सबै व्यक्तिहरु संस्कारी हुन सकुन् भन्ने मान्यता राख्छन् । यसैकारण हरेक नेपालीलाई योग, ध्यान, सत्सङ, व्यायाम एवं खेलकुद लगायतका गतिविधिहरुमा संलग्न गराउनुपर्ने र यस्ता गतिविधिले हरेक मानिसलाई सुशासनको दारयामा राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अधिकारीको बुझाई छ । हरेक व्यक्ति भित्रै देखि सचेत र जागरुक बन्न सकेको खण्डमा वेथिति आफैं हट्दै जाने र यसै बिन्दुबाट राष्ट्रलाई सुशासनको दिशामा अघी बढाउन सकिने तर्क अधिकारीको छ ।
चुनाव लक्षित भई अधिकारीले सार्वजनिक गरेको संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार विकास एवं संस्कृति जगेर्ना लगायतका कार्यक्रमलाई बढी महत्व दिइएको छ ।
लामो समय देखि औषधी व्यवसायीको रुपमा समेत सक्रिय अधिकारी मुलुकमा नै स्वरोजगारीका अवसर सृजना गर्नुपर्ने, स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थहरुमा आधारित वस्तुहरु उत्पादनको लागि नेपाली युवाहरुलाई अभिप्रेरित गर्नुपर्ने, विश्वस्तरीय शिक्षाको पहुँच नेपालमा सहज रुपमा उपलब्ध हुनुपर्ने, संसारका विभिन्न कुनामा पुगेर आफ्नो विशेषज्ञता प्रस्तुत गरेका नेपालीजनहरुलाई नेपालमा नै फर्किएर आफ्नो क्षमता प्रस्तुत गर्ने परिस्थिति निर्माण गर्नको लागि आफूले आवश्यक नीतिगत दबाब सृजना गर्ने लगायतका कार्यक्रमहरुलाई मुख्य एजेण्डा बनाएका छन् ।
विकासको लागि राज्य कोषबाट खर्च हुने रकम सिधै वास्तविक उपभोक्ता सम्म पुग्ने संयन्त्र तयार पार्नुको साथै उक्त कार्यको सामाजिक अडिट समेत गरिने र पूर्वाधार क्षेत्रको विकासलाई बढी प्रभावकारी बनाइने लगायतका कार्यक्रमहरुलाई समेत अधिकारीले जोडदार रुपमा उठाएका छन् ।
काडम्बरी ग्रुप नेपालका अध्यक्ष समेत रहेका अधिकारी नेपालमा सम्भावना रहेका वस्तुहरु नेपालमा नै उत्पादन एवं प्रशोधन गरी बाह्य बजारमा बिक्री गरेर राम्रो लाभ लिन सकिने अभियानमा समेत सक्रिय रहँदै आएका छन् ।
अधिकारीले मेरो घरमा मेरो सांसद कार्यक्रम, एक घर एक रुख कार्यक्रम सञ्चालन गर्ने, स्थानीय कला संस्कृति, जात्रा, महोत्सवहरुलाई पर्यटनसँग जोडेर विश्वबजारमा प्रवद्र्धन गर्ने, नेवारी पेय पदार्थको अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्ने लगायतका कार्यक्रम समेत आफूले प्राथमिकता सहित अघी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अधिकारीले स्थानीय तहका निर्वाचित प्रतिनिधिहरुलाई दल विहीन साझा व्यक्ति बनाउनुपर्ने, मन्त्री बन्ने योग्यता दलको प्रतिनिधि पात्र नभई विशेषज्ञ क्षमता बन्नुपर्ने, सांसद मन्त्री लगायतका व्यक्तिहरु पदमा २ पटक भन्दा बढी दोहोरिन नपाउने जस्ता व्यवस्था गर्नुपर्ने आवश्यकता महसुस गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij