२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

निषेधाज्ञामा पनि नागढुंगा सुरुङमार्गको काम नरोकिने

निषेधाज्ञामा पनि नागढुंगा सुरुङमार्गको काम नरोकिने

 

काठमाडौं । निषेधाज्ञामा पनि नागढुंगा सुरुङमार्ग निर्माण कार्य अवरुद्ध नहुने भएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयमा निर्माण कार्य बन्द गर्न सूचना जारी भए पनि नागढुंगाको सुरुङमार्ग निर्माणको काम भने जारी रहनेछ ।

काठमाडौं उपत्यकामा नयाँ भेरियन्टको कोभिड–१९ महामारीको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सार्वजनिक तथा निजी विकास निर्माणका कार्य स्थगन गर्नुका साथै सामग्री ढुवानीमा रोक लगाउने निणर्य गरेको थियो ।

नागढुंगा सुरुङमार्ग निर्माण कार्य यथावत अवस्थामा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिइएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका कामू आयोजना प्रमुख नरेशमान शाक्यले क्लिकमाण्डूसँग बताए ।

‘मजदुर तथा कर्मचारीहरु निर्माणस्थलकै क्याम्पमा बसेर काम गरिरहेका छन् । कामदारहरुको दैनिक रुपमा पीसीआर जाँच भइरहेको छ,’ शाक्यले भने, ‘संक्रमितहरु राख्न पनि आइसोलेसन सेन्टरको व्यवस्था छ ।’

कामदारहरु क्याम्पभित्रै बसेर काम गर्ने भएकाले निर्माण कार्य जारी राख्न गरिएको अनुरोध जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको उनले बताए ।

निषेधाज्ञा शुरु हुनु अघि नागढुंगा सुरुङमार्गमा करिब ७०० जनाले काम गरिरहेका थिए । निषेधाज्ञा जारी भएपछि आधाभन्दा धेरै कामदार घर फर्किसकेका छन् ।

पछिल्लो समय नागढुंगा सुरुङमार्गमा कोरोनाको संक्रमण पनि बढेको छ । सुरुङमार्गमा कार्यरत ७१ जना कर्मचारी तथा मदजुर कोरोना संक्रमित पनि भएका छन् ।

संक्रमितहरुलाई आयोजनाकै आईसोलेसनमा राखेर उपचार भइरहेको छ । संक्रमितको उपचार तथा रेखदेका लागि एकजना नर्सको व्यवस्था मिलाईनुका साथै डक्टरहरुको पनि नियमित भिजिट हुने गरेको प्रमुख शाक्यले बताए । ‘सबै संक्रमितहरुको अवस्था सामान्य नै छ,’ उनले भने, ‘६ जना संक्रमित पूर्णरुपमा निको भइसक्नुभएको छ,’ उनले भने ।

काठमाडौंको दहचोकदेखि–धादिङको खोलासम्मको सुरुङमार्ग २.६८८ किलोमिटर लम्बाइको छ । सो सुरुङमार्ग निर्माण गर्न २०७६ असोज ६ गते सडक विभाग र जापानको हाज्मा–आन्द्रो जेभीबीच सम्झौता भएको थियो । सुरुङ खन्ने काम भने २०७७ पुसदेखि मात्र शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij