
काठमाडौं । देशभरका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणबाट जोगिन भौतिक दुरी कायम गर्न, मास्क लगाउन, समय–समयमा साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गर्ने जस्ता सामान्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सुझाव दिँदै आएको छ ।
बजार, सार्वजनिक यातायात र विद्यालयहरू समेत खुल्न थालेपछि भौतिक दुरी कायम गर्नु भने कठिन बन्दै गएको छ । त्यसो त अहिले कोरोना संक्रमण दर पनि घटेको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला संक्रमितको चाप घटेको बताउँछन् । अस्पतालमा संक्रमितको चाप घट्नुले समुदायमा संक्रमण दर घटेको देखाउँछ ।
‘समुदायमा संक्रमण रहेको भए निमोनिया वा अन्य समस्या लिएर पनि अस्पताल आउँथे’, डा. बास्तोला भन्छन्, ‘अहिलेको वास्तविक अवस्थाबारे राम्रो अध्ययन हुनु जरुरी छ ।’ सतही अध्ययनले कोरोना संक्रमणको वास्तविक अवस्था देखाउन नसक्ने बताउँदै उनी भन्छन्, ‘अध्ययन पनि हुँदै जाला, स्वास्थ्य सुरक्षाको मापदण्ड भने सबैले पालना गरिरहनैपर्छ । साथै वृद्धवृद्धा, दीर्घरोगीहरू अझै पनि उच्च जोखिमै रहेको डा. बास्तोला बताउँछन् । उनका अनुसार खोप लगाएकाहरूबाट पनि अरूलाई कोरोना सर्ने सम्भावना रहने हुँदा सबैले डब्लुएचओको स्वास्थ्य मापदण्ड पालना गर्नु आवश्यक छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij