२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

गणतन्त्र स्मारक: फोटो दिँदाका तितामिठा अनुभव

गणतन्त्र स्मारक: फोटो दिँदाका तितामिठा अनुभव

नरेश श्रेष्ठ ⊕

जेठको दोस्रो साता लागिसकेको थियो । म र फोटोपत्रकार सागर श्रेष्ठ काठमाडौं, बबरमहलस्थित नेपाल कला परिषदको प्रदर्शनी कक्षमा थियौं । सन्दर्भ थियो –उहाँले खिचेको फोटोलाई बिना अनुमति कुनै चित्रकारले चित्रकारिता मार्फत प्रदर्शनी कक्षमा राखेको । चित्रहरु हेर्दै थियौं, कलाकार पत्रकार मित्र देवेन्द्र थुम्केली भेट हुनुभयो । उहाँले हामीलाई परिषदको माथिल्लो तल्लामा लानुभयो र भन्नुभयो– ल ! राजनैतिक आन्दोलनका ऐतिहासिक फोटोहरु जति चाहिन्छ, उहाँहरुसँग छ । त्यहाँ परिषदका कार्यकारी सदस्य एवम् कलाकारहरु जीवन राजोपाध्याय, नरेश सैंजु र हरिबहादुर खड्का निकै व्यस्त देखिनुहुन्थ्यो । उहाँहरुले भन्नुभयो–लौन सहयोग गर्नुपर्यो । यही जेठ १५ गते गणतन्त्र स्मारकको राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम छ, अझै चाहेजस्तो फोटो पाएका छैनौं । तुरुन्तै फोटोहरु ल्याइदिनुपर्यो ।

परिषदले २०७६ बैशाख १८ गते नै एक राष्ट्रिय दैनिकमा गणतन्त्र स्मारकमा राखिने सन्दर्भ सामाग्री सम्बन्धि सूचना प्रकाशित गरेको रहेछ, सोको फोटोकपी पनि उपलब्ध गराउनुभयो । जसमा वैशाख ३० भित्र सामाग्रीहरु पठाउन अनुरोध गरिएको रहेछ । मैले भने यो सूचना आजै हेर्न र पढ्न पाएको थिएं । पारिश्रमिक बारे सामान्य कुरा भयो । उहाँहरुले ठीकै रकम उपलब्ध गराउने कुरा गर्नुभयो । त्यसपछि मेरो आँखा भित्तामा रहेको क्यालेण्डरतर्फ गयो । एकहप्ता पनि समय थिएन ।

भोलिपल्टै म र सागरजीले केही फोटोहरु लिएर गयौं । संयोग कस्तो पर्यो भने त्यति नै बेला नेपाल कला परिषदका अध्यक्ष, संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र परिषद्कै महासचिव, कलाकार एवं प्रथम नेपाली आर्किटेक्ट इञ्जिनियर शंकरनाथ रिमाल पनि त्यहीँ हुनुहुन्थ्यो । उहाँहरुले पनि फोटोहरु हेर्नुभयो । उहाँहरुले नै हेरेर अन्तिम छनौट गर्ने भनेकाले हामी फर्कियौं ।

© नरेश श्रेष्ठ

समय घर्किसकेकाले हामीले अरुलाई खबर गरेनौं । परिषदको प्रकाशित सुचना र व्यक्तिगत तवरबाट थाहा पाउने कतिपय फोटोपत्रकार-फोटोग्राफरहरुले यो जानकारी बाँड्न चाहेको देखिएन । कतिपय फोटोपत्रकारले परिषदलाई प्रयाप्त फोटो उपलब्ध गराउने आश्वासन दिँदै पछि उपलब्ध नगराएपछि उहाँहरुलाई आच्छुआच्छु परेको रहेछ र सोही समयमा हामी पुग्नु उहाँहरुका लागि ठूलै राहत हुनपुग्यो । हुन त फोटोहरु उपलब्ध गराउन फोटोग्राफर-फोटोपत्रकारहरुको संघसंस्थाले सहजीकरण गरेको भए राम्रो हुनेथियो, जसले गर्दा धेरैले थाहा पाउने थिए, धेरै फोटो संकलन हुनसक्थ्यो र सोको मूल्य बारे पनि सामूहिक मोलमोलाई (Collective Bargaining) हुनसक्थ्यो । यस कार्यमा फोटो पत्रकारहरुको छाता संगठन नेपाल फोटो पत्रकार महासंघले केही पहल गर्न सक्थ्यो तर सो अवसर गुमिसकेको थियो । जे होस् परिषदले छोटो समयमै भएपनि सन्दर्भ सामाग्रीहरु जुटाएर आफ्नो जिम्मेवारी पूरा गर्यो ।

© नरेश श्रेष्ठ

नेपालमा २०६५ जेठ १५ गते संविधान सभाले राजतन्त्र समाप्त गरी गणतन्त्रको घोषणा गरेको थियो । २०६८ चैत्र १४ गते तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले शिलान्यास गरेको गणतन्त्र स्मारक २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । सो ऐतिहासिक क्षणको फोटो खिच्न र आफूले दिएका फोटो के कतिवटा छनौट भए भन्ने जान्न पनि उत्सुकता थियो । नारायणहिटी दरबार सङ्ग्राहलयको पूर्वपट्टिको भागमा निर्मित सो स्मारकमा राष्ट्रपति आगमन अगावै ग्यालरीमा सजाइएका फोटोहरु सरसर्ती हेरेँ । साथै राष्ट्रपतिको आगमनको प्रतिक्षामा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण र सांसदहरु लगायत हामी फोटोपत्रकारहरु पनि प्रतिक्षारत थियौं । सोही बेला सिन्हुवा न्यूज एजेन्सीमा कार्यरत फोटोपत्रकार सुनिल शर्मालाई ग्यालरीमा उहाँको फोटो नरहेको बारे सोधें । उहाँले भन्नुभयो, हामीले एउटा फोटोको कम्तिमा २५-३० हजार रुपियाँ दिनुपर्छ भन्ने माग राखेका थियौं तर सहमति नभएकाले दिएनौं ।

© नरेश श्रेष्ठ

केही समयपछि राष्ट्रपतिको आगमन भयो । उद्घाटनपछि माथिल्लो तल्लामा रहेको नेपालको नक्सा लगायतको अवलोकनपछि उहाँलाई फोटो ग्यालरीतर्फ नलगी सोझै स्मारक परिसरकै बाहिर खुल्ला ठाऊँमा निर्माण गरिएको मञ्चतर्फ लगियो, जहाँ सुप्रसिद्ध गायिका आनी छोइङ डोल्माको सांगीतिक प्रस्तुती थियो । लगत्तै गणतन्त्र प्राप्तिका संघर्षबारे बनाइएको वृत्तचित्र देखाइयो । पानी पर्न थालेपछि कार्यक्रम समापनको घोषणा गरियो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतीकका रुपमा निर्माण गरिएको गणतन्त्र स्मारकमा अन्तिम समयमा भएपनि आफ्नो केही फोटोहरु समावेश भएकोमा खुशी छु । यसको भौतिक संरचनाले गणतन्त्रकोे प्रतीकको प्रतिनिधित्व र न्याय कत्तिको गर्यो ? त्यसको मूल्याङ्कन हुँदै गर्ला । त्यसैगरी नेपाली इतिहासको विभिन्न कालखण्डका ऐतिहासिक दस्तावेजहरु, फोटो, चित्र, मूर्ति लगायतका सिर्जनात्मक सामाग्रीबाट पनि कत्तिको प्रतिनिधित्व र न्याय भएको छ ? सबैको लागि स्मारक खुल्ला भएपछि विभिन्न विज्ञहरुबाट पनि यसको मूल्यांकन हुने नै छ ।

परिषदका कार्यकारी सदस्य एवं कलाकार जीवन राजोपाध्याय पनि स्वीकार्नु हुन्छ –‘सामाग्री छनौटमा समय नै पुगेन, एकदमै छोटो समयमा धेरै काम गर्नुुपर्यो (१५ दिनभित्र) । प्रदर्शनीमा राखिएका कतिपय फोटोमा सेना, प्रहरीहरुको आपत्ति रह्यो, जसका कारण हटाउन बाध्य भयौं । अरु त अरु प्रधानमन्त्री कार्यालयबाट समेत आपत्ति आयो र हटाउन बाध्य भयौं । इतिहासलाई समग्रतामा बुझ्ने चेतनाको अभाव रहेछ हाम्रो देशमा । उहाँले थप्नुभयो– नेपाली कलाकारहरुको संस्था नेपाल कला परिषद भएपनि कलाकारहरुकै चित्रहरु समावेश गर्न सकेनौं । २१ जना फोटोग्राफर-फोटोपत्रकार-कलाकारहरुका १५४ वटा फोटो प्रदर्शनीमा छन् । सन्दर्भ सामाग्रीको संकलन र प्रदर्शनीको लागि २०७५ चैत्र २५ गते बसेको मन्त्रीपरिषद बैठककाे निर्णयानुसार रु. १ करोड छुट्याइएको थियो । यसको जिम्मेवारी भने नेपाल कला परिषदलाई दिइएको थियो र शहरी विकास तथा भवन निर्माण विभागसँग समझदारीपत्रमा हस्ताक्षर भई यी दुई संस्थाका प्रतिनिधि रहेको समन्वय तथा अनुगमन समितिले यो कार्य सम्पन्न गरेको थियो । राजोपाध्यायका अनुसार सन्दर्भ सामाग्रीका लागि १ करोड छुट्याइएपनि रु. ९१ लाख (१५% कर कट्टि सहित) खर्च भएको थियो ।

राष्ट्रिय महत्वको यस स्मारकको भौतिक संरचना निर्माणका लागि (जग्गाको मूल्य बाहेक) मात्र राज्य कोषबाट रु. ४० करोड (मू.अ.कर सहित) खर्च गरिएको थियो भने त्यहाँभित्र रहने महत्वपूर्ण सन्दर्भ सामाग्रीमा भने १ करोड रुपियाँ मात्र छुट्याइएको थियो !

 

नमीठो पक्ष के रह्यो भने उक्त स्मारक उद्घाटन भएको आठ महिनापछि बल्ल तीन जना ‘भाग्यमानी’ फोटोपत्रकारले आंशिक पारिश्रमिक पाए । बाँकीले भुक्तानी पाउन निकै ढिलो भएकोले के कारण हो भनी बुझ्न नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आले, उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरि रेग्मी र म (सहसचिव) लगायत कला परिषदका प्रतिनिधिहरु जीवन राजोपाध्याय, हरि बहादुर खड्का, विष्णु तिम्सिना पटक–पटक गरी ६ चोटी सम्म शहरी विकास तथा भवन निर्माण विभागमा गई अनेक छलफल-कुराकानी गर्यौं । अन्तमा विभागका महानिर्देशकलाई भेटेपछि बल्ल २०७७ असार मसान्तमा (१३ महिनापछि) सबैले सम्पूर्ण रकम भुक्तानी पायौं ।

त्यस्तै प्रति फोटोको रु. २ हजार सम्म मात्र दिने कुरामा विभाग र परिषदका प्रतिनिधि बीच लामै छलफल पछि अन्ततः रु. ६ हजार (१५% कर कट्टा हुनेगरी) दिने टुंगो लागेको रहेछ भने उद्घाटनको दिन देखाइएको १५ मिनेटको वृत्तचित्रको भने २० लाख रुपियाँ भुक्तानी दिइएको बुझियो (परामर्शदाता नियुक्ति गरी सोही आधारमा) । सामान्य रुपले हिसाब गर्दा वृत्तचित्र निर्माताले प्रतिमिनेट रु. १,१३,३३३ (१५% कर कट्टि गरिएको खण्डमा) भुक्तानी पाएको देखिन्छ । यता फोटोग्राफर-फोटोपत्रकार-कलाकार जस्ता सर्जक जसको दशकौंदशक आफ्नो जीवनको अमूल्य समय यही पेशा-कर्ममा नै बितेको छ । समयको मात्र नभई आर्थिक, बौद्धिक लगानी छ । पेशागत जोखिम त्यत्तिकै थियो र छ । दशकौंदेखि त्यस्ता सामाग्रीहरु सुरक्षित राखेका छन् । जसमा राज्यको कुनै प्रत्यक्ष आर्थिक, प्राविधिक, बौद्धिक लगानी छैन । आखिर कुनै न कुनै समयमा यस्ता असाधारण सम्पत्ति-सामाग्री त राज्यलाई चाहिँदोरहेछ । अनि सर्जकहरू प्रति यत्तिकाे भेदभाव, अवमूल्यन र असंवेदनशिलता किन ?

जे होस् राष्ट्रिय गौरवको यस स्मारकमा सर्जकहरुले आफ्नो सिर्जना दिएर कर्तव्य निर्वाह गरे । एकजुगमा एकदिन आउने यस्ता अवसरमा सर्जकहरुको लागि ठूलो मनले राज्यले कहिले सोच्छ ?


⊕ (श्रेष्ठ आमसञ्चार प्रशिक्षक, स्वतन्त्र फाेटाे पत्रकार/ फाेटाे सङ्ग्रहकर्ता हुन् ।)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij