भरतराज ढकाल, अध्यक्ष, मुक्तिनाथ विकास बैंक लिमिटेडवि.सं २०३० भदौ ११ मा जन्मिनुभएका भरतराज ढकाल हाल मुक्तिनाथ विकास बैंकका अध्यक्ष हुनुहुन्छ । नेपालमा लामो समय देखि वित्तीय क्षेत्रमा संलग्न रही मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको भूमिका समेत निर्वाह गरेर लामो समय वित्तीय अनुभव समेट्नुभएका र ग्रामीण जनताहरुको जीवनस्तर र कृषि प्रणालीलाई नजिकबाट बुझ्नुभएका ढकाल पछिल्ला दिनहरुमा कृषिको व्यावसायिकरणको लागि समेत गर्ने अभिप्रायले आफ्ना कदमहरु अघी बढाइरहनुभएको छ । सोही उद्धेश्यले स्थापित मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका समेत अध्यक्ष रहनुभएका ढकालले नेपालमा कृषि क्षेत्रको सम्भावना राम्रो रहेको बताउनुहुन्छ । कृषिको व्यावसायिकरणबाट मात्रै मुलुकलाई आत्मनिर्भर बनाउन सकिने उहाँको धारणा छ ।
नेपालमा विकास बैंकहरुको अवस्था र लिनुपर्ने अबको बाटो एवं नेपालको समृद्धिको लागि चाल्नुपर्ने कदम सम्बन्धमा हामीले अध्यक्ष ढकाल सँग कुराकानी गरेका थियाैं । कुराकानीकाे सम्पादित अंश यहाँ प्रस्तुत गरिएकाे छ ।
नेपालमा लकडाउन पश्चात् वित्तीय क्षेत्रको अवस्था कस्तो छ ?
वित्तीय क्षेत्रमा गत आर्थिक वर्षका शुरुका ८ महिना सम्म अवस्था राम्रो थियो । लकडाउन शुरु हुनुभन्दा पहिलेको प्रगति सन्तोषजनक नै थियो । अनपेक्षित रुपमा भएको लकडाउनले आर्थिक वर्षका पछिल्ला ४ महिना भने समस्यापूर्ण नै रहे । कोरोना महामारी विश्वव्यापी समस्या बन्दै गएको अवस्थामा नेपालमा पनि आह्वान गरिएको लकडाउनको मारमा नेपालका बैंक तथा वित्तीय क्षेत्र मात्र नभई सबै क्षेत्रहरु परे । जसले गर्दा समग्र अर्थतन्त्रमा नै निकै नराम्रो प्रभाव पर्न गयो ।
बैंक तथा वित्तीय क्षेत्रमा परेको नोक्सानीलाई राहत हुन सकोस् भन्ने मान्यता सहित सार्वजनिक भएको मौद्रिक नीतिले भने हामीलाई उत्साह जगाएको छ । हुनतः बैंक तथा वित्तीय क्षेत्रमा अहिले सम्मको अवस्थालाई हेर्दा त्यत्ति ठूलो समस्या सृजना भइसकेको छैन । यद्यपि यस क्षेत्रमा पर्ने असर दीर्घकालिन हुने भएकोले लकडाउनले सृजना हुने असर कुन रुपमा कहिले सम्म जाने हो भनेर अहिले नै भनिहाल्न सक्ने अवस्था पनि छैन ।
पछिल्ला दिनहरुमा नेपालका बैंकहरुको लागि तरलता ठूलो समस्या बनेको छ । बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम थुप्रिएको छ । तर व्यवसायीहरु अझै आशावादी हुन सकेका छैनन् । जसले गर्दा उनीहरु आफ्नो व्यवसायमा तत्काल लगानी बढाउन उत्सुक भएको पाईंदैन । जसले गर्दा नेपालमा बैंक तथा वित्तीय क्षेत्रको लगानी क्षेत्र समेत साँघुरिने र यस आर्थिक वर्षको लागि बैंक तथा वित्तीय क्षेत्रको लागि भने समस्या सृजना हुन सक्ने अवस्था देखिएको छ ।
पछिल्ला दिनहरुमा नेपालका बैंकहरुको लागि तरलता ठूलो समस्या बनेको छ । बैंकहरुमा पर्याप्त लगानीयोग्य रकम थुप्रिएको छ । तर व्यवसायीहरु अझै आशावादी हुन सकेका छैनन् । जसले गर्दा उनीहरु आफ्नो व्यवसायमा तत्काल लगानी बढाउन उत्सुक भएको पाईंदैन । जसले गर्दा नेपालमा बैंक तथा वित्तीय क्षेत्रको लगानी क्षेत्र समेत साँघुरिने र यस आर्थिक वर्षको लागि बैंक तथा वित्तीय क्षेत्रको लागि भने समस्या सृजना हुन सक्ने अवस्था देखिएको छ ।
बैंक तथा वित्तीय क्षेत्रमा यहाँले समेट्नुभएको अनुभवको सम्बन्धमा केही बताइदिनुहोस् न ?
म मुक्तिनाथ विकास बैंकमा करिब १२ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत रही जिम्मेवारी निर्वाह गरेँ । ग्रामीण जनजीवनमा सुधार ल्याउने मान्यता सहित स्थापना भएको यस बैंक मार्फत ग्रामीण जनताहरुमा वित्तीय रुपमा साक्षर बनाउन र उद्यमशिल बन्न निकै उत्प्रेरित गर्यौं । साथै बैंकिङ क्षेत्रमा रहेर काम गर्ने क्रममा मैले बुझेँ कि म किसानको जीवनस्तर सुधार गर्न बैंकले कर्जा उपलब्ध गराएर मात्रै पुग्दोरहेनछ । उनीहरुलाई आवश्यक पर्ने कृषिजन्य सामाग्री उपलब्ध गराई आवश्यक परामर्श समेत दिनुपर्दोरहेछ भन्ने महसुस भएको कारण म कृषि क्षेत्र सँग सम्बन्धित कम्पनी स्थापित गर्ने तर्फ आकर्षित भएको हुँ ।
नेपालमा विकास बैंकहरुले वाणिज्य बैंक भन्दा फरक तवरले सेवा उपलब्ध गराउनुपर्छ भन्ने मान्यता सहित काम गर्ने हामीले अठौट लियौं । सोहीबमोजिम बदलिँदो परिवेशमा पृथक पहिचान स्थापित गर्न बैंकिङ नै थप जागरुक बन्दै आफ्नो पहुँच विस्तारमा लाग्नुपर्ने हामीले महसुस गर्यौं । जसबाट बैंक र जनता दुवै पक्ष लाभान्वित हुन सकुन् । जसअन्र्तगत हामीले ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने किसिमले आफ्ना गतिविधिहरु अघी बढायौं । जनमैत्री र सामाजिक उत्तरदायित्वका कामहरु पनि हामीले प्रशस्तै गरेका छौं । जसबाट स्थानीय मानिसहरुले बैंकलाई आफूहरुकै हितको लागि स्थापना भएको संस्थाको रुपमा लिने अवस्था सृजना गर्न हामी सफल भयौं । खासगरी हामीले मुक्तिनाथ विकास बैंक मार्फत शहरी क्षेत्रलाई भन्दा पनि ग्रामीण क्षेत्रलाई नै बढी जोड दिएर सेवा प्रवाह गरिरहेका छौं । साथै हाम्रो योजनामा हामी सफल समेत छौं ।
बैंकिङ क्षेत्र मार्फत सेवा प्रदान गर्दाका शुरुका दिनहरुमा हामीलाई लाग्थ्यो कि किसानको समग्र अवस्था सुधार गर्नको लागि उनीहरुलाई आवश्यकता बमोजिम कर्जा प्रवाह नै पर्याप्त हुनेछ । तर बैंकिङ क्षेत्रमा रहेर काम गर्ने क्रममा हामीले पायौं कि कर्जा प्रवाहले मात्र किसानहरुको जीवनस्तर सुधार हुन सक्दो रहेनछ । यस तथ्यको बोध भएसँगै हामीले ग्रामीण किसानहरुलाई रकम उपलब्ध गराउने मात्र नभएर उनीहरुको लागि आवश्यक पर्ने विभिन्न कृषि सामाग्रीहरु जस्तै मल, बिऊ, विषादी, प्रविधि, सीप लगायत पनि उपलब्ध गराउने योजना सहित मुक्तिनाथ कृषि कम्पनीको परिकल्पना गरेका हौं । कृषि सम्बन्धी काम गर्ने हाम्रो परिकल्पनालाई साकार पार्नको लागि बैंक मातहत नै सहायक कम्पनी स्थापना गर्नको लागि नेपाल राष्ट्र बैंकमा स्वीकृति दिन अनुरोध गर्यौं । विगत १० बर्ष पहिले नै नेपाल राष्ट्र बैंकलाई आग्रह गरेकोमा तत्काल उक्त कार्य सम्भव हुने नदेखिएपछि हामीले अलग कम्पनी स्थापना गरेर सेवा प्रदान गर्दै आएका छौं ।
बैंकका लक्षित कार्यक्रमहरु सफल बनाउन यहाँहरुले कस्ता रणनीतिहरु अवलम्बन गर्नुभयो ?
हामीले हाम्रा कार्यक्रमहरुलाई प्रभावकारी बनाउँदै बैंकलाई समेत मुनाफामा लैजान र स्थानीय लक्षित समुदायलाई समेत लाभान्वित बनाउन न्यून आय भएका किसानहरुलाई कर्जा प्रवाह गर्ने क्रममा जहिले पनि जुन उद्देश्य सहित सेवाग्राहीलाई कर्जा उपलब्ध गराइएको हुन्छ, उक्त कर्जा रकम सम्बन्धित क्षेत्रमा नै लगानी हुनुपर्छ भन्ने कुरालाई विशेष जोड दियौं । सही तवरले उक्त रकम कार्यान्वयन भएनभएको सम्बन्धमा अनुगमन गर्यौं । यसबारे सेवाग्राहीलाई पनि जागरुक र सचेत गरायौं । कर्जा रकम जुन ठाउँमा उपयोग गर्ने भन्ने उद्देश्य सहित लिइएको हुन्छ, त्यस क्षेत्रमा खर्च नभएको खण्डमा भावी दिनमा सेवाग्राहीले कर्जा असुल गर्न नसक्ने अवस्था सृजना हुन सक्छ भन्ने हाम्रो बुझाई थियो । जसबाट सृजना हुन सक्ने समस्यालाई पहिले नै विचार गर्दै कामहरु अघी बढाएको कारण हामी हाम्रो उद्देश्यमा सफल भयौं । 
कृषि सम्बन्धी अलग्गै कम्पनी स्थापना गर्नुपर्ने अन्तरप्रेरणा चाहिँ कसरी जाग्यो ?
बैंकिङ क्षेत्र मार्फत सेवा प्रदान गर्दाका शुरुका दिनहरुमा हामीलाई लाग्थ्यो कि किसानको समग्र अवस्था सुधार गर्नको लागि उनीहरुलाई आवश्यकता बमोजिम कर्जा प्रवाह नै पर्याप्त हुनेछ । तर बैंकिङ क्षेत्रमा रहेर काम गर्ने क्रममा हामीले पायौं कि कर्जा प्रवाहले मात्र किसानहरुको जीवनस्तर सुधार हुन सक्दो रहेनछ । यस तथ्यको बोध भएसँगै हामीले ग्रामीण किसानहरुलाई रकम उपलब्ध गराउने मात्र नभएर उनीहरुको लागि आवश्यक पर्ने विभिन्न कृषि सामाग्रीहरु जस्तै मल, बिऊ, विषादी, प्रविधि, सीप लगायत पनि उपलब्ध गराउने योजना सहित मुक्तिनाथ कृषि कम्पनीको परिकल्पना गरेका हौं । कृषि सम्बन्धी काम गर्ने हाम्रो परिकल्पनालाई साकार पार्नको लागि बैंक मातहत नै सहायक कम्पनी स्थापना गर्नको लागि नेपाल राष्ट्र बैंकमा स्वीकृति दिन अनुरोध गर्यौं । विगत १० बर्ष पहिले नै नेपाल राष्ट्र बैंकलाई आग्रह गरेकोमा तत्काल उक्त कार्य सम्भव हुने नदेखिएपछि हामीले अलग कम्पनी स्थापना गरेर सेवा प्रदान गर्दै आएका छौं ।
मुक्तिनाथ कृषि कम्पनी कस्तो कम्पनी हो ?
किसानहरुको समग्र आर्थिक माथि उठाउने कार्यमा प्रत्यक्ष भूमिका खेल्न सकियोस् भन्ने उद्देश्यले यो कम्पनी स्थापना भएको हो । हाल हामीले यस कम्पनी मार्फत किसानहरुको लागि आवश्यक पर्ने गुणस्तरीय बीउ, मल र उपकरणहरु किसानलाई सहज रुपमा उपलब्ध गराउँदै आएका छौं । साथै किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज रुपमा बजारीकरण गर्नको लागि समेत यस कम्पनी मार्फत हामीले काम गर्दै आइरहेका छौं ।
नेपालमा कृषिको अवस्था यहाँहरुले कस्तो रहेको पाउनुभयो ?
नेपालमा कृषि क्षेत्र अहिले पनि परम्परागत र निर्वाहमुखी नै रहँदै आएको छ । कृषि क्षेत्रलाई माथि उठाउनको लागि विभिन्न प्रयासहरु त नभएका होइनन् । राज्य पक्षले पनि कृषि क्षेत्रको सुधार र व्यावसायिकीकरणको लागि विभिन्न पहलहरु गर्दै आएको छ । ठूलो रकम बजेट कृषि क्षेत्रको लागि विनियोजन गरिँदै आइरहेको छ । निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरुले पनि कृषिको लागि भनेर ठूलो रकम लगानी गर्दै आइरहेका छन् । तर त्यति गर्दा पनि कृषि क्षेत्रको उपलब्धि भने अझै अत्यन्तै न्यून देखिन्छ ।
बैंकिङ, कृषि र ग्रामीण जनताहरुसँग नजिक रहेर काम गर्दाको यहाँहरुको अनुभव कस्तो रह्यो ?
अवश्य पनि हामीले विभिन्न क्षेत्रहरु आपसमा संगठित भई साझा उद्देश्य प्राप्तिको लागि एकीकृत रुपमा लाग्नुपर्छ भन्ने मान्यता सहित हाम्रा गतिविधिहरु सञ्चालन गर्दै आएका छौं । हामीले सञ्चालन गरिरहेका जनजीवनसँग जोडिएका यस्ता गतिविधिहरुबाट नेपाल राष्ट्र बैंक एवं अन्य सरोकारवाला निकायहरुले पनि हामीलाई प्रोत्साहित गरिरहनुभएको छ । समयको आवश्यकता बमोजिम हाम्रा योजनाहरु प्रति उहाँहरुको पनि ऐक्यवद्धता रहेको हामीले महशुस गरेका छौं । मुक्तिनाथ विकास बैंकले आर्थिक रुपमा कमजोर अवस्था रहेका नेपालीहरुको आर्थिक स्थिति सुधारको लागि जे–जस्ता सोच, योजना र रणनीतिहरु तय गरेको छ, ती अत्यन्तै समय सान्दर्भिक र उपयुक्त छन् भन्नेमा हामी आफैं पनि विश्वस्त छौं । विभिन्न क्षेत्रका विज्ञहरुको सहयोगमा हामीले यो रणनीति तय गरेका छौं । यी योजनाहरुलाई अझ प्रभावकारी बनाउँदै लैजानको लागि सबै पक्षको साथ, सहयोग, सल्लाह सुझाव र रचनात्मक प्रतिक्रियाको हामी अपेक्षा गर्दछौं ।
साथै हाम्रा सरोकारवाला निकायहरुले यी र यस्ता कार्यक्रमहरुलाई प्रोत्साहित गर्न सहज नीतिगत व्यवस्थाको समेत हामी अपेक्षा गर्दछौं । उपलब्ध स्रोतसाधन, सीप, जनशक्तिको उपलब्धता, क्षमता र दक्षता तथा भौगोलिक अवस्थिति जस्ता कुराहरुलाई औंल्याउँदै नेपालमा नै उद्यमशिलता र रोजगारी सृजना बढाउन सक्ने किसिमका समसामयिक योजनाहरु तर्जुमा गर्ने तर्फ सरोकारवाला एवं नियमनकारी निकायहरुले विशेष जोड दिनु जरुरी छ । यसको लागि बजारको आवश्यकता र विगतका योजनाहरुको प्रभावकारिता सम्बन्धमा सूक्ष्म रुपमा विस्तृत क्षेत्र समेटिने गरी बजार अनुसन्धान समेत आवश्यक रहन्छ । 
कोरोना सङ्कट कृषि क्षेत्रको सम्भावना चाहिँ कस्तो देख्नुहुन्छ ?
नेपाली युवाहरुलाई कृषि क्षेत्रमा व्यवस्थित गर्न सकेको खण्डमा अब नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुको सङ्ख्यामा उल्लेखनीय कमी आउन सक्नेछ । साथै विश्वभर फैलिएको कोरोना महामारीको कारण यतिबेला वैदेशिक रोजगारीमा रहेका नेपालीहरु समेत स्वदेश फर्किने क्रम बढेको छ । जुन हाम्रो लागि दुःखद परिस्थितिले निम्त्याएको खुसीयाली पनि हो । हुनतः एकैपटक नेपालीहरु स्वदेश फर्किँदा तत्कालको लागि युवा व्यवस्थापनको ठूलो समस्या बन्न सक्छ, यद्यपि यसको सही व्यवस्थापनमा राज्यले विशेष कदम चाल्नु जरुरी छ ।
अबका दिनमा कृषि क्षेत्रमा क्षमतावान् व्यक्तिहरु संलग्न हुनुपर्छ । कृषि क्षेत्र नै सबैको जीविकोपार्जनको आधार भएको र आर्थिक विकासको लागि समेत राम्रो सम्भावना भएकोले यसलाई विशेष प्राथमिकतामा राख्नु जरुरी छ ।
कृषि क्षेत्रको थप प्रवद्र्धनमा मुक्तिनाथ विकास बैंकका योजनाहरु के–कस्तो छ ?
जसरी विगतका दिनहरुमा मुक्तिनाथ विकास बैंकले ‘वित्तीय साक्षरता’ भन्ने नारा सहित प्रभावकारी तवरले विभिन्न कार्यक्रमहरु चलाएर बैंकिङ पहुँच विस्तारमा सहयोग पुर्यायो । त्यसरी नै अबका दिनमा नेपालमा ‘खाद्य साक्षरता’ कार्यक्रम सञ्चालन गर्नु जरुरी छ । हामी यसको लागि तयारीमा छौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij