२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज नागपञ्चमीः यी कार्यहरु गर्नुस् नागकाे भय कहिल्यै हुँदैन

आज नागपञ्चमीः यी कार्यहरु गर्नुस् नागकाे भय कहिल्यै हुँदैन

श्रावण शुक्ल पञ्चमीको दिनलाई नागपञ्चमी भनिन्छ । नागको पूजा आराधना हुने यो बर्षदिनभरिको उत्तम दिन हो । प ञ्चमी तिथिका स्वामी नाग भएकाले पनि पञ्चमीका दिन नागको विशेष पूजा गर्नुपर्दछ।

प्रत्येक घरमा नागको चित्र बनाएर वा बजारबाट ल्याएको चित्रलाई प्राणप्रतिष्ठा गरी गोबर लगाएर घरको मुलढोकाको माथि गुरु पुरोहित, ज्वाइँ वा भान्जको हातबाट वैदिक मन्त्र उच्चारण सहित टाँस्न लगाउनु पर्दछ । टाँसिसकेपछि चन्दन, अक्षता,
दुबो, दही, फूल आदि वस्तुले नाग देवताको पूजा गर्नुपर्दछ।

-ज्याे पं विष्णु प्रसाद खनाल

 

नागको पूजा गर्ने विधान हेमाद्रिले यसरी बताएका छन्-

श्रावणे मासि पञ्चम्यां शुक्लपक्षे नराधिप ।

द्ववास्योभयतो लेख्या गोमयेन बिषेल्बणाः।

पूज्येद्विधिवद्वीर दधिदूर्वाङ्कुरैः कुशैः।

गन्धपुष्पोपहारैश्च ब्राह्मणानां च तर्पणैः।

ये तष्यां पूजयन्तीह नागान् भक्तिपुरः सराः।

न तेषां सर्पतो वीर भयं भवति कुत्रचित्।।(निर्णयसिन्धु)

अर्थात् श्रावण मासको शुक्लपक्षको पञ्चमीका दिन ढ‍ोकाको माथि दुवैतिर गाइको गोवरले नागको आकृति लेख्नु वा बनाउनू । यसपछि दही, दुवो, कुश, चन्दन, फूल आदिले पूजा गर्नुपर्दछ । र ब्राह्मणलाई पनि खुसी बनाउनुपर्दछ ।

जसले नागको भक्तिपूर्वक पूजा गर्छ/गराउछ उसको घरमा सर्पको भय कहिल्यै हुँदैन ।

श्रीमद्भागवतका अनुसार रसातलमुनि पातालमा नागलोक रहेको छ । जहाँका राजा नागराज वासुकी हुन्। यसैगरी शङ्ख, कुलिक, महाशङ्ख, श्वेत, धनञ्जय, धृतराष्ट्र, शङ्खचूड, कम्बल, अश्वत्तर, सैदत्त आदि प्रमुख नाग रहेका छन्। ती नागको फणामाथि रहेको चम्किलो मणिले पाताल लोकको अन्धकारलाई नष्ट गरेका छन्। (श्रीमद्भागवत ५/२४/३१)

कश्यपपत्नी कद्रुका गर्भवाट आठ नागको जन्म भएको पैराणिक कथा पनि पाइन्छ। अष्टनागमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शङ्ख पर्दछन्।

अनन्तो वासुकिः पद्मो महापद्मश्च तक्षकः।
कुलीरः कर्कटःशण्खश्चाष्टौ नागाः प्रकीर्तिताः।।(नागस्तोत्रम् श्लोक ३)

कसैले नागका पाँच कुल पनि बताएका छन्। अनन्त, वासुकी, तक्षक, कर्कोटक र पिङ्गल।
अग्नि पुराणमा ८० प्रकारका नागकुल बताइएको छ।
लक्ष्मणजी र बलरामलाई शेषनागको अवतार मानिन्छ। बिष्णुको शय्या पनि शेषनागको रहेको छ। भगवान शंकरको गलामा प्रिय आभुषण पनि नागको रहेको छ,शिवलिङ्गमा पनि 
नाग रहेका हुन्छन् । सनातन धर्म ग्रन्थ अनुसार पृथ्वी शेष नागको शिरमा विराजमान रहेको छ।
सर्वप्राचिन जीव नागजाती हो भन्ने मान्यता पनि रहेको छ। संसारका प्रायः सबै धर्ममा सर्पको उल्लेख भएको पाइन्छ। सम्पत्ति रक्षक पनि नाग हुन् । चार-पाँच हजार बर्ष पहिले नागहरु इच्छाधारी रुप ग्रहण गर्न सक्थे भन्ने मान्यता छ।

नागको संसार अपरम्पार र चमत्कारपूर्ण रहेको छ।

श्रावण महिनामा बढी खनजोत गर्नुपर्ने भएको हुँदा यसरी खनजोत गर्दा नागलाई असर नपरोस् र नागजन्य भय नहोस् भन्नको लागि नागपूजा गरिन्छ। यस दिन नाग देवताको व्रत बस्ने चलन पनि छ। नागको सम्मानस्वरुप यस दिन खनजोत 
गरिँदैन। सर्पसुक्तको पाठले नागजन्य दोष निवारण र सर्पभय पनि रहँदैन भन्ने फल बताइएको छ। यसै गरि श्रीमद्भगवत गीतामा स्पयम् कृष्णले नै नागहरु मध्ये म अनन्त हु भन्ने उपदेश गर्नुभएको छ-
अनन्तश्चास्मि नागानां-(गीता१०/२९) 

विशाल र लामो शरीर भएका नाग वासुकी हुन्। जसलाई समुन्द्र मन्थनको बेला नेती बनाइएको थियो। 

नागको मुखले पनि हाम्रो धार्मिक कार्यमा विशेष प्रभाव पार्छ। त्यसैले नागको मुख कुन महिनामा कता पर्छ विचार गरौँ।

मंसिर,पुस,र माघमा नागको मुख पुर्व पर्दछ। फागुन, चैत र बैशाखमा दक्षिण दिशामा, जेठ,असार, श्रावण महिनामा पश्चिम र भदौ असोज र कार्तिकमा उत्तर दिशामा रहेको हुन्छ। मुखको विपरीत दिशामा पुच्छर हुन्छ। सम्मुख राहु वा नाग शुभ कार्यमा वर्जित छ। 
पौराणिक कथन अनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ 
रोक्नलाई तक्षक नागकै भानिज आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिन देखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ ।
 त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा
 नागको तीनवटा बच्चा मरेकाले नागदेवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँचिन् र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा
 किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाईन्, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाई दिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको भन्ने पाइन्छ । 
यसरी नागपञ्चमी पर्वको सुरुआत भएको हो भन्ने मान्यता रहि आएको छ।
नाग देवता प्राणीमात्रको अक्सिजन हुनुहुन्छ। प्राणशक्ति हुनुहुन्छ। जीवनदायिनी शक्ति हुनुहुन्छ।

त्यसैले उहाँहरुको महत्त्व र महत्ताको सम्मान सबैले गर्नुपर्दछ। देवस्थानिय नागको सम्मान गर्ने पूजा गर्ने हाम्रो लामो परमपरालाई पूर्ण रुपमा पालन गरि आजको दिन र यो बर्षलाई नागदोष र नागभय मुक्त बनाउँ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij