
भरत बुढाथाेकी/काठमाडौँ– नेपाली सेनाले कोभिड-१९ को नियन्त्रण, रोकथाम तथा उपचारका अत्यावश्यक सामाग्री खरिदको जिम्मेवारीबाट अबका दिनमा नलिने भएकाे छ ।
यस सम्बन्धमा निर्णय नै गरिसकेकाे र उक्त निर्णयबारे सरकारलाई समेत जानकारी गराइसकेको छ ।
राष्ट्रिय हितलाई सर्वोपरी ठानेर काम गर्दा पनि आफूलाई नियतबस विवादमा मुछ्ने सिलसिला जारी रहेको भन्दै आगामी दिनमा यस्ता सामग्रीको खरिदको जिम्मेवारी नलिने निर्णयमा नेपाली सेना पुगेको हो। अरु निकायले जसरी सार्वजनिक अभिव्यक्ति सेनाका लागि सम्भव नभएको र नियोजित तरिकाले विवादमा तान्ने सिलसिला जारी रहँदा सेनाको मर्यादामा ठेष पुगेको भन्दै यस्ताे निर्णय लिन सेना बाध्य भएकाे हाे ।
मुलुकमा महामारीले तीब्र रुप लिने संकेत मिलिरहेका बेला स्वास्थ्य सेवा विभाग कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका अत्यावश्यक सामग्री खरिदका बेला अनियमिततामा मुछिएपछि सरकारले त्यस्ता सामग्री खरिदको समन्वयको भूमिका निर्वाह गर्ने दायित्व सेनामाथि सुम्पिएको थियो।
मन्त्रिपरिषद् बैठकले गत वर्ष चैत्र १६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी रक्षामन्त्रालयमार्फत नेपाली सेनाले समन्वय गरी ‘जिटुजी’ विधिबाट कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका अत्यावश्यक सामग्री ल्याउने निर्णय गरेको थियो।
नेपाली सेनाले त्यस्ता सामग्री खरिदका लागि रक्षा मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत विभिन्न पाँच मुलुकलाई पत्राचार गरेकोमा चीन मात्रै ६७ प्रकारका सामग्री दिन तयार भएको थियो।
गत वैशाख ७ गते सेनाले चीन सरकारसँग एक करोड ८४ लाख डलर बराबरको सामग्री खरिदका लागि सम्झौता गरेकोमा अब ७५० क्यूबिक सामग्री मात्रै नेपाल आउन बाँकी छ।
सेनाले हवाईमार्गबाट सामग्री ल्याउँदा तीन लाख ४२ हजार डलर र स्थलमार्गबाट सामग्री ल्याउँदा ४ करोड नेपाली रुपैयाँ बराबरको खर्च विवरणसमेत सरकारलाई बुझाउँदै आगामी दिनमा यस्ता सामग्री ल्याउने दायित्व नलिने निर्णय सुनाएको हो।
अनियमितताको आरोप लागेपछि सेनाले केही दिन अघि मात्रै सामग्री खरिद गरेको मूल्यसूची सार्वजनिक गरेको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij