-राजन प्रसाद पाेखरेल
भनिन्छ, सबै कुराका सकारात्मक र नकारात्मक दुबै पक्ष हुने गर्दछन् । यहाँको विषय छ कोरोना महामारी ले दिएका सन्देश । यसले विश्व आक्रान्त छ । विश्व ठप्प छ । आर्थिक गतिविधि शून्य छन् । यसको प्रभाव केही वर्ष पछिसम्म पनि रहने निश्चित भइसकेको छ । विगत अढाई महिनादेखि हामी नेपाली पनि यही महामारीको डरले सरकारले लगाएको बन्दाबन्दीका कारण घरभित्रै थुनिन बाध्य छौँ । यति हुँदाहुँदै पनि यो महामारीले धेरै कुरा सिकाएको र यसको कारणले हामीले धेरै सिकेको आभास भइरहेको छ । कोरोना महामारीले दिएका २५ सन्देशहरू यस प्रकार रहेको मेरो बुझाइ छ :-
१. हिन्दु संस्कृति विश्वलाई सिकायो :-
हिन्दु संस्कारमा सदियौ अगाडिदेखि चलिआएको नमस्कार गर्ने, च्याप्पै समाएर अङ्कमाल नगर्ने, चुम्बन नगर्ने प्रचलनलाई अमेरिकी राष्ट्रपति, रसियन राष्ट्रपति, इरानी प्रधानमन्त्रीले खुसीसाथ आत्मसात् गरेको पाइयो ।
२. पुर्खाले चलाएका परम्परालाई वैज्ञानिक भनेर पुष्टि गरिदियो :-
मान्छे मर्दा तेह्र दिन कुनामा बस्नुपर्ने (अहिलेको क्वारेन्टाइन), बाहिर कतैबाट घर आउँदा आगो छोएर बच्चा उचाल्ने, गाईको गोबरले घर लिपपोत गर्ने, घरमा तुलसीको मठ बनाएर तुलसी रोप्ने, पेट दुख्दा बेसार पानी खाने जस्ता हाम्रो समाजमा विद्यमान यस खालका परम्परालाई यतिबेला यो महामारीले वैज्ञानिक भएको पुष्टि गरिदिएको छ ।
३. आफ्नो देशको माया गर्न सिकायो :-
विविध बाध्यताले होओस् वा रहरले होओस् वा उस्तै-उस्तै काम भएपनि आफ्नो देशमा गर्नुभन्दा विदेश नै गएर गर्ने भन्ने मानसिकताले विदेशिएका नागरिकलाई आफ्नो देशको महत्त्व कत्तिको हुँदोरहेछ भन्ने कुराको आभास यसले गराएको छ ।
४. कृषि कर्म उत्तम रहेछ भन्ने सिकायो :-
यो महामारीका कारण जनताले जन्मठाउँ सम्झिएर गाउँ गाउँमा आएका छन् भने स्थानीयदेखि प्रदेश र संघीय सरकारले समेत कृषिको बजेट बढाएर कृषकलाई अनुदानको घोषणा गरे । जताततै कृषि क्रान्तिका नारा घन्किन थालेका छन् । बाँझा बारीहरू जोतिन थालिएका समाचार आउन थालेका छन् । यसले देश विदेशमा भएका सबैलाई कृषि कर्म उत्तम रहेछ भन्ने सिकाएको छ ।
५. आत्मनिर्भरताको पाठ बलियो गरि सिकायो :-
यस्ता खालका महामारी जतिबेला पनि आउन सक्ने हुनाले प्रत्येक गाउँ, जिल्ला, प्रदेश र देश आत्मनिर्भर भइएन भने अरूको भर पर्दा जतिबेला पनि मर्नु पर्ने अवस्था आउनसक्ने हुनाले कोरोनाले आत्मनिर्भर हुनुपर्ने पाठ राम्ररी सिकाएको छ ।
६. मांसाहारी होइन शाकाहारी बन्नुपर्छ भन्ने सिकायो :-
वन्यजन्तुुको मासुका कारण यो महामारी फैलिएको अपुष्ट समाचार आइरहेका बेला विश्व स्वास्थ संगठनले पनि वन्यजन्तुको मासुको बिक्रीवितरणमा रोक लगाएको र सर्वसाधारणलाई पनि यसको प्रयोग नगर्न भनेकोले शाकाहारी भोजन नै ठिक हो भन्ने सिकाएको छ ।
७. धनी र गरिबका बिचको भेदभाव हटाइदियो :-
हरेक महामारी वा बिपत्तिले धनी र गरिब भन्दैन । यस्ता बेलामा दुबै सँगसँगै हुने र एकअर्काका दु:खसुख साट्ने अवस्थामा ल्याउने हुँदा यो महामारीले भुकम्पका बेलामा जस्तो धनी र गरिबका बिचको भेदभाव छोटो समयका लागि भएपनि हटाएको आभास भएको छ ।
८. जिउँदै हुँदा सकेको सेवा गर : मरेपछिको रुवाइको कुनै अर्थ हुँदैन भन्ने पाठ सिकायो :-
कोही आफन्तको कोरोनाका कारणले मृत्यु भयो भने सो शवलाई हेर्न, छुन र आफ्नो परम्परा अनुसार सदगद गर्न, आफन्त गुमाउँदाको पीडा पोख्न पनि नपाइने हुनाले मरेपछि रोइकराइ गर्नुभन्दा जिउँदो हुँदै सेवा गर्ने पाठ पनि यसले सिकाएको छ ।
९. भिडभाड र उच्छृङ्खलताबाट बच भनेर सिकायो :-
यसै पनि भीड भन्नाले उत्तेजित र उच्छृङ्खल जत्था बुझिन्छ । यसो हुनाले कोरोनाले सामाजिक दुरी कायम राख्ने नियम ल्याएर त्यसबाट टाढै रहने पाठ सिकाएको छ ।
१०. धुवाँ धुलो खाँदै घण्टौं लाइनमा बसेर गरिने कामलाई घरमै बसेर गर्न सिकायो र त्यस खालका प्रविधिको विकास गराइदियो :-
मोबाइल वा विभिन्न प्रविधिको प्रयोगबाट हाम्रा दैनन्दिन कामलाई घरमै बसीबसी झन्झटमुक्त तरिकाले गर्न सिकाएको छ भने त्यस खालका प्रविधिको विकास गर्न पनि योगदान पुर्याएको छ ।
११. पेपरमा आधारित कामलाई डिजिटलमा आधारित बनाइदियो :-
हाम्रा परम्परागत कागजी कामलाई यो महामारीले डिजिटलमा परिवर्तन गरिदिएको छ ।
१२. प्रविधिको वास्तै नगर्ने वा भनौं प्रविधिको थाहै नहुने वा त्यसको प्रयोग गर्नै नखोज्नेलाई पनि थाहा हुने बनाइदियो :-
हिजोका दिनमा विश्व बजारमा आविष्कार भएका विभिन्न प्रविधिको प्रयोगबाट टाढै रहेको पुरानो पुस्तालाई पनि समयको छालसँगै हिड्न बाध्य पारेको छ अर्थात् प्रविधिसँग जोडिन सिकाएको छ ।
१३. अनावश्यक खर्च गर्ने बानीमा सुधार ल्याइदियो :-
यो महामारीले अनावश्यक खर्चमा सुधार ल्याएको छ, किनकि एकातिर हामी साथीहरूसँग हुँदा आवश्यक नै नभएका खर्च गरिन्थ्यो र सो खर्चका कारण अहिले बचत नगर्दा दुई तीन महिना पनि बाँच्न गाह्रो भएको छ । अनावश्यक खर्च कटौती गरी भैपरी आउने समस्याका लागि तयारी गर्न र भएको बेला बचत गर्नुपर्दो रहेछ भन्ने पाठ यो कोरोनाले सिकाएको छ ।
१४. परिस्थितिसँग डटेर जुध्न सिकायो :-
घर परिवार नभनी जतिबेला पनि अफिस भन्ने बानी परेका हामीलाई यतिका समय घरभित्रै थुनिएर बस्नु पर्दा पनि ठिकै छ भनी यसलाई सहज रूपमा लिएका हुनाले जस्तो परिस्थितिमा पनि डटेर जुध्नुपर्छ भन्ने पाठ यसले सिकाएको छ ।
१५. प्रकृति र प्राकृतिक वातावरणको महत्त्व सिकायो :-
कृत्रिमताको पछि लाग्ने मानिसहरूको भीडलाई प्रकृति बचाउन पर्दो रहेछ र मानव वा सम्पूर्ण जीवित प्राणीका लागि प्राकृतिक वातावरणको महत्त्व निकै रहेछ भन्ने पाठ सिकाएको छ ।
१६. परिवारमा एकअर्कालाई बुझ्ने वातावरण बनाएर पारिवारिक एकतालाई मजबुत बनाइदियो :-
हिजोका व्यस्त दिनमा परिवारकै सदस्यमध्ये एकले अर्कोलाई बुझिएन वा बुझ्ने कोसिस भएन तर यति लामो घरको बसाइँले परिवारलाई राम्ररी बुझ्ने अवसर प्रदान गरेको छ ।
१७. सरसफाइको महत्त्व बुझाइदियो :-
कम्तीमा बीस सेकेन्ड मिचिमिचि हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, शौचालय र स्नानकोठा राम्ररी सफा गर्ने, हात अनावश्यक रूपमा नाक, मुखमा लैजान नहुने कुरा सिकाएर सरसफाइको महत्त्व बुझाइएको छ ।
१८. परिवारका सदस्यहरूको पीर, मर्का र बाध्यता सबैले बुझ्ने मौका जुटाइदियो :-
घरका परिवारमा भएका सदसयहरू जस्तै बुबाको काम, भूमिका र समस्या, आमाको महत्त्व र परिवारमा उनको भूमिका र समस्या, छोराका समस्या, छोरीका समस्या आदि बारेमा बुझ्ने मौका जुटाइदियो ।
१९. जीवनको महत्त्व बुझाइदियो :-
एकदिन नेपाल बन्द हुँदा सबै नासियो भन्दै बाह्र हात उफ्रने सबैलाई कोरोना सुरु भएपछि प्रायः देशै ठप्प बनाएर, व्यवसाय बन्द गरेर बस्नुपर्ने अवस्थामा पुर्याएको मानिसको जीवनको महत्त्वकै कारणले हो । यसबाट जीवन कति महत्त्वपूर्ण रहेछ भन्ने कुराको आभास सबैलाई भएको छ ।
२०. कुलत, कुसंस्कारमा लाग्ने वातावरणबाट जोगाइदियो :-
यो बन्दाबन्दीको समय नभइदिएको भए यो समयमा कति युवाहरू कुलतमा फसिसक्थे । घरमै बसेकाले यसमा धेरै कमी ल्याई युवालाई कुलत, कुसंस्कारमा लाग्ने वातावरणबाट जोगाइदियो ।
२१. पुस्तान्तरलाई कम गराइदियो :-
छोराछोरी प्रविधिमैत्री भइसकेका तर बुबाआमाको पुस्ता यसबाट टाढै भएको वा छोराछोरीका काम, व्यवहार तथा बुबाआमाका काम, व्यवहार एकअर्कालाई मन नपर्ने अवस्थाबाट केही हदसम्म भएपनि एकअर्काका समस्या वा भावना बुझ्ने अवसर यो महामारीले दिएकोले थोरै भएपनि पुस्तामा रहेको ग्यावलाई कम गराइ दिएको छ ।
२२. घरेलुु सीप सिक्ने अवसर जुटाइदियो :-
क्वारेन्टाइनमा बसेका कतिपय नेपालीहरूले डोका, मान्द्रा बुन्न सिकेको, हामीले पनि घरमा आवश्यक पर्ने तर घरमै बनाउन सकिने कतिपय वस्तुहरू आफैंले बनाएर काम चलाउन (अर्थात् अड्कोपड्को तेलको धुप) सिकाएकोले घरेलुु सीप सिक्ने अवसर जुटाइदिएको छ ।
२३. समयको महत्त्व बुझाइदियो :-
आम मानिसका के-के सपनाहरू थिए । कसैलाई व्यवसाय डुब्ला कि भन्ने चिन्ता, कसैलाई अरुको भन्दा अब्बल बनाउने चिन्ता, विद्यार्थीहरूलाई देश विदेश पढ्न जाने र आफ्नो ज्ञानको अब्बलता देखाएर चर्चित हुने चिन्ता, कसैलाई घरका छोराछोरीलाई बिहान साँझ कसरी खुवाउने भन्ने खालका यस्तै यस्तै चिन्ताले सताएको छ र यसरी सताउने समय सबैलाई कति महत्त्वपूर्ण र बलियो हुँदो रहेछ भन्ने सिकाएको छ ।
२४. आवश्यक पर्दा सहयोग गर्नुपर्छ भन्ने सिकाइदियो :-
यो महामारीको समयमा आफूले नखाएर भएपनि, दु:खीहरूको चुलो बालिदिन लागि परेका थुप्रै व्यक्ति, संघ, संस्थाहरूका सहयोगी मनहरू पनि देख्न पाइयो । मानिसमात्रै नभएर पशुपति, स्वयम्भू लगायतका स्थानहरूमा बादत, कुकुर, परेवा आदिलाई पनि समस्या पर्ने रहेछ भन्ने ज्ञान दिएर आवश्यक पर्दा सहयोग गर्नुपर्छ भन्ने पाठ आम मानिसलाई सिकाएको छ ।
२५. ”संघौ शक्ति कलियुगे” व्यवहारमै प्रमाणित गरिदियो :-
यो कलियुगको नारा हो । यसको अर्थ कलियुगको शक्ति नै संघ वा एकता हो । यो महामारीका बेलामा संघ वा संस्थाहरूले मानवीय उद्दारका कामहरू धेरै गरेको देखियो । सम्पर्क भएका र संघ संस्थामा आबद्ध व्यक्तिहरूले मानवीय सहयोग नपाएर तड्पिनु परेको अवस्था तुलनात्मक रूपमा कम भएको पाइएको छ । यो उक्ति वा भनाइलाई यो महामारीले अझै मजबुत र अत्यावश्यक हो भन्ने प्रमाणिात गरिदिएको छ । किनकि कैयौं समयदेखि हराएको सार्क राष्ट्रलाई त एउटै मञ्चमा ल्याएर त्यसको आवश्यकताको महसुस गराइदियो । त्यसैले आम मानिसलाई कुनै न कुनै संघ संस्थामा आबद्ध हुनुपर्दो रहेछ, आफूले सक्ने बेलामा सहयोगी भावना राख्नुपर्दो रहेछ भन्ने पाठ पनि सिकाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij