लन्डन । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने भएको छ । पहिलोपटक बर्मा र युएईबाट नेपाली फर्काउन सुरु गर्ने भएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफलपश्चात सरकारले नेपालीलाई स्वदेश फर्काउन सुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले बताए ।
संघले नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली तथा उपप्रधान मन्त्री ईश्वर पोख्रेलसँग समेत पटकपटक छलफल गरेको थियो । मन्त्रीद्वयले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई जतिसक्दो चाँडो उद्धार गर्ने प्रतिबद्धता एनआरएनएसँग जनाएका थिए ।
भोलिबाट सुरु हुने उद्धार कार्यले अर्को हप्ताबाट तीव्रता लिने र पहिलो चरणमै करिब ४० हजार नेपालीलाई स्वदेश फर्काउने सरकारको तयारी रहेको छ ।
लामो समयसम्म विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्कन सुरु हुने भएसँगै संघका अध्यक्ष पन्तले खुसी व्यक्त गरे ।
नेपालीलाई स्वदेश फर्काउने कार्यमा गैरआवासीय नेपाली संघले सक्दो सहजीकरण गर्ने संघका सबै राष्ट्रिय समन्वय समिति (एनसिसी) हरुलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । संघले विश्वभर छरिएका नेपाली दूतावाससँग सहकार्य गर्दै नेपालीको फिर्तिको लागि सहयोग गर्न सबै शाखालाई गत हप्ता नै निर्देशन दिएको थियो ।
पहिलोपटक बर्माबाट २६ जना र संयुक्त अरब इमिरेट्सबाट २ सय ५० जना नेपालीलाई स्वदेश फर्काउने तयारी भएको अध्यक्ष पन्तको भनाइ छ ।
अध्यक्ष पन्तले विदेशमा अलपत्र परेका सबै नेपालीलाई धैर्य गर्न र एकअर्कालाई सहयोग गर्नसमेत आग्रह गरे । यसअघि संघका विदेशस्थित शाखाहरुले नेपाल फर्कन चहानेको तथ्यांक संकलन गर्दै आएका छन् ।
तथ्यांक अनुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची तयारी अवस्थामा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij