सन्नि केसी, संयोजक, मूल्य निर्धारण समिति, नेपाल बोतल वाटर उद्योग संघ
नेपालमा सञ्चालनमा रहेका पानी उद्योगहरुले उपलब्ध गराउने पानीको मूल्य उद्योगीले उद्योगबाट उपलब्ध गराउने पानी उपभोक्ताले तिर्ने पानीको मूल्यमा निकै ठूलो अन्तर छ । यसलाई व्यवस्थित गरी सुलभ दरमा उपभोक्ताको पहुँचमा पिउने पानी पुर्याउने योजना बमोजिम हामी व्यवसायीहरुले काम गरिरहेका छौं ।
नेपालमा अहिलेको अवस्थामा बोतलमा उपलब्ध पानीको खुद्रा मूल्य २० देखि २५ सम्म पर्ने गरेको छ । तर उद्योगीहरुले यसको आधा भन्दा पनि कम शुल्कमा व्यवसायीलाई उपलब्ध गराउँदै आएका छन् । यसलाई संयोजन गरेर सुलभ दरमा उपभोक्तासम्म पानी पु¥याउने कार्यमा नेपाल वोतल वाटर उद्योग संघले अहिले काम गरिरहेको छ ।
मूल्य समायोजनको उद्धेश्यः
अहिले बजारको कारण सृजना भएको उच्च मूल्यको मारमा उद्योग आफैं पनि परेका छन् । बढी मूल्य तिर्नुपर्दा उपभोक्ता पनि ठगिएका छन् । यसलाई न्यूनीकरण गर्न सके दुवै पक्षलाई फाइदा हुने र व्यवसायीलाई पनि निश्चित मुनाफा लिन सक्ने व्यवस्था मिलाई अप्ठ्यारो नपर्ने अवस्था सृजना हुन सक्छ ।
वोतलको मूल्य १५ रुपियाँ कायम गर्ने तयारी
अहिले हामीले तत्काल प्रति बोतल १५ रुपियाँमा पानी उपलब्ध गराउने योजना बमोजिम हामीले काम गरिरहेका छौं । पहिलो चरणमा हामीले बोतलको पानीलाई लक्षित गरी काम गरिरहेका छौं । दोस्रो चरणमा जारमा उपलब्ध पानीमा समेत मूल्य समायोजन गर्ने तयारीमा हामी छौं ।
पहिलो चरणमा काठमाडौं भित्र मूल्य समायोजन गरिने
नेपालका सबै क्षेत्रमा नै सहज रुपमा र सुलभ दरमा पानी उपलब्ध गराउने योजना हामीले छौं । यद्यपि नेपालको अहिलेको परिप्रेक्ष्यमा शहर देखि ग्रामीण क्षेत्र सम्मै विस्तार भइसकेको पानी उद्योगमा एकैपटकमा सबै क्षेत्रमा एउटै दरमा पानी उपलब्ध गराउन गाह्रो हुन सक्ने कुरालाई विचार गर्दै पहिलो चरणमा उपत्यका भित्र यो व्यवस्था गर्न लागेका छौं ।
सुगम क्षेत्र र दुर्गम क्षेत्रमा एकै किसिमको परिस्थिति नभएको अवस्थामा दुर्गम क्षेत्रमा पानी उपलब्ध गराउन उद्योगीलाई पनि एकैपटकमा सहज नहुन सक्छ । यसलाई विचार गर्दै हामीले सोही बमोजिम प्राथमिकताको आधारमा पानीको मूल्यमा एकरुपता ल्याउने योजना बनाएका हौं ।
तथ्याङ्कमा व्यवसायीहरु
अहिले नेपालमा जार र बोतलबाट पानी उपलब्ध गराउने १ सय ७५ उद्योगीहरु रहेको बोतल वाटर उद्योग संघको तथ्याङ्क छ । हामीले नेपाल वोतल वाटर उद्योग संघको संलग्नतालाई आधार मानेर यो अनुमान गरेपनि ठ्याक्कै यति नै व्यवसायीहरु छन् भन्ने यकिन आधार भने छैन । संघमा दर्ता नभएका समेत गर्दा उद्योगी यो भन्दा माथि नै रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
तथ्याङ्कको आवश्यकताः
विगतमा हाम्रो संघले पूर्ण तथ्यांकको आवश्यकता महसुस नगरेको र अन्य निकायहरुले समेत यकिन तथ्यांक संकलन नगरेको कारण नेपालमा अहिलेको अवस्थामा यति नै उद्योगी व्यवसायीले काम गरिरहेका छन् र यति मात्रामा नै रोजगारी सृजना हुन सकेको छ भन्ने कुरा अनुमान गर्न सकिएको छैन । हामीले विगतमा प्रति कम्पनी कति व्यक्तिले काम गरिरहेका छन् भन्ने कुरा यकिन नगरिएकोमा अबका दिनमा भने सबै कम्पनीले आ–आफ्नो कम्पनीमा उपलब्ध कामदार कर्मचारीको तथ्यांक संकलनको काम अघी बढाईंदैछ ।
को हुन् सन्नि केसी ?
करिब १ दशक देखि पानी उत्पादन क्षेत्रमा संलग्न रहेर काम गर्दै आइरहेका जागरुक युवा उद्यमी हुन् । हाल उनले पाटन औद्योगिक क्षेत्रबाट ‘वाटर किङ’ ब्राण्डमा पानी उपलब्ध गराउँदै आएका छन् । लकडाउन भन्दा पहिले सम्म बजारीकरण बाहेक नै दैनिक १३ जनालाई नियमित र थप २६ लाई ज्यालादारी सिष्टममा काममा लगाउँदै आएका उनी अबका दिनमा थप सङ्ख्यामा रोजगारी सृजना गर्ने योजना बमोजिम आफ्ना गतिविधिहरु अघी बढाइरहेका छन् । अहिलेको लकडाउनको अवस्थामा भने यस कम्पनी मार्फत अहिले केवल ७ जना कर्मचारी मात्र परिचालन गरेर पानी प्रशोधन कार्य गरिँदै आइएको छ ।
पानी उद्याेगमा लगानी र रोजगारीः
यस क्षेत्रमा अहिले निकै ठूलो रकम लगानी भइसकेको छ । नेपालमा लगानी र रोजगारी सृजनाको हिसाबले उच्च २० कम्पनीहरु भित्र पानी उद्योग पनि पर्ने अनुमान हाम्रो छ । साथै यस क्षेत्रमा करिब ३ अर्ब रकम भन्दा बढी बराबरको लगानी भएको अनुमान हामीले गरेका छौं । नेपालमा विभिन्न क्षमताका पानी उद्योगहरु सञ्चालनमा रहेका छन् । समग्रमा पानी उद्योग सञ्चालनको लागि अधिकांशमा कम्तीमा १ करोड रकम लगानी भएको छ ।

अन्त्यमा,
कोरोना संकटले हामी व्यवसायी लगायत सबै व्यक्तिहरुलाई नयाँ सम्भावना बारे सचेत समेत गराएको छ । अहिले देश र विश्वलाई नै कोरोना निकै ठूलो झड्का बन्न पुगेको छ । यस्तो अवस्थामा पनि व्यवसायीहरु निराश नभई निरन्तर सेवामा खटिनु जरुरी छ । अबका दिनमा हामीले पानी उद्योगको लागि नयाँ प्रविधि र पूर्वाधार सहित गतिविधि अघी बढाउनुपर्ने जरुरी समेत देखिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij