
हाम्रो धर्मग्रन्थअनुसार होस् वा संस्कृती हस्तान्तरणका क्रममा हामीले धेरै सकारात्मक धारणाहरु विकास गर्दै आइयो । यस विषयका ज्ञाताहरुले धेरै बोल्नुहोला तर सानो छँदा देखेको, केही अनुभव गरेको, केही अध्ययन गरेको र जीवनको बहावसँगै बगिरहँदा हिन्दु धर्मशास्त्रमाथि भएको गौरव र आनन्दको अनुभव आजको कोरोना महामारीको समयमा सान्दर्भिक हुन गएको छ । हालको विश्व महामारी र त्यसबाट बच्न दिइएका निर्देशनहरु ठ्याक्कै मेल खाएको देख्दा मनको केही बहावसँगै कलम उठाउन मन लाग्यो ।
बेलुका चाँडै सुती बिहान चार घडी रात अर्थात लगभग ९६ मिनेट रात छँदै उठेर नुवाइधुवाइ लगायतका नित्यकर्म सकेर शुद्ध भई गीता पाठ वा अन्य कुनै योग, ध्यान, जप वा वैदिक नियमअनुसारका कर्म गर्न निर्देशन गरिएको छ । यसबाट कोरोना निस्तेज पार्न शारीरिक र मानसिक रुपमै तयार हुन सकिन्छ । योग र प्रणायामका विधिहरुले शरीरका भित्री अङ्गहरु एवं अन्तःकरण शुद्धिकरण गराउने हुँदा शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राखी तन र मन दुवैैबाट रोग प्रतिरोधात्मक क्षमता समेत विकास गराउँदछ । साथै यसबाट बाह्य रुपमा भौतिक संसारको भौतिकवादलाई अपनाउँदै आध्यात्मिक प्रगति समेत गर्न सकिन्छ । यसबाट मानसिक रुपमा शान्ति प्राप्त भइ अनावश्यक डर र त्रासबाट मुक्ति समेत पाउन सकिन्छ ।
हाम्रो धर्मशास्त्र अनुसार गरिने आतिथ्यता विशिष्ट प्रकारको छ । पारिवारिक रुपमा गरिने सत्कार अन्तरगत साष्टाङ्ग दण्डवत्, नमस्कार वा ढोगमा शारीरिक भन्दा पनि मानसिक र आध्यात्मिक मिलन हुने कुरा वैज्ञानिक रुपमा नै प्रमाणित भइसकेको छ ।
हाम्रो खाना खाने भान्साघर अलग्गै र घरको भित्री भागमा हुनुपर्ने, भान्सेले खाना पकाउन वा खुवाउन जाँदा बाहिरको लुगा फेरी नुहाइधुवाइ गरी शुद्ध हुनुपर्ने, भोजन गर्ने मानिसले पनि शुद्धताको नियम पालन गर्नुपर्ने, खाना खाँदा कुराकानी गर्न नहुने, त्यहाँ पनि दुरी कायम गरिनुपर्ने जस्ता नियमहरुको सान्दर्भिकता अहिलेको कोरोना संक्रमणले झनै प्रमाणित गरिदिएको छ ।
हाम्रो वैदिक शिक्षा गुरुकुलमा सानो समुहमा दिइन्थ्यो, जहाँ अहिलेको जस्तो शुल्क र प्रतिष्पर्धामा होइन आचरण, संस्कार र व्यवहारमा जोड दिइन्थ्यो । सकेजति दक्षिणामा तृप्त हुने गुरूहरुले शिष्यहरुलाई सङ्कटको समयमा आफ्नो शरीर भन्दा माथि उठेर कर्म गर्नुपर्ने प्रेरणा र व्यवहार सिकाउँथे । अर्को कुरा शिक्षा सबैले बिना सर्त लिन पाइन्थ्यो तर जसले त्यसमा पुर्णता पाउँथ्यो उही नै बाह्मण कहलिन्थ्यो ।
बाहिरबाट आएको व्यक्ति घरभित्र जानुअघि शुद्ध हुनुपर्ने तथा बालबच्चालाई छुनुअघि आगो छोई शुद्ध हुनुपर्ने नियम हाम्रो वैदिक काल देखि नै चलेको पाइन्छ ।
खानामा पनि एकै प्रकारको खाना एकैदिन दुईपटक ग्रहण गर्न बन्देज गरेको पाइन्छ । जसको अर्थ सबै पौष्टिक तत्वको सन्तुलन मिलाएर रोगबाट मुक्त रहने हुनसक्छ । साथै विशेष दिनहरुमा उपवास बस्नुपर्ने नियमले हाम्रो पाचन प्रणालीमा भाग लिने अंगहरुलाई तन्दुरुस्त राखी स्वस्थ रहन मद्दत पुर्याउँछ ।
अहिले आएर विश्व स्वास्थ्य संगठनले समेत प्रतिरक्षात्मक क्षमता तथा आयुर्वेदिक उपचारलाई नै विशेष जोड दिएको छ । जुन हाम्रो वैदिक कालमा नै ऋषिमुनिहरुको योगध्यानको माध्यमबाट प्राप्त गरेका थिए ।
त्यसैले अल्छी नगरौं, आ–आफ्नो धर्मको पालना गरौं, स्वस्थ रहौं, भौतिक |प्रगतिको साथसाथै आध्यात्मिक जीवनशैली जिउने प्रयत्न गरौं । यसबाट नै हाम्रो जीवनले सार्थकता प्राप्त गर्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij