
अहिलेको लकडाउनको कारण नेपालका निजी शैक्षिक संस्थाहरु निकै नै प्रभावित भएका छन् । हुनतः अहिलेको यस परिस्थितिको प्रभाव शिक्षा क्षेत्रमा मात्र सीमित छैन । तैपनि शिक्षा दिगो महत्वको विषय भएको कारण शिक्षा क्षेत्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने अन्य कुनै उपाय पनि हामीसँग हुँदैनन् । शिक्षा क्षेत्रमा परेको प्रभावले हाम्रा बालबालिकाको उज्ज्वल भविष्यलाई दूरगामी असर पार्छ ।
हुनतः अहिलेको यस सङ्कटले नेपालका सबै किसिमका उद्योग व्यवसाय तथा जनजीवनमा प्रभाव पारेको छ । तैपनि शिक्षा क्षेत्रमा पारेको प्रभाव अन्यसँग तुलना गर्न सकिँदैन । अहिले नेपालका सञ्चालनमा रहेका उद्योगहरुमा पनि यस सङ्कटले निकै ठूलो नोक्सानी पारेको छ । त्यसमा कुनै शङ्का छैन । यद्यपि यस्ता उद्योग एवं व्यवसायहरुमा अवस्था सहज भएपश्चात् हामीले नयाँ प्रविधिबाट काम गरेर वा थप प्रयत्न गरेर उत्पादन बढाउन सकिने अवस्था रहला । तर शिक्षा क्षेत्रमा|त्यस्ताे सम्भावना रहँदैन ।
बालबालिकाको शिक्षणसिकाई प्रक्रिया नियमित हुनसके मात्र प्रभावकारी बन्न सक्छ । यसलाई निरन्तर प्रवाह गर्नसकेमात्र हामीले दीर्घकालिन रुपमा अपेक्षाकृत नतिजा हात पार्न सक्छौं । तर हामीले यसरी लामो समय सम्म शिक्षणसिकाइ क्रियाकलापन सञ्चालन गर्न नसक्दा त्यसले निकै नै अप्ठ्यारो अवस्था सृजना गरेको छ ।
शिक्षणसिकाई क्रियाकलापमा उमेरले समेत प्रभाव पार्छ । जुन उमेर समूहका विद्यार्थी छन्, सोही बमोजिमको शिक्षा दिन सकिएन भने त्यो शिक्षणसिकाई क्रियाकलाप प्रभावकारी नबन्न सक्छ । हाम्रो परिप्रेक्ष्यमा नयाँ शैक्षिक सत्रको लागि शुरुवात हुने शैक्षिक कार्यक्रम वैशाखको शुरुवात (१०-१२ गते सम्म)मा नै सञ्चालन हुन्थे । परिस्थिति सहज नभएको अवस्थामा वैशाखभरीमा सञ्चालन हुनसकेको खण्डमा हामीले कोर्ष कभर हुने गरी अध्ययन गराउन सक्छौं भन्ने हामीले अनुमान गरेका थियौं । तर त्यो अवस्था रहेन । हामीले अपेक्षा गरेबमोजिम त्यो अवस्था सृजना हुन नसकेपनि अब भने तत्काल नै जुन माध्यमबाट जसरी सम्भव हुन्छ, त्यसरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नु निकै नै जरुरी भएको छ ।
अबको दायित्वः
अहिलेको अवस्थामा नेपालका शैक्षिक संस्थाहरुमा भौतिक रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिने अवस्थामा भर्चुअल माध्यमबाट शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता छ । यसको लागि टेलिफोन, अनलाइन माध्यमको प्रयोग, रेडियो, टेलिभिजन, वेभसाइट, एप्स लगायतका माध्यमहरु हुन सक्छन् । यी माध्यमबाट जसरी हुन्छ अभिभावकको समन्वयमा बालबालिकाहरुलाई विद्यालयसँग जोडेर नयाँ तवरले शैक्षिक कार्यक्रम सञ्चालन गर्नु अहिलेको मुख्य आवश्यकता बनेको छ ।
भर्चुअल माध्यम नै उपयुक्त विकल्प
अन्य माध्यमहरुबाट अध्ययन गर्न नसकिने अहिलेको अवस्थामा भर्चुअल कक्षा नै सबैभन्दा प्रभावकारी र उपयुक्त माध्यम बन्न सक्छ । यस सम्बन्धमा नेपाल सरकारले सोही बमोजिम हामीलाइ पनि शैक्षिक कार्यक्रम सञ्चालनकाे लागि निर्देशन गर्नुपर्ने हाे त्याे हुन सकेकाे छैन ।
कतिपय विद्यालयहरुले अहिले नै पनि विभिन्न भर्चुअल माध्यमबाट अध्ययन अध्यापन गराउँदै आएका छन् । ती संस्थाहरुलाई प्रोत्साहित गर्दै अन्य शैक्षिक संस्थाहरुलाई पनि सोही बमोजिम अध्यापन गर्ने वातावरण मिलाउनु नै अहिलेको लागि उपयुक्त विकल्प बन्न पुगेको छ ।
अनलाइन कक्षाका समस्याहरुः
नेपालको लागि भर्चुअल अथवा अनलाइनमा आधारित कार्यक्रम नयाँ हो । यसकारण शुरुका दिनमा नै यो त्यति प्रभावकारी नदेखिन सक्छ । सबैको पहुँचमा इन्टरनेट पुगेको छैन । शिक्षकहरु पनि नयाँ कार्यक्रम भएको कारण यस किसिमका शैक्षिक कार्यक्रम सञ्चालनमा अभ्यस्त हुनुहुन्न । कसरी भर्चुअल माध्यमबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भन्ने सम्बन्धमा विद्यालय व्यवस्थापन पक्ष अन्यौलमा छ । सबै विद्यार्थी एवं शिक्षकहरुसँग स्मार्टफोन वा ल्यापटप नहुन सक्छ ।
बजार बन्द रहेको कारण हामीलाई आवश्यक उपकरणहरु तत्काल जुटाउन सकिने अवस्था छैन । आर्थिक व्यवस्थापनको लागि समेत परिस्थिति असहज छ । सबै बालबालिका र अभिभावकहरु अहिले शहरी क्षेत्रमा मात्रै हुनुहुन्न । ठूलो हिस्सा आफ्नै गाउँमा फर्कनुभएको पनि छ । यसको अलावा प्रविधिको प्रयोग अपरिहार्य भइरहँदा सूचनाप्रविधि क्षेत्रमा कार्यरत व्यक्ति र कम्पनीहरुसँग हाम्रा आवश्यकता बमोजिमका सफ्टवेयर, वेभसाइट र एप्सहरु विकास गर्नको लागि समेत हामीले छलफल गर्न सकेका छैनौं ।
यी विभिन्न वाधाअवरोधको वावजुद पनि हामीले जुन–जुन तरिकाबाट हुन्छ, हाम्रा शैक्षिक कार्यक्रमलाई अघी बढाउनैपर्ने छ । अनलाइन तथा भर्चुअल माध्यमबाट कक्षा सञ्चालनमा थुप्रै वाधाव्यवधानहरु हुँदाहुँदै पनि अबका दिनमा यसरी बालबालिकालाई शैक्षिक कार्यक्रम सञ्चालन गर्नको लागि विद्यालय व्यवस्थापन पक्ष एवं शिक्षकहरुको अलावा अभिभावकहरु समेत निकै सक्रियता सहित शिक्षणसिकाइ क्रियाकलापमा संलग्न हुनु जरुरी छ ।
उपलब्ध स्रोत र साधनको प्रयोगबाट नै हाम्रा गतिविधि सञ्चालन गर्नुपर्ने बाध्यता हाम्रो सामु छ । यसरी विना प्रविधि, बिना पुर्वाधार र बिना तालिम अर्चुअल शिक्षाको क्रममा शुरुमा यसको प्रभावकारिता नगण्य देखिन सक्छ । त्यो स्वभाविक पनि हो । यद्यपि हामीसँग अन्य विकल्प समेत नभएको अवस्थालाई यी र यस्तै विधिलाई अवलम्बन गर्नु नै उत्तम उपाय हुन सक्छ ।
जटिल परिस्थिति र पूर्वतयारीको अभावः
अहिलेको परिस्थिति हामी सबैको लागि जटिल परिस्थिति हो । नेपालको परिप्रेक्ष्यमा अन्य देशहरुको तुलनामा केही समयको अन्तरालपछि मात्रै प्रवेश गरेको यस कोरोना भाइरसको असर बारे हामीले पूर्व अनुमान गर्न नसक्दा अहिले यो अवस्था भोग्नुपरेको छ । नेपालमा यसको असर अत्यन्तै न्यून पर्ला भन्ने सोचले शुरुका दिनमा हामीले अन्य विकल्पहरु खोज्न तर्फ हामी लाग्न सकेनौं । यस्तो अवस्थाको बारेमा पहिले नै सोच्न सकिएको भए हाम्रा शिक्षक र बालबालिका एवं अभिभावकहरुलाई समेत सोहीबमोजिम आवश्यक तालिमहरु सञ्चालन गर्न सकिन्थ्यो होला, तर त्यसो हुन नसक्दा हामीले अहिलेको अवस्थामा घरमा नै फुर्सदिलो भइ रहनुपरेको छ ।
यद्यपि अब हामी यस परिस्थितिबाट चिन्तित नभई सुरक्षित तवरले हाम्रा गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता छ । अब हामी पुनः नयाँ ऊर्जा सहित पृथक तवरले काममा फर्किनुपर्ने आवश्यकता छ । शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढाउनको लागि समेत यो अवसर हाम्रो लागि उपयुक्त मौका बनेको छ । यसलाई खास मौकामा बदल्नको लागि नेपाल सरकारबाट प्रयाप्त सहयोगको आवश्यकता छ ।
सरकारको दायित्वः
हामी निजी विद्यालयहरुले यसै कुरालाई विचार गर्दै विभिन्न भर्चुअल माध्यमबाट शैक्षिक कार्यक्रम सञ्चालन प्रयाश गर्दा हाम्रो अभिभावकीय भूमिकामा रहेको शिक्षा तथा स्वास्थ्य उपसमितिले यसरी भर्चुअल माध्यमबाट शैक्षिक कार्यक्रम सञ्चालन नगर्नको लागि आग्रह गर्यो । त्यसबाट हामीमा निराशा उत्पन्न भयो । यद्यपि अब भने नेपालमा सञ्चालित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षालाई प्रविधि र अनुसन्धानसँग जोड्नको लागि विशेष पहल गर्नु जरुरी छ । जुन हाम्रो अहिलेको आवश्यकता हो ।
अबको परिप्रेक्ष्यमा अनलाइन तथा भर्चुअल कक्षाको विकल्प छैन । यसकारण अनलाइन कार्यक्रम प्रवद्र्धनमा नेपाल सरकारले नै सक्रियता देखाउनु जरुरी थियाे । त्याे हुन नसक्नु दुखद हाे ।
बजेटमा सम्बोधन भएनन् हाम्रा पीडा
हामी निजी विद्यालयहरु अभिभावकले तिर्ने शुल्कमा निर्भर रहँदै आएका छाैं । यद्यपि लामो समयको लकडाउन र विद्यालयहरु बन्द हुँदा पनि हामीले विद्यालय भवनभाडा, शिक्षक कर्मचारी तलब, सरकारी राजस्व लगायतका शुल्कहरु भने घटाउन सक्ने अवस्था रहँदैन । यस्तो अवस्थामा उक्त आर्थिक व्यवस्थापन कसरी गर्ने भन्नेमा बजेट मार्फत हामीले अपेक्षा गरेका थियौं । तर त्यस किसिमको अपेक्षामा भने बजेटले सम्बोधन गर्न सकेको छैन ।
निजी विद्यालयहरुले पुर्याएको योगदान, स्व–पुँजी परिचालन, स्वरोजगारीसृजना, अभिभावकहरुमा पुर्याएको सहयोग, ग्रामीण तथा दुरदराजमा निजी विद्यालयहरुको पहुँच विस्तार जस्ता विविध पक्षबाट हामीले पुर्याेएको सहयोगलाई सरकारले बजेट मार्फत नजरअन्दाज गर्नु दुखद कुरा हो । लामो लकडाउनले विद्यार्थीहरूलाई पर्ने मानसिक असर समेतलाई विचार गर्दै त्यस उपयुक्त समाधान दिन हामी निजी विद्यालय प्रतिनिधिहरु पटक–पटक उपप्रधानमन्त्री, शिक्षामन्त्री, अर्थमन्त्री लगायतका सम्बन्धित निकायहरुलाई हाम्रो अवस्था, बजेटमा सम्बोधन गरिनुपर्ने कुरा र उपयुक्त विकल्प सम्बन्धमा पटक–पटक जानकारी गराएपनि त्यसको सम्बोधन हुन सकेन । यसमा हामी दुखी छाैं । साथै बजेटले निजी विद्यालयका समस्याहरुमा बेवास्ता गरेको र विभिन्न पीडा भाेग्नुपरेकाे यस अवस्थामा हामी पुनः अन्यौलमा छौं । अब के गर्ने भन्ने सम्बन्धमा छलफलबाट समाधान निकाल्नेछाैं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij