भीमलाल पौड्याल, उद्योगीभीमलाल पौड्याल नेपालमा विभिन्न व्यावसायिक क्षेत्रमा लगानी विविधिकरण गर्नुभएका एक सफल उद्यमी हुनुहुन्छ । रोयल शुज, अग्नि सिमेन्ट, पिपुल्स हाइड्रोपावर, मेगा बैंक, एक्मी इन्जिनियरिङ कलेज लगायत होटल, निर्माण उद्योग, पाइप उत्पादन, ट्रेडिङ, गार्मेन्ट जस्ता विविध उद्योग व्यवसायमा संलग्न रहनुभएका उहाँ हाल नेपाल चेम्बर अफ कमर्समा कार्यसमिति सदस्यको जिम्मेवारीमा समेत हुनुहुन्छ ।
नेपालमा कोरोना महामारी र लकडाउनको कारण सृजना भएको विषम परिस्थितिले नेपालका उद्योग व्यवसायका आगामी दिन निकै कठिन रहने उहाँ बताउनुहुन्छ । यस परिस्थितिले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा पार्ने बताउँदै उहाँले उत्पादनमूलक उद्योग समेत लकडाउनको शिकार भएको र यसले हाम्रो अवस्था निकै कमजोर बनाउने समेत बताउनुहुन्छ ।
नेपालकाे समग्र व्यावसायिक अवस्था र यसका तत्कालिन चुनाैती एवं अबका विकल्प सम्बन्धमा उद्यमी पाैडेलकाे धारणा यस्ताे छ ।
अहिलेको परिस्थिति
नेपालमा कोरोना भाइरस तत्काल नियन्त्रणमा आउने कुनै सम्भावना देखिँदैन । जसले गर्दा नेपालमा यसले पार्ने प्रभावलाई अनुमान तत्कालै गर्न सकिने अवस्था समेत छैन । एकातिर अहिले उत्पादनमूलक उद्योगहरु सञ्चालन गर्न सकिने अवस्था नै छैन । साथै उद्योग सञ्चालन गर्न चाहेको खण्डमा पनि कर्मचारी, कच्चा पदार्थ ढुवानी लगानी लगायतका थुप्रै समस्याहरु छन् ।
नेपालमा अहिलेको अवस्था नै कायम रहिरहने हो भने लामै समय उद्योग सञ्चालन नै हुन नसक्ने अवस्था छ । नेपाल सरकारले ‘उद्योग सञ्चालन गर’ भनेर आदेश दिँदैमा उद्योग सञ्चालन हुन सक्दैनन् । यदि उद्योगीले अहिले उत्पादनमूलक उद्योग सञ्चालन गरेपनि ती उद्योगहरु धेरै दिन चल्न नसकी केही दिनमा नै बन्द हुने अवस्था छ ।
नेपालमा सञ्चालनमा रहेका उद्योगहरुलाई तयारी वस्तु उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थको अभाव छ । नेपाल सरकारले नेपालका उद्योगहरुलाई उद्योग सञ्चालन नै नभएपनि कर्मचारीको सेवासुविधा कटौती नगर्न भन्दै सूचना दारी गरेको छ । हामी पनि यही चाहन्थ्यौं । तर परिस्थितिको बाध्यताले त्यो सम्भव छैन । एकातिर उद्योग बन्द हुँदा उत्पादन ठप्प छ । तर उद्योगी व्यवसायीहरुको दायित्व भने बढि नै रहेको छ । सरकारले पनि बुझ्नुपर्छ कि उद्योग नै बन्द भई सञ्चालनमा आउन नसक्ने अवस्थामा उद्योगीले कसरी कर्मचारीलाई तलब दिन सक्लान् र ?
आयातमा निर्भर कच्चा पदार्थ
नेपालमा सञ्चालित अधिकांश उद्योगहरुले कच्चा पदार्थ भने बाह्य बजारबाट नै सप्लाई गर्दै आएका छन् । तर अहिलेको अधिकांश उद्योगले कच्चा पदार्थ आयात गर्न नसकेको अवस्था छ । नेपालमा पहिले स्टक भएको कच्चा पदार्थ सबै उपयोग भइसकेको छ । केही उद्योगलाई छोडेर अधिकांश उद्योगको लागि आवश्यक पर्ने थप कच्चा पदार्थ नेपालमा भित्र्याउन सक्ने तत्काल कुनै सम्भावना पनि छैन । यसले गर्दा नेपालमा उद्योग व्यवसाय सञ्चालन गर्न चाहेर पनि सञ्चालन गर्न सकिने अवस्थामा हामी छैनौं ।
नेपालमा अहिलेको अवस्था नै कायम रहिरहने हो भने लामै समय उद्योग सञ्चालन नै हुन नसक्ने अवस्था छ । नेपाल सरकारले ‘उद्योग सञ्चालन गर’ भनेर आदेश दिँदैमा उद्योग सञ्चालन हुन सक्दैनन् । यदि उद्योगीले अहिले उत्पादनमूलक उद्योग सञ्चालन गरेपनि ती उद्योगहरु धेरै दिन चल्न नसकी केही दिनमा नै बन्द हुने अवस्था छ ।
बजार उत्पादन पश्चात ठूलाे समस्या बन्न सक्छ
बजार पनि उद्योगबाट उत्पादित सामानको विक्रीवितरणको लागि अर्को महत्वपूर्ण पक्ष हो । तर अहिले बजार समेत पूर्ण रुपमा ठप्प रहेको अवस्थामा अत्यावश्यक बाहेक अन्य उद्योग खोल्न सकिने अवस्था रहेपनि विक्री गर्न बजार खुल्ला नरहँदा उद्योगको लागत अझ बढ्ने अवस्था रहन सक्छ । यस्तो अवस्थालाई हेर्दा नेपालको औद्योगिक वातावरणमा अहिले मात्र नभई यसको असर बर्षौं पछि सम्म पनि रहने देखिन्छ ।
सरकार र नागरिकको दायित्व
राज्यले अहिले कोरोना महामारीलाई नियन्त्रणमा लिनको लागि बन्दाबन्दी गरेको हो । राज्यको दायित्व भनेको सुरक्षित रुपमा नागरिकहरुको व्यवस्थापन गर्नु हो । यसलाई नकार्न सकिँदैन । साथै उद्योग एवं व्यवसाय भनेका अर्थतन्त्रका मेरुदण्ड भएको कारण उद्योग व्यवसाय पनि सञ्चालन हुने व्यवस्था गर्नु जरुरी छ । त्यो पनि राज्यको दायित्व नै हो ।
लकडाउन खुल्दैमा बजार सामान्य हुँदैन
अहिले नेपालका उद्योगहरुले उत्पादन गरेका वस्तुहरुका मुख्य उपभोक्ता भनेका सर्वसाधारणहरु हुन् । उनीहरुले परिवारको विदेशमा रहेको सदस्यले पठाएको रकम खर्च गरेर ती सामान किनिरहेका छन् । तर अबका दिनमा वैदेशिक रोजगारी कमजोर हुने र रेमिट्यान्स नभित्रिने अवस्थामा नेपालको व्यावसायिक वातावरण तत्काल सामान्य बन्ने अवस्था छैन
नेपालका व्यावसायिक वातावरणमा पर्ने असर
‘म नेपालमा रही विभिन्न व्यावसायिक क्षेत्रमा आवद्ध छु । पर्यटन क्षेत्र अन्तरगत पर्ने होटलमा हाम्रो लगानी छ । अहिले पर्यटन क्षेत्र निकै नराम्रो अवस्थामा छ । म टे«डिङ (आयात कार्य)मा पनि संलग्न छु । तर गत डिसेम्बर देखि नेपालमा हामीले चीनबाट सामान ल्याउन सकेका छैनौं । सिमेन्ट क्षेत्रमा पनि मेरो लगानी छ । यो क्षेत्र पनि राम्रो तवरले चल्ने अवस्था छैन । हामीले नेपालका उद्योगको निम्ति आवश्यक पर्ने कच्चा पदार्थहरु मुख्यतः भारत र चीनबाट आयात गर्दै आएका छौं । तर अहिलेको अवस्थामा भारत र चीन दुवै तर्फबाट कच्चा पदार्थ ल्याउन सकिने अवस्था नभएको कारण नेपालमा उद्योग सञ्चालन गर्ने कार्य फलामको चिउरा चपाउनु जस्तै कठिन छ ।
नेपालमा सिमेन्ट, पाइप उत्पादन लगायतका निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगहरु पनि विगत ३-४ महिना देखि बन्द रहँदा निकै ठूलो क्षति व्यहोर्नुपरेको छ । यस्तो अवस्थालाई विचार गर्दै नेपालमा कोरोना संक्रमणबाट सुरक्षित रहँदै निर्माण उद्योगहरु सञ्चालन गर्न पहल गर्नु जरुरी छ । अवस्था सुधार भए नेपाल सरकारले क्रमिक रुपमा उद्योगहरु खोल्दै जाने योजना बनाएको हामीले बुझेका छौं । जसअन्तरगत पहिलो चरणमा निर्माण तथा पुर्वाधारलाई विशेष महत्व सहित खोल्ने योजना बनाएकोमा यसबाट विस्तारै आर्थिक गतिविधिहरु सक्रिय बन्दै जाने अपेक्षा गर्न सकिन्छ । यसको मुख्य फाइदा भनेको जलविद्युत क्षेत्रबाट हामीले लिन सक्ने लाभ हुनेछ । हाम्रो देशमा निर्माण कार्य सुचारु भई जलविद्युत आयोजनाहरुको निर्माण सम्बन्धी काम गर्न सकेको खण्डमा हामी छिट्टै ऊर्जामा आत्मनिर्भर बन्न सक्ने अवस्था छ । यो हाम्रो लागि ठूलो उपलब्धि हुन सक्छ ।
मजदुरकाे समस्या
जलविद्युत क्षेत्रमा पनि मजदुरको समस्या छ । हामीले लमजुङमा ५४ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेका छौं । संखुवासभामा ८.५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेका छौं । ती जलविद्युत आयोजनाहरु लकडाउन पछि १५-२० दिन बन्द भएर पुःन खुलेका छन् । यद्यपि आयोजना निर्माण कार्य शुरु गरिएपनि ती आयोजनाहरुले कहिले निर्माण सामाग्री त कहिले मजदुरको समस्या व्यहोर्नुपरेको छ । शुरुमा सम्बन्धित आयोजना निर्माण स्थलमा निर्माण सामाग्री लैजान नसकेको कारण हाम्रा मजदुरहरु काम छोडेर बाहिरिए । अहिले ती आयोजनाहरुमा हामीले निर्माण सामाग्रीहरु ल्याउन सकिने अवस्था त सृजना भएको छ । तर मजदुरहरुलाई पुःन फर्काउन भने गाह्रो भएको छ । यस्ता किसिमका समस्याहरु अहिले नेपाली उद्योगहरुले सामना गर्नुपरेको छ । यस्तो तारतम्य मिलाउन सकेको खण्डमा अन्य क्षेत्रको तुलनामा जलविद्युत क्षेत्र अन्य क्षेत्रको तुलनामा छिटो गतिमा आउन सक्ने अपेक्षा गरेको छु ।
अबको विकल्प
नेपालमा पनि अहिले कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । नेपालमा समेत लकडाउन शुरु भएको २ महिना पुगिसकेको अवस्था छ । निरन्तर लकडाउन कायम राखेर मात्र समस्या समाधान नहुने कुरालाई विचार गर्दै सुरक्षित तवरले उद्योग तथा व्यवसाय सञ्चालन गर्न सकिने किसिमले तयारी गर्नु जरुरी छ । अहिलेको अवस्थाले गर्दा नेपाल सहित विश्वको अर्थतन्त्रमा नै बादल लाग्दैछ । अवस्था निकै नै भयावह हुँदैछ । तर पनि हामीले आत्तिएर र निरन्तर बन्द गरेर मात्र नहुने कुरालाई विचार गर्दै यसलाई व्यवस्थित गर्न जुन–जुन क्षेत्रहरुले जे जसरी सकिन्छ सोही बमोजिम नै आफूलाई समायोजित गर्दै नयाँ ऊर्जा सहित हाम्रा गतिविधिहरु सञ्चालन गर्नु जरुरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij