२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

विश्वव्यापी महामारीमा कृषि क्षेत्र, अबकाे विकल्प के ?

विश्वव्यापी महामारीमा कृषि क्षेत्र, अबकाे विकल्प के ?

ध्रुवराज घिमिरे

कोरोना माहामारिका कारण बिश्व नै आतंकित भैरहेको यो समयमा नेपाल पनि अछुतो रहन सकेन।

एकातिर संक्रमण रोक्नैपर्ने छ भने अर्कोतिर अर्थतन्त्रलाई पनि धिमे गतिमा भएपनी अगाडि बढाउनुपर्ने बाध्यता छ ।नेपालका कतिपय नागरिक आफ्नो रोजगार गुमाएर अबको केही समयमा आफ्नै आमाको काखमा सरण लिन आइपुग्ने निश्चित छ।

यस्तो विकराल परिस्थितिमा हाम्रो दैनिकको प्रायवाची कृषि क्षेत्रलाई बेवास्ता गरियो भने भोलिको अँध्यारो पन्छाउन ठुलो मुल्य चुकाउनुपर्नेछ ।

बाहिरबाट हेर्दा कृषकको जुन आयस्रोत कल्पना गरिन्छ, त्यो भन्दा धेरै गुना उसको पसिना मेहनत र लगानीले यो क्षेत्र सिन्चित गरेको हुन्छ । जबसम्म कुनै पनि काम त्यही भएर गरिँदैन, तबसम्म त्यसको वास्तबिक पिडा पहिचान गर्न सकिँदैन । तसर्थ स्थानीय निकायले वास्तबिक किसानको पिडा बुझेर तत्काल कृषि उपजको बजार ब्यबस्थापन गर्नुपर्ने हुन्छ । यदि त्याे सक्दैन भने न्युनतम लागत क्षतिपूर्ति उपलब्ध गराउनु जरुरी देखिन्छ ।

कुनै पनि दिन खर्च कटौती गर्न पनि नसकिने र काम पनि नरोकिने यस पेसामा प्रतिदिन बढिरहेको लगानीको सुरक्षित हुने वातावरणको निर्माण गरि उत्पादनमा सुनिश्चित गर्ने जिम्मेवारी स्थानीय निकायको हुनुपर्छ । साथै विदेशबाट फर्केका युवाहरूलाई यो पेशामा आकर्षित गर्न पनि अहिले नै केही सुनौला किरण छर्नैपर्ने हुन्छ।

जागीर गुमाएर वा माहामारीजन्य त्रासका कारण स्वदेश फर्किने युवाहरूका जागरुक हातहरुको दरिलो साथ नेपालले युगौ‌ देखि चाहेको हो।

नेपालको निष्क्रिय प्राकृतिक स्रोत र साधनलाई सकृय तुल्याइ आफ्नै भुमिमा सुन फलाउन सक्ने यी हातहरुको फेरि पनि बेवास्ता गरे त्यसको परिणाम कल्पना भन्दा बाहिरको हुनेछ। तर नेपालको बर्तमन अवस्था हेर्दा तत्काल कृषि क्षेत्र बाहेक अर्को कुनै भरपर्दो र आसालाग्दो क्षेत्र नै देखिन्न।

हाम्रो धर्मशास्त्र अनुसार पन्चपिता मध्येको एक किसान अहोरात्र जिबन बचाउनकै लागि व्यस्त हुन्छ । त्यसैले यो महामारीमा पनि जसरी हुन्छ, सहयोग पुर्याउनु हामी सबैको कर्तव्य हो।

आजको दिनसम्म त हामीले किनेरै जीवन निर्वाह गरेका थियौ‌ तर अब हाम्रा विदेशिएका नागरिक नेपाल आएपछि भने किन्ने डलर पनि हामीसँग कसरी आउला र ?
एकातिर राजनीतिक स्थायित्व, बलियो सरकार, विदेशी मुलुक भोगेर आएको सक्रिय जनसंख्या, जनताको घर-आँगनको सरकार, प्रयाप्त प्राकृतिक स्रोत साधनको व्यापकता आदि कारणलाई समेत नियाल्ने हो भने र स्थानीय सरकारको इच्छाशक्ति हुने हो भने बिहे गरेको केही घन्टा भित्रै परिवारको मुटुमा छुरा धसेर विदेशिनुपर्ने बाध्यता अन्त्य हुने थियो ।

म हालका जनप्रतिनिधिहरुलाइ एउटा मात्रै अनुरोध गर्छु एक कदम उठाउनुहोस्, शक्ति तपाईको टोल-टोलबाट उठ्नेछ र यदि उठाउनुभएन भने त्यो शक्ति तपाईंकै पतनको कारण बन्नेछ । केवल पारदर्शी हुनुहोस्, तपाईको विजय सदियौं सम्म हुनेछ ।

जय देश जय कृषि

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij