रविन कुमार श्रेष्ठ, उप–सभापति, उद्योग समितिअहिलेको लकडाउनको कारण नेपालमा उद्योग व्यवसायलाई निकै नै अप्ठ्यारो अवस्था सृजना भएको छ । हुनतः विगतमा पनि नेपाली उद्योग व्यवसायरुले भूकम्प, नाकाबन्दी जस्ता समस्याहरु सामना नगरेका होइनन् । तर अहिलेको परिस्थिति त्यो भन्दा निकै फरक छ । उद्योगधन्दा विगतका प्रतिकुलताहरुमा केही हद सम्म सञ्चालन गर्न सकिने अवस्था थियो । तर अहिले पूर्ण रुपमा ठप्प भएको २ महिना नाघिसक्यो । यो २ महिनाको अवधिमा हामीले निकै ठूलो आर्थिक नोक्सानी व्यहोरेका छौं । अहिले हामी सबैले उद्योगव्यवसायमा भन्दा पनि स्वास्थ्य सुरक्षामा नै ध्यान केन्द्रित गरिरहेका छौं ।
अहिलेको कोरोना सङ्कट पश्चात् नेपालमा नयाँ सम्भावनाहरु के हुन सक्छन् भन्ने सम्बन्धमा कोशेली शुजको प्रबन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका उप–सभापति रविन कुमार श्रेष्ठसँग हामीले कुराकानी गरेका थियौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंश
तपाईंको व्यावसायिक क्षेत्रमा लकडाउन अवधि कस्तो रह्यो ? |
म मुख्यतः जुत्ता उद्यमीको रुपमा परिचित छु । कोशेली छाला जुत्ता उद्योग मेरो व्यवस्थापनमा सञ्चालन हुँदै आएको स्वदेशी जुत्ता उद्योग हो । नेपाल सरकारले अत्यावश्यक वस्तुमा पर्ने उद्योग एवं व्यवसायहरु आंशिक रुपमा सञ्चालन गर्ने व्यवस्था गरेको भएपनि जुत्ता उद्योग अत्यावश्यक उद्योगमा नपर्ने भएको कारण हामीले यसलाई सञ्चालन गर्ने अवस्था छैन ।
हुनतः मैले चलाउने यो उद्योग बालाजु औद्योगिक क्षेत्र भित्र नै रहेको छ । जसले गर्दा उद्योग चलाउन समस्या सृजना हुने अवस्था त थिएन । तैपनि अहिलेको अवस्थामा हाम्रो उद्योगमा सामाजिक दूरी कायम गरेर र अलग क्वारेन्टाइन स्थापना गरेर खाने बस्ने सुविधा सहित उद्योग चलाउन सक्ने अवस्थामा हामी छैनौं । यतिबेला सञ्चालनमा रहेका उद्योगहरुले आफ्ना कर्मचारीहरुलाई उद्योग भित्र नै अलग क्वारेन्टाइन स्थापना गरेर चलाएका छन् । यसको साथै बजारमा तत्काल हामीले वस्तु उत्पादन गरेपनि विक्रीवितरण गर्नको लागि बजार खुल्ला नरहेको कारण उद्योग चलाउने बारे तत्काल केही सोचेका छैनौं । बजार सुनिश्चित नभई उद्योग चलाउनु विषम परिस्थितिमा थप आर्थिक भार सृजना गर्नु हुन सक्छ ।
अबका दिनहरुमा उद्योग व्यवसायलाई संरक्षण गर्न राज्यको दायित्व के रहनुपर्ला ?
नेपालमा संक्रमितहरु थपिइरहँदा अझै कति समय यसरी नै उद्योगहरु बन्द रहने हुन् भन्ने कुरा अनुमान सम्म गर्न सकिने अवस्था छैन । यस्तो अवस्थामा नेपालको आर्थिक क्षेत्रलाई धराशयी हुनबाट बचाउनको लागि नेपाल सरकारले बजेट निर्माण गर्ने समयमा विशेष प्याकेज मार्फत उद्योगहरु संरक्षण गर्न सक्ने किसिमको व्यवस्था गर्नु जरुरी रहन्छ ।
तथ्याङ्कले बताए अनुसार मुलुकको अर्थतन्त्रमा अहिले करिब ६८ प्रतिशत योगदान निजी क्षेत्रको छ । जुन निकै हिस्सा ठूलो हो । यस्तो ठूलो हिस्सा ओगटेको निजी क्षेत्रको संरक्षण गर्ने दायित्व सरकारको पनि हुनुपर्दछ । यद्यपि सीमित स्रोतसाधनबाट त्यो व्यवस्था गर्न नेपाल सरकारलाई सजिलो अवश्य छैन । तैपनि विभिन्न स्रोतहरुको प्रयोग गरेर नयाँ विकल्पहरुको खोजी गरेर जे–जसरी हुन्छ, सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नैपर्छ ।
अबको बजेटमा कस्ता विषयवस्तु समेट्नुपर्ने जरुरी देख्नुहुन्छ ?
अबको बजेटमा नेपाल सरकारले राजस्वमुखी नभई उत्पादनमुखी बजेट ल्याउनु जरुरी छ । अबका दिनमा हामीले कसरी आयात प्रतिस्थापन गर्दै हाम्रो उत्पादन बढाउन सक्छौं भन्नेमा केन्द्रित रही सोही बमोजिमका प्रोत्साहनमूलक कार्यक्रमलाई प्रोत्साहन मिल्ने गरी बजेट निर्माण गर्नुपर्छ । यसबाट मात्र हाम्रो अवस्था माथि उठ्न सक्छ । साथै नेपालको विकास समेत दिगो तवरले माथि उठ्न सक्छ । नेपालमा नै रोजगारी सृजना गर्न सकिने र आत्मनिर्भर हुने किसिमका कार्यक्रमको अलावा अबको बजेटले स्वास्थ्य र कृषि क्षेत्रमा प्रयाप्त रकम विनियोजन गर्नुपर्छ । 
कोरोना सङ्कटले सृजना गरेको मुख्य पाठ हाम्रो लागि के हुन सक्छ ?
अहिलेको लकडाउन र कोरोना सङ्कटले हामीलाई नयाँ तवरले अर्थतन्त्रलाई हाम्रै स्रोतबाट दिगो र मजबुत बनाउनुपर्दो रहेछ भन्नेमा ठूलो झड्का सहित नयाँ सन्देश दिएको छ । विगतमा नेपालीहरु विदेशमा गएर त्यहाँ रोजगारी गरेर प्राप्त हुने रेमिट्यान्सबाट हामीले हाम्रो मुलुकलाई आर्थिक रुपमा चलायमान बनाउँदै आएका थियौं । त्यो तरिका दिगो रहेनछ भन्ने कुरा अहिले सही सावित भएको छ । जसले गर्दा हामी शुरुमा सजिलो नभई कठिन नै भएपनि आफैं बलियो बन्ने बन्ने बाटो अँगाल्नु जरुरी छ ।
वैदेशिक भूमिबाट रोजगारी गुमाएका नेपालीहरुलाई स्वदेशमा व्यवस्थापनको लागि कस्ता पहल गर्न उपयुक्त देख्नुहुन्छ ?
अहिले सम्म रोजगारीको लागि वैदेशिक रोजगार नै सजिलो र हाम्रो आकर्षण माध्यम बनेको थियो । तर अब विदेशी भूमिमा रहेका नेपालीहरु पुनः नेपालमा नै फर्कनुपर्ने अवस्था सृजना भएको छ । धेरैको रोजगारी गुम्ने सुनिश्चित छ । पहिलो चरणमा नै विदेशिएका ५-७ लाख नेपाली तत्कालै फिर्ता हुने अवस्था देखिएको छ । यसले हामीलाई तत्कालै ती नेपालीहरुको व्यवस्थापनमा केही समस्या सृजना गर्न सक्छ । यस्तो अवस्थालाई लक्षित गरी हामीले विशेष आर्थिक, सामाजिक, राजनैतिक तथा कुटनीतिक योजनाहरु बनाउनु जरुरी रहन्छ । जसमध्ये कृषि रोजगारी सृजनाको लागि एक महत्वपूर्ण क्षेत्र बन्न सक्छ ।
कोरोना सङ्कटले सृजना गरेका नयाँ अवसरहरु के हुन सक्छन् ?
कोरोना सङ्कटले सङ्कटको अलावा विभिन्न क्षेत्रमा नयाँ सम्भावना पनि ल्याएको छ । यसलाई निम्नानुसार व्याख्या गर्न सकिन्छ ।
क) कृषिः
अहिले अधिकांश नेपालीहरु आफ्ना खेतबारी बाँझो राखेर आयातित वस्तुको प्रयोगमा निर्भर बन्दै गएका छौं । तर अब भने सीमित स्रोत र बढ्दो जनशक्तिको कारण आफैं उत्पादनमा संलग्न हुनुपर्ने अवस्था सृजना हुन सक्छ ।सोहीबमोजिम कृषि लाई राज्यले विशेष रुपमा सम्बोधन गर्नुपर्छ ।
ख) श्रम बजारः
कोरोना महामारीले नेपालबाट रोजगारीको लागि विदेशिने चाहना घट्ने निश्चित छ । यसले गर्दा यहाँ सञ्चालनमा रहेका उद्योगहरुमा नेपाली श्रमिक नै प्रयाप्त रुपमा उपलब्ध हुनसक्ने अवस्था समेत देखिएको छ । जसले गर्दा कामदार अभाव भई आंशिक रुपमा सञ्चालनमा रहँदै आएका उद्योगहरु समेत पूर्ण क्षमतामा चल्न सक्ने अवस्था सृजना हुन सक्छ । यो पनि हाम्रो लागि राम्रो कुरा हुनेछ ।
ग) दक्ष जनशक्तिको उपलब्धताः
यस सङ्कट सँगै अब नेपालमा अदक्ष व्यक्तिहरु मात्र नेपाल फर्कंदैनन् । दक्ष र क्षमतावान् जनशक्ति समेत नेपालमा फर्किने हामीले देखेका छौं । जसले गर्दा नेपालमा अब केटाकेटी, बुढाबुढी र महिला मात्र नभई सक्षम युवावर्ग उपलब्ध रही रोजगारीको लागि नयाँ क्षेत्रको खोजी गर्नेछन् । आफ्नो सीपमा आधारित सानो लगानीका अन्य नयाँ क्षेत्रहरुको समेत व्यापक खोजी हुन सक्छ ।
घ प्रविधिको व्यापक प्रयोगः
कोरोना महामारीले प्रविधिको समुचित रुपमा व्यापक प्रयोग गर्नुपर्नेमा हामीलाई झक्झक्याएको छ । साथै अभ्यस्त पनि गराएको छ । बैंक, कर्पोरेट व्यवसाय मात्र नभई सामान उत्पादन, डेलिभरी, अनलाइन पेमेन्ट, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा प्रविधिले खेल्ने भूमिका बारे हामी जानकारी भइसकेका छौं । यसको सही प्रयोगले हाम्रो समय बचाउनमा सहयोग पुग्नुको अलावा उत्पादकत्व वृद्धिमा समेत सहयोग पुर्याउनेछ ।
नेपालमा अब फस्टाउने उद्योगहरु के–के हुन सक्छन् ?
नेपालमा अब कृषिमा आधारित घरेलु, साना र मझौला उद्योगहरु फस्टाउने राम्रो सम्भावना मैले देखेको छु । यस्ता उद्योगहरु सानो लगानीमा नै सञ्चालन गर्न सकिने अवस्था समेत रहन्छ । साथै कृषि क्षेत्रमा अब साधारण कृषक मात्र नभई पुँजी, प्रविधि र ठूलो जनशक्ति सहित कर्पोरेट कल्चरमा चलेका उद्योगहरु समेत आकर्षित हुन सक्ने राम्रो सम्भावना देखिएको छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
समग्र परिस्थितिलाई हेर्दा कोरोना महामारीले सृजना गरेको यो अवस्था हाम्रो लागि निराशाजनक मात्र बन्ने छैन । नयाँ ऊर्जा सहित नयाँ क्षेत्रको खोजी, आत्मनिर्भरता, आपसी सद्भाव एवं सुशासन र सदाचार विकासमा समेत यो हाम्रो लागि सुनौलो विहानी बनेर उदाउन पनि सक्छ । हाम्रा काम गर्ने तौरतरिकाहरुमा पृथकता ल्याउन र सहयोग पुर्याउन सक्छ । जुन हाम्रो अवस्था माथि उठाउनको लागि नयाँ अवसर समेत बन्न सक्छ । सोहीबमोजिम हामी पनि काममा जुट्नु जरुरी छ ।
राज्यले अब निजी क्षेत्रलाई समेत साथमा लिँदै काम गर्न सकेको खण्डमा थप प्रभावकारी तवरले काम गर्न सकिने अवस्था छ । तर अहिले भने नेपाल सरकारले निजी क्षेत्रलाई सकारात्मक रुपमा लिन सकेको पाईंदैन । आपसी सहकार्यमा अघी बढ्न सकेमात्र विषम परिस्थितिबाट पनि सकारात्मक पक्षलाई आत्मसात् गर्दै नयाँ ऊर्जा सहित हामी पुनः गतिशिल बन्न सक्छौं ।
सोही कुरालाई विचार गर्दै अहिले घरमा वेकाम भई रहनुपरेकोमा चिन्ता र तनाव नलिउँ । बरु सृजनशिल रुपमा तत्काल कुनै उत्पादनमूलक कार्यमा आफूलाई व्यस्त बनाउँ । भावी दिनमा आफूले गर्ने कार्यको विशेष योजना बनाउँ । उद्देश्य निर्धारण गरौं । आफूलाई नयाँ परिस्थितिमा समायोजित गर्न सक्ने गरी तयार गराउँ । सकारात्मक सोचौं । उत्साहित बनौं । यसमा नै हामी सबैको कल्याण हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij