२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

महामारीको मारमा हेल्मेट शिक्षक

महामारीको मारमा हेल्मेट शिक्षक

राजन प्रसाद पाेखरेल

कोभिड-१९ महामारी विगत केही महिनादेखि आँधीका रूपमा फैलिइरहेको छ । चीनको वुहानबाट सुरुवात भएको महामारीले विश्व शक्ति राष्ट्रलाई समेत आत्थु-आत्थु पारिरहेको छ । यो महामारी नेपालसम्म आइपुग्न केही समय लगाएको भएपनि कहिलेकाहीँ सिटामोलको अभाव भयो रे भन्ने समाचार सुन्ने मात्रै होइन, किन्दा नपाएर खाली हात हुन विवश हामी जस्ता अभागी नेपाली र यस्ता समाचार सुनाउने यो गरिब, विकासोन्मुख देशका लागि ठूलो चुनौतीको विषय हो र त्यसलाई हामी अहिले ट्वाल्ट्वाल्ती हेरेरै दिन काटिरहेका छौँ ।

म विभिन्न स्कुल, कलेजमा कुँदेरै पढाएर जीविकोपार्जन गर्ने व्यक्ति ! शिक्षाको महत्त्व अलिअलि बुझेका केहीले सर भनेर सम्बोधन गर्छन् र नमस्कार गर्छन् । म खुसी हुँदै नमस्कार फर्काउँछु । समाजका केहीले राम्रोसँग चिन्दछन् र विश्वास गर्छन् अनि समाजका धेरैको आँखामा शुद्ध व्यक्ति मानिएको कारणले हरेक समस्यामा मलाई बोलाहट हुने हुनाले खुसी मनका साथ उपस्थित भएर समस्या समाधानका उपाय पनि सुझाइ रहेको हुन्छु ।

केहीले अरू केही काम पाएन र टिचर भएको भनेर टीका-टिप्पणी गरेको पनि मजाले सुनिरहेको हुन्छु र पनि नसुनेझैं गरी हिँड्छु । पहिलेको जस्तो “गुरु देवो भव”को अवस्था हालका विद्यार्थीको मानसिकतामा, आम मानिसको मानसिकतामा नरहेकाले कहिलेकाहीँ विद्यार्थी, आम मानिसबाट र समाजबाट नै तिरष्कृत हुनु परेका घटनाहरू पनि मैले नसहेको छैन ।

मेरो एउटा परिवारमा बुबा, आमा, श्रीमान्, श्रीमती र दुई सन्तान गरि छ जना छौँ । छ जनाको पालनपोषण, शिक्षा स्वास्थ आदिको जिम्मा म एउटैको काँधमा केन्द्रित छ ।
वास्तवमा भन्ने हो भने सहरबजारमा म जस्ता शिक्षकलाई हेल्मेट टिचर भन्ने गरिन्छ, किनकि एउटा पिरियड एउटा कलेजमा, अर्को पिरियड अर्को स्कुलमा गर्दै दिनभरमा दुईदेखि पाँचवटा स्कुल-कलेजमा पटकपटक हेल्मेट लगाउँदै, राख्दै, कुद्दै गर्ने हुनाले यो उपनाम चर्चित छ । बल्लतल्ल दिनभर कुँदेरै पढाउँदा पढाउँदै दिन बित्छ । साँझपख लखतरान हुँदै कोठामा आयो, घरमा यो भएन र ऊ भएन भनी अनेकन समस्या सहितका गुनासा सुन्नुपर्छ र बुझ्नुपर्छ ।

मेरो महिना मर्दा बित्तिकैका बाध्यता हुन् :-
छोराछोरीको स्कुलको फिस तिर । महिना नमर्दै कोठाको भाडा तिर । कुनै किराना पसलमा दुई/तीन महिनासम्मको उधारो खाएको रासनको पैसा तिर । जमाना अनुसार चल्नुपर्ने हुनाले वाइफाइ पनि जोड र एक वर्षको वा छ महिनाको प्याकेजमै पैसा तिर । पढाउने भएपछि चिटिक्क पर्नैपर्ने हुनाले टाइ, सुट, जुत्ता किन र चिटिक्क परेर हिँड । यहाँसम्म त ठिकै छ । फेरि कोरोनाले थप्यो अर्को विकराल समस्या । मार्कर घोटेर जीविकोपार्जन गर्ने हेल्मेट टिचरलाई यो रोगमात्रै नभएर महारोग भयो, भाइरसमात्रै नभएर महाभाइरस भयो, महामारीमात्रै नभएर विकराल महामारी भैदियो । सरकारले लकडाउनको घोषणा गरेपछि म ज्ञानी बालक जस्तै भएर काठमाडौंका साँघुरा दुई कोठामा नचल्मलाई बसिरहेको छु ।

गाउँ घरतिरबाट तारन्तार फोन आइरहन्छन् : के छ मार्डसाब हालखबर ? यो आपतको बेलामा ज्यालादारी गरेर जीविकोपार्जन गर्नेको लागि केही सहयोग गर्नुपर्यो ! काठमाडौंमै बस्ने साथी सर्कलले यसैगरी सहयोग गर्न फोन गरिरहन्छन् । नेताजीहरू लौ न !!! हजुरले यो गर्नुपर्यो, त्यो गर्नुपर्यो । सुन्दा-सुन्दा टाउको फुट्लाजस्तो भइसक्यो । भए त मेरो पनि सहयोग गर्ने मन छ र सहयोग गर्नु पनि पर्छ तर आफ्नो अवस्था हेर्दा कुनातिर फर्केर रुन मन लाग्छ ।

मलाई मार्डसाब भनेर सम्बोधन गरी बोल्ने साथीहरूले ज्यालादारीमा काम गर्नेलाई सहयोग भन्दा मनमा भक्कानो फुटेर आउँछ र बाहिर नभने पनि मनमनै भन्छु : “ए यार म पनि त ज्यालादारीमा बाँच्ने नै मान्छे हुँ नि ।”

हेर्नुस् यस्तो कुरा नगर्नुस् । पहिला त बरू तपाईंहरू अफिस जानुहुन्थ्यो, पानी कम खर्च हुन्थ्यो, बिजुली कम बोल्थ्यो, ट्वाइलेटको हालत पनि त्यस्तै छ, फोहोर उस्तै, ट्याङ्की पनि चाँडै भरिने भो । हाम्रो पनि त के छ र ? यही पाँच तले घर त हो । तैपनि एउटा तलामा हामी नै बस्छौँ, चार तलाको भाडाले कति हुन्छ र ?

यस बिचमा सरकारले घरबेटीलाई भाडा नलिन आग्रह गरेको समाचार आयो । कोठाको भाडा तिर्नु नपर्ने भए त केही राहत मिल्छ कि भन्ने लागेको थियो मनमा तर अगाडिका महिनाहरूमा भाडा बुझाउन दुई/चार दिन ढिला हुँदा पनि केही नभन्ने, “ठिकै छ नि ! दुई चार दिन ढिला हुँदा केही फरक पर्दैन” भन्ने मेरा घरबेटीले यसपालि त महिना मर्न पाँच दिन बाँकी हुँदै आएर यो महिनाको भाडा समयमै दिनुहोला है सर; “हजुर त बुझ्ने मान्छे के भन्नू पर्छ र ।” अब पर्यो फसाद । ताल परे नतिर्दा पनि हुन्छ कि भनी आस गरेर बसेको मलाई “हजुर त बुझ्ने मान्छे” भन्ने विशेषणले मेरो घरबेटीलाई सरकारको अनुरोध सम्झाउन र आफ्नो दु:ख देखाइ भाडा कम गर्नबाट रोक्यो ।

तैपनि बुढी मलाई नसोधी गएर यसो कुरा राखेकी रहिछन्, घरबेटी बम्किएर भन्नुसम्म भनेछन् :”हेर्नुस् यस्तो कुरा नगर्नुस् । पहिला त बरू तपाईंहरू अफिस जानुहुन्थ्यो, पानी कम खर्च हुन्थ्यो, बिजुली कम बोल्थ्यो, ट्वाइलेटको हालत पनि त्यस्तै छ, फोहोर उस्तै, ट्याङ्की पनि चाँडै भरिने भो । हाम्रो पनि त के छ र ? यही पाँच तले घर त हो । तैपनि एउटा तलामा हामी नै बस्छौँ, चार तलाको भाडाले कति हुन्छ र ? हाम्रो समुदायमा भोज भतेरमै कति खर्च हुन्छ हाम्रो ? महिना मर्दा भाडा तिर्न नसक्नेले पनि किन अर्काको घर ओगटेर बस्ने ? भाडा नतिर्ने हो भने आजसम्मको हिसाब आजै बुझाउने र आजै कोठा खाली गर्ने, अर्को तिमीले भन्दा धेरै तिर्ने आउँछ । ऋण खोजी खोजी तिमीजस्ता भाडा नतिर्नेहरूलाई राखेर धर्म होओस् भनेर धर्मशाला राख्नलाई घर बनाएको हो र यहाँ ।” यति सुनेपछि (सरकार भनेको कुन चरीको नाम रैछ भन्ने सोच्दै) तीन दिन अगाडि नै घर भाडा बुझाउन बाध्य !!!

आफू सधैं मैनबत्तीका रूपमा जलेर लाखौंलाई उज्यालो देखाउने शिक्षक, खोलाको किनारमा माझी भएर लाखौंको गन्तव्यलाई निश्चित गराइ गन्तव्यमा सहजै पुराउने शिक्षक, आफू सधैं भर्ङ्याङ बनेर लाखौंलाई उचाइमा पुर्याउने शिक्षक, आफू सधैं अचानो बनेर पीडाबोध भएर पनि दु:ख हाँसेरै सहन बाध्य शिक्षक, आफू सधैं दाउरा बनेर जली लाखौंलाई तातो रापमा सेकाएर न्यानोपन दिने संसारभरका आदर्श व्यक्तित्वका रूपमा स्थापित शिक्षक सम्मानित होइनन् त ?

यो बन्दाबन्दीको समय भएकोले चौबीस घण्टाको दिनभरिमा मेरो अधिकांश समय टेलिभिजनमा व्यतीत हुन्थ्यो तर दुर्भाग्यवश केवलको र नेटको पैसा तिर्नुपर्ने म्याद पनि वैशाख महिनामै परेको रहिछ । सरकारले त नेटको पैसा तिर्न समस्या भएपनि यो बेलामा लाइन नकाटिदिनु भनेको थियो, यहाँ पनि केही दिन राहत पाइएला कि भनेको त के हुन्थ्यो; यसपालि त झन् तपाईंको पैसा तिर्नुपर्ने म्याद सकिँदैछ भन्ने म्यासेज पनि नगरी काटियो ।

नेट बन्द भएपछि त छोराछोरीको पव्जी र टिकटकको संसार भताभुङ्ग भयो, घर बाहिर जान पाउनुपर्ने अवस्था भएको भए त तैपनि एउटा कुरा । यहाँको मुख्य विषय त उनीहरूलाई जसरी पनि कोठा भित्रै भुलाउनु थियो । श्रीमती जी पनि आफ्नै संसारमा मस्त र व्यस्त । नेट काटिए पछि त श्रीमती जीका पनि पटकपटक विभिन्न आइटमका फोटाहरू फेसबुकमा हालेर लाइक, कमेन्टका गणना बन्द भए । बुढाबुढीको समाचार र लोकदोहोरी गीत सुनेर र हेरेर व्यतीत हुने समयमा पूर्णबिराम लाग्यो । यी त तपशीलका विषय भए; मैलाई पनि अनलाइन क्लास पढाइ दिनुपर्ने प्रेसर छँदैथियो । अब पैसा नबुझाई भयो ? हुँदै भएन । (सरकार भनेको कुन चरीको नाम रैछ भन्ने सोच्दै) नेट र केवलको पैसा बुझाउन बाध्य !!!!

school building icon over white background. colorful design. vector illustration

छोराछोरी पढाउन र दैनिक कार्य चलाउनकै लागि थोरै बैंकबाट ऋण लिएको महिना नमर्दै व्याज बुझाउने बेला भयो भनेर फोन र म्यासेज आएर हैरान छ । बैंकसित भने जेसुकै गर्ला भनेर कडा रूपमा प्रस्तुत भए । “यस्ता बेलामा तिमीलाई व्याज बुझाऊ भनेर फोन गर्न लाज लागेन, बैंक तिम्रामात्रै छन् र ? फलानाे बैंकले यो छुट गर्यो, ऊ छुट गर्यो” भनेर रिसाइ-रिसाइ थाहा भएका नभएका कुरा जोडेर मन शान्त पार्ने कोसिस गर्दैथिएँ । रिस पनि यति उठेछ कि घरबेटीको रिस, नेटको रिस, केवलको रिस घरमा हुने घरायसी रिस विचरा ! त्यो बैकका कर्मचारीसँग पोख्न पुगिएछ । किनकि अन्यत्र मास्टरको उपाधिले रिस पोख्न रोकिराखेको थियोे ।

वास्तवमा शिक्षक, मास्टर, माड्साब, सर, गुरु जे नामले सम्बोधन गरिएपनि यी शव्द सम्मानित शव्द हुन् । ‘गुरु देवो भव’ भन्दा मन त्यसै-त्यसै आनन्दित भएर आउँछ । तर यी नामधारी व्यक्तिका पीडा नजिकबाट बुझ्न जो कोहीलाई मुस्किलै पर्छ । बाहिरी रूपमा पीडा लुकाउन बाध्य हुने यो खालका शिक्षकहरूलाई नियमित रूपमा कक्षा चलिरहँदा कक्षामा पसेपछि घडी पटकपटक हेर्नुपर्ने, बाटोमा जामको कारणले बाइक रोकिएका कारणले केही मिनेट ढिलो हुँदा प्रिन्सिपलले केही भन्लान् कि ? कक्षा नपाइएला कि ? सेसन नसकिँदै बिदा गर्लान् कि ? मनमा यस्तै खालका कैंयौ तनाव लिँदै भाग्नुपर्ने अवस्थाका बेलाको पीडा सायदै मानिसले बुझ्नुहोला ।

आफू सधैं मैनबत्तीका रूपमा जलेर लाखौंलाई उज्यालो देखाउने शिक्षक, खोलाको किनारमा माझी भएर लाखौंको गन्तव्यलाई निश्चित गराइ गन्तव्यमा सहजै पुराउने शिक्षक, आफू सधैं भर्ङ्याङ बनेर लाखौंलाई उचाइमा पुर्याउने शिक्षक, आफू सधैं अचानो बनेर पीडाबोध भएर पनि दु:ख हाँसेरै सहन बाध्य शिक्षक, आफू सधैं दाउरा बनेर जली लाखौंलाई तातो रापमा सेकाएर न्यानोपन दिने संसारभरका आदर्श व्यक्तित्वका रूपमा स्थापित शिक्षक सम्मानित होइनन् त ?

यस्ता आदर्शवादी व्यक्तित्वहरूलाई सबैले त्यसै अनुरूप बुझ्नुपर्ने होइन र ? यसैले यी हेल्मेट शिक्षकले भोग्नु परेका भित्री र बाहिरी पीडालाई लुकाएर ऊ बाहिरी रूपमा खुसी देखिँदैमा, चिटिक्क परेर हिँडेको देख्दैमा, मनमा पीडा लुकाउन सक्ने भएर पनि, आफ्नो मनमा चिन्ता भएपनि खुसीले अरुहरूको खुसी ल्याउनका निम्ति रातदिन खटिने ती लाखौँका पथ प्रदर्शकका रूपमा परिचित शिक्षकका मनभरिका समस्या कसले बुझ्ने होला ? कहिले बुझिने होला ? कसरी बुझाउने होला ? र शिक्षकहरूले यो अवस्था कहिलेसम्म सामना गरिरहनुपर्ने होला ?

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij