अहिले कोरोनाको कारण उत्पन्न भएको तरङ्गले विश्व अर्थतन्त्र तहसनहस बनेको छ । विकसित देशहरुले यसको क्षति अझ बढी व्यहोर्नुपरेको छ । नेपालमा कोभिड–१९ प्रवेश गर्नु पूर्व बाह्य मुलुकमा अपनाइएका सचेतना र उपचार विधिबाट समेत नेपालले निकै राम्रो ज्ञान हासिल गरेको कारण अहिले सम्म प्रत्यक्ष रुपमा ठूलो (मानवीय) क्षति भोग्नुपरेको छैन । यद्यपि कोरोनालाई लक्षित गरी लागु गरिएको लकडाउनको कारणले भने नेपालले पनि ठूलो क्षति व्यहोर्नुपरेको छ ।
विपद व्यवस्थापनमा केन्द्रित होऔं
अहिलेको परिस्थितिमा हाम्रो मुख्य ध्यान त कोरोनालाई कसरी नियन्त्रणमा लिन सकिन्छ भन्नेमा नै केन्द्रित गर्नुपर्छ । यसको अलावा हामीले कोरोना पश्चात् उत्पन्न हुने अवस्थालाई कसरी सहज बनाउने भन्नेमा समेत अहिले देखि नै योजनावद्ध तवरले अघी बढ्नु जरुरी रहन्छ ।
लकडाउन र कोरोना पछि आउन सक्ने समस्या समेत नेपालको परिपेक्ष्यमा निकै भयावह हुने देखिएको छ । खासगरी अर्थतन्त्र चलायमान हुन नसक्दा सृजना हुने समस्या । नेपालका सबैजसो व्यवसाय बन्द हुँदा हाम्रो आर्थिक सन्तुलन र मागपुर्ति बीच समस्या सृजना हुन सक्छ । यसले सिङ्गो अर्थतन्त्रलाई नै प्रभावित पार्ने गर्दछ । नेपालमा राज्यले अहिलेको विषम परिस्थितिमा कसरी सामना गर्ने भन्ने सम्बन्धमा स्पष्ट व्यवस्था गर्न सकेको खण्डमा मात्र हामीले प्रकोप पश्चात् हाम्रो अवस्थालाई राम्रो तवरले व्यवस्थापन गर्न सक्छौं । 
नेपालमा अझै कोरोना महामारीको रुपमा फैलिएको छैन । एक जना व्यक्तिको पनि कोरोनाको कारण मृत्यु भएको पुष्टि भएको छैन । जुन हाम्रो लागि निकै नै राम्रो कुरा हो । नेपाल सरकारले लकडाउनलाई प्रभावकारी तवरले कार्यान्वयनमा ल्याउन सकेको कारण यो सफलता प्राप्त भएको हो ।
उत्पादनशिल र व्यावसायिक क्षेत्र सञ्चालन गर्नुपर्ने जरुरी
एकातिर अहिलेको कोरोना नै कहिले नियन्त्रणमा आउने हो भन्ने कुनै निश्चितता छैन । अर्कोतिर अबका दिनमा आउन सक्ने परिस्थितिको कसरी सामना गर्ने भन्ने पनि छ । लामो समयको लकडाउनको कारण बन्द भएका उद्योग धन्दा कसरी खोल्ने, व्यवसायहरुलाई कस्तो मापदण्ड बनाएर सञ्चालन गर्ने, कृषि उत्पादन वृद्धिको लागि कसरी काम गर्ने लगायतमा नेपाल सरकारले सुरक्षित र अनुकुल व्यवस्था गर्नुपर्ने आवश्यक छ । यसको लागि नेपाल सरकारले विभिन्न क्षेत्रका विज्ञहरु एवं नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुसँग सरसल्लाह गरी आर्थिक गतिविधि चलायमान बनाउनु जरुरी छ ।
नेपालमा अटोमोबाइल क्षेत्रमा पनि कोरोनाको असर निकै बढी पर्ने देखिएको छ । हुनतः कोरोनाको प्रभाव सबै क्षेत्रमा पर्ने निश्चित छ । यद्यपि तत्काल प्रभाव देखिने क्षेत्रहरु भनेका अटोमोबाइल र घरजग्गा हुन् । कोरोना र लकडाउन पश्चात् सवारीसाधन प्रतिको मानिसको रुचिमा समेत केही परिवर्तन आउने देखिन्छ । मूलतः अबका दिनमा सार्वजनिक यातायात भन्दा पनि निजी सवारी प्रति मोह बढ्ने देखिन्छ । विश्वका अन्य सम्पन्न मुलुकहरुमा महँगा विलासी सवारी साधन तर्फ मानिसहरुको आकर्षण बढ्ने देखिएपनि नेपालमा भने सार्वजनिक सवारी नै निर्विकल्प माध्यम हुँदाहुँदै पनि २ पाङ्ग्रे साधनहरुमा आकर्षण बढ्ने अनुमान हामीले गरेका छौं ।
लकडाउनले नेपालमा असर पुर्याएका मुख्य क्षेत्रहरुलाई निम्नानुसार व्याख्या गर्न सकिन्छ ।
पर्यटनमा असर
पर्यटन क्षेत्रमा लकडाउनको निकै ठूलो असर पर्ने देखिएको छ । अहिलेको अवस्थाले पर्यटन क्षेत्रमा कम्तीमा डेढ बर्ष आर्थिक क्रियाकलाप सञ्चालन हुन नसक्ने अवस्था छ । पर्यटन जिडिपीमा ठूलो योगदान दिने एउटा क्षेत्र हो । यसले हाम्रो समग्र अर्थतन्त्रमा पनि निकै प्रभाव पार्छ । अहिले नेपालमा घुम्न आउने मानिसहरु तत्काल आउन नसक्ने अवस्था छ । नेपालमा करिब २ बर्षलाई व्यवसायमा व्यवसायीहरु टिक्न सक्ने गरी राज्यले विशेष प्याकेज ल्याउनु जरुरी छ ।
अहिले नेपाल सरकारले अन्य उद्योग र व्यवसायलाई लक्षित गरेर ल्याएको राहत प्याकेजले पर्यटन क्षेत्रलाई सम्बोधन हुन सक्ने अवस्था छैन । यस क्षेत्रको लागि व्यवसायीहरुले लिएको कर्जामा सहज महसुस हुन सक्ने र श्रमिकहरुलाई सेवासुविधा उपलब्ध गराउन समेत समस्या सृजना नहुने गरी त्यस किसिमको व्यवस्था गर्नु जरुरी छ ।
अटोमोबाइल
नेपालमा अटोमोबाइल क्षेत्रमा पनि कोरोनाको असर निकै बढी पर्ने देखिएको छ । हुनतः कोरोनाको प्रभाव सबै क्षेत्रमा पर्ने निश्चित छ । यद्यपि तत्काल प्रभाव देखिने क्षेत्रहरु भनेका अटोमोबाइल र घरजग्गा हुन् । कोरोना र लकडाउन पश्चात् सवारीसाधन प्रतिको मानिसको रुचिमा समेत केही परिवर्तन आउने देखिन्छ । मूलतः अबका दिनमा सार्वजनिक यातायात भन्दा पनि निजी सवारी प्रति मोह बढ्ने देखिन्छ । विश्वका अन्य सम्पन्न मुलुकहरुमा महँगा विलासी सवारी साधन तर्फ मानिसहरुको आकर्षण बढ्ने देखिएपनि नेपालमा भने सार्वजनिक सवारी नै निर्विकल्प माध्यम हुँदाहुँदै पनि २ पाङ्ग्रे साधनहरुमा आकर्षण बढ्ने अनुमान हामीले गरेका छौं । सामाजिक दूरी कायम गरेर मात्र यात्रुहरु चढाउनुपर्ने हुँदा अबका दिनमा कमर्सियल भेहिकलको माग निकै नै घट्ने सम्भावना छ ।
बैंकिङ
बैंकिङ क्षेत्रमा लकडाउनको प्रत्यक्ष असर नपरेपनि विगतमा उपलब्ध गराएको कर्जाको व्याजदर घटाउनुपर्ने अवस्थाले गर्दा मुनाफा केही घट्ने देखिन्छ । यसको अलावा बैंकको लगानी गर्न सक्ने क्षमता समेत घटेको कारण बैंकमा रकम अभाव हुन सक्छ । यस बर्षको लागि विगतका त्रैमासिकहरुको मुनाफाको कारण समग्र मुनाफामा ठूलो असर नपर्ला । तर आगामी आर्थिक बर्षमा भने कर्जावालहरुले किस्ता तथा कर्जा भुक्तानी गर्न समस्या हुन सक्ने अनुमान गर्न सकिन्छ । यसको प्रत्यक्ष असर बैंकमा पर्ने देखिन्छ ।
कृषि
अबका दिनमा नेपालमा कृषि क्षेत्र फस्टाउन सक्छ । यसको लागि नेपाल सरकारले व्यावसायिक कृषि प्रणालीलाई प्रोत्साहित गर्नु जरुरी छ । नेपालीहरुको वैदेशिक रोजगारी घट्ने सम्भावना बढेको र क्रयशक्ति घटेको अवस्थामा नेपालमा कृषि एवं स्वरोजगारमूलक घरेलु र साना उद्योग फस्टाउन सक्ने सम्भावना छ । नेपाल सरकारले यस क्षेत्रलाई विशेष ध्यान दिनु जरुरी छ ।
आयातनिर्यात र रेमिट्यान्स
नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएको कारण पूर्ण रुपमा आयात प्रतिबन्ध लगाउन सक्ने अवस्था रहँदैन । नेपालले स्रोतसाधनको उपलब्धताको हिसाबले पनि पूर्ण रुपमा आयात प्रतिबन्ध गर्न सक्दैन । यद्यपि आफ्नो हितको लागि हामी आफैं सुदृढ बन्दै जानुपर्ने अवस्था छ । 
अन्त्यमा
नेपालले अबका दिनमा अत्यावश्यक वस्तुहरुमा सहज तवरले भित्रने व्यवस्था मिलाउनु जरुरी छ । यसको साथै विगत देखि भित्रिँदै आएका विलासिताका वस्तुहरुमा करका दरहरु बढाउँदै आयात प्रतिस्थापनमा जोड दिनु जरुरी छ ।
(पर्यटन, रियल स्टेट, अटोमोबाइल, बैंकिङ लगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरेका सफल उद्यमी थापा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका उपाध्यक्ष समेत हुन् । लायन्स क्लब लगायत विभिन्न सामाजिक संस्थाहरुमा समेत उनी सक्रिय रुपमा संलग्न छन् ।)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij