लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।
भारतको बिहार राज्य अन्तर्गत पर्ने हनुमाननगर गाउँबाट दुईवटा गाडीसहित नेपाल प्रवेश गर्न खोजेका भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई नियन्त्रणमा लिएको थियो । नेपाली सुरक्षाकर्मीलाई भारतीयले आक्रमण गर्न खोजेपछि नेपालीहरु पनि प्रतिकारका लागि पुगेका थिए । दुवै देशका सुरक्षाकर्मीहरुले उनीहरुलाई सम्झाईबुझाई गरेर घर फर्काएका छन् ।
सुवर्ण गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष महेन्द्र प्रसाद यादवले ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको तर अहिले सामान्य भइसकेको बताए ।
‘सीमावर्ती हनुमान नगर गाउँका बासिन्दा पानी परेको मौका छोपेर नेपाल छिर्न खोजेका थिए,’ उनले भने, ‘ नेपाली प्रशासनले रोकेपछि उनीहरु हातपातमा उत्रिएका थिए । स्थानीय नेपाली पनि प्रतिकारमा उत्रिएका थिए । सो क्षेत्र केहीबेर तनावपूर्ण बनेको थियो ।
सुरुमा दुई जना भारतीय नेपाल प्रवेश गर्न खोज्दा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । त्यसपछि फर्केर गएका उनीहरुले थप मानिसहरु सहित आएर सशस्त्र प्रहरीको पोष्ट नै भत्काएपछि भीड नियन्त्रणका लागि एक राउण्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी उपरीक्षक दिग्विजय सुवेदीले जानकारी दिए ।