काठमाडौं, १९ वैशाख । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रदेश समिति अन्तर्गतका जिल्ला शाखा आवद्ध विभिन्न प्रकृतिका बिरामीलाई औषधि वितरण कार्य जारी राखेको छ । लकडाउनका कारण नियमित औषधि सेवन गरिरहेका सञ्चारकर्मीलाई समस्या परेको सन्दर्भलाई लिएर त्यस्ता पत्रकारहरुको पहिचान गरी महासंघले उनीहरुको घरैमा निःशुल्क औषधि उपलब्ध गराउदै आएको हो ।
महासंघ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झाको संयोजकत्वमा फोकल पर्सन कोषाध्यक्ष टेनिस रोका, समिति सदस्य सागर पन्त रहने गरि बनाईको सहजीकरण समितिले मिर्गौला पीडित पत्रकार विजयकुमार पोखरेल (बीके पाल्पाली) र उनका श्रीमती रेणुका भट्टरार्इ समेतलार्इ प्राप्त जानकारी अनुरुप औषधि उपलब्ध गराएको हो ।
पत्रकार पाल्पालीकी श्रीमतीका अनुसार उनलाई दैनिक ३ पटक डायलाइसिस गर्नुपर्छ । यसवीचमा बढ्दो लकडानउनका कारण औषधि अभाव भएसंगै सहयोगका लागि उपत्यका प्रदेश समितिलाई आग्रह गरे अनुरुप महासचिव झाले औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्षको सहजीकरणमा नेपाल औषधि थोक व्यवसायी संघ पिडानका सदस्य एवम् महादेव मेडिसिन सप्लार्यसका प्रबन्ध निर्देशक रवि गुप्ताको सहयोगमा करिव दुइ महिनाको लागि औषधि उपलब्ध गराएको पत्रकार झाले बताए ।
यसअघि समितिले महासंघ काठमाडौं शाखाका वरिष्ठ सदस्य चक्रपाणि नेपाल र सोही शाखाका अर्का सदस्य नेत्र बहादुर हमाल र मनोज सार्थकलाइ पनि औषधि उपलब्ध गराएको थियो ।
औषधि हस्तान्तरणको क्रममा फोकल पर्सन सागर पन्त, महासंघ उपत्यका प्रदेशका सदस्य रामचन्द्र प्रजापति , पत्रकार कृष्ण प्रजापति ,पत्रकार महासंघका केन्द्रीय सभाषद निरज रञ्जित, पत्रकार उज्जवल खनाल , फोटो पत्रकार अनुप प्रधान लगायतको उपस्थिती रहेको थियो ।