२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज अक्षय तृतीया, सातु र सर्वत खाने दिन, यस्ताे छ महत्वः ज्याेतिष विष्णु

आज अक्षय तृतीया, सातु र सर्वत खाने दिन, यस्ताे छ महत्वः ज्याेतिष विष्णु

काठमाण्डौँ । वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीय पर्व आज दान, होम, जप, तप गरी मनाइँदैछ । पौराणिक मान्यता अनुसार आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिन्छ । पूर्वीय दर्शन अनुसार यस दिनकाे विशेष महत्व रहने गर्छ ।

आजका दिन सदाशिव भगवान महादेव र हिमालयकी पुत्री देवी पार्वतीका बीचमा विवाह भएको मानिन्छ । यसैगरी आजैका दिन चार युग मध्ये त्रेता युगको सुरुवात भएको मानिन्छ । यो तिथि एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गर्नुभएको धार्मिक प्रमाण हाम्रा ग्रन्थहरुमा उल्लेख रहेकाे युवा ज्याेतिष विष्णु प्रसाद खनाल बताउनुहुन्छ ।

अक्षय तृतियाको दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । आज जौको सातुमा गुड, चिनी, घिउ, मह मिसाएर सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक विश्वासका कारण शातु सर्वत दान गर्ने र खाने चलन छ । आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुने विश्वास रहँदै आएकाे समेत खनालले बताउनुभयाे ।

ज्याेतिष खनालका अनुसार अक्षय तृतीयाका दिनमा निराहार व्रत बसी विष्णुलाई तिलका अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्स्य पुराणमा वर्णन गरिएको छ । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको पनि जन्म  भएको थियो । यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij