२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

वीरगञ्जमा सद्भाव खल्बल्याउनेमाथि कारबाही गर्न मन्त्री गुप्ताको निर्देशन

वीरगञ्जमा सद्भाव खल्बल्याउनेमाथि कारबाही गर्न मन्त्री गुप्ताको निर्देशन

 

काठमाडौं, ४ बैशाखः  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगञ्जमा शोभा यात्राका क्रममा सृजना भएको तनाव र विकसित घटनाक्रमप्रति चासो व्यक्त गर्नुभएको छ ।

हनुमान जयन्तीको अवसरमा गएको शनिबार वीरगञ्जमा निकालिएको शोभा यात्राका क्रममा भएको झडप र त्यसबाट विकसित घटनाक्रमहरूप्रति चिन्ता व्यक्त गर्नुहुँदै उहाँले घटनामा संलग्नहरूलाई तत्काल कारबाही गर्न निर्देशन समेत दिनुभएको छ ।

आज मंगलबार विज्ञप्ति जारी गर्नुहुँदै मन्त्री गुप्ताले भन्नुभएको छ, ‘कुनै तवरले सामाजिक सद्भावमा खलबल पुर्‍याउने कार्य दूर्भाग्यपूर्ण रहेको छ । साम्प्रदायिक विद्वेषको कुरूप, उपद्रवी र सङ्कीर्ण मनोदशाबाट माथि उठी आपराधिक कू–कृत्यमा संलग्न जोसुकैलाई उचित छानबिन गरी कानूनी दायरामा ल्याउन समेत प्रहरी प्रशासनलाई कडा निर्देशन दिएको छु ।’

उहाँले घटनापछि दुवै समुदायबीच अलग–अलग तथा सर्वदलीय बैठक बसी घटनाका बारेमा गरिएको गम्भीर समीक्षा र त्यसपछि गरिएको पाँच बुँदे सहमति अनुसार दोषीको पहिचान, अनुसन्धान तथा कारबाहीका लागि आग्रह गर्नुभएको छ ।

धार्मिक तथा साँस्कृतिक विविधताको दृष्टिले धेरै ठूलो महत्व राख्ने आफ्नो गृहजिल्ला र मुलुककै आर्थिक तथा औद्योगिक नगरी वीरगञ्जमा भएको सो घटनाक्रमपछि आफूले निरन्तर स्थानीय तथा प्रहरी प्रशासनका अधिकारीहरूसँग सम्पर्क गरी विकसित घटनाक्रमबारे जानकारी लिइरहेको पनि उहाँले जानकारी दिनुभएको छ । वीरगञ्जमा विकसित तनावलाई साम्य पारी जनजीवनलाई सहज तुल्याउन मन्त्री गुप्ताले सबै पक्षसँग आग्रह समेत गर्नुभएको छ ।

आपसी सद्भाव समाज र देशकै शक्ति भएकाले त्यसलाई कुनै पनि बहानामा भङ्ग गर्ने कार्य दुःखद र चिन्ताजनक भएको उल्लेख गर्नुहुँदै उहाँले एकअर्काको धार्मिक विश्वास एवम् आस्थाप्रति सम्मान गर्नु नागरिकको पनि दायित्व भएको र यसमा सबै वीरगञ्जवासी सजग हुनुपर्नेमा जोड दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij