काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख मेडिकल अधिकृत डाक्टर शेरबहादुर पुनलाई कोरोना भाइरस नियन्त्रणका लागि मन्त्रालयले चालेको कदमका लागि सहयोग र्पुयाउन बोलाएको स्पष्टीकरण दिएको छ ।
आइतवार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रुघुराम विष्टले डाक्टर पुनलाई कोभिड –१९ नियन्त्रण अभियानको योजनामा सहयोग र्पुयाउन बोलाइएको दाबी गर्नुभयो ।
डा. पुनले पनि आइतबार नै रामशाहपथस्थित मन्त्रालय पुगेर स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायतलाई भेटेपछि आफूलाई स्वास्थ्यमन्त्री तथा मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगरिदिन आग्रह गर्नुभयो ।
यसअघि आफूले पत्र नहेरेको र मन्त्रालय डाकिएको बताएका पुनले आइतबार भने सञ्चार माध्यममा प्रकाशित सामग्रीले आफ्नो ध्यानाकर्षण भएको र विकसित घटनाक्रमलाई आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएको स्पष्टीकरण दिनुभयो ।
विज्ञप्ति नै निकालेर उहाँले आफ्नो हाजिरी टेकु अस्पतालमै हुने र बोलाएको बेला मन्त्रालय आएर कोभिड–१९ विरुद्धको अभियानमा सघाउ र्पुयाउने बताउनुभएको छ ।

डा. पुनद्वारा जारी गरिएकाे विज्ञप्ति
डाक्टर पुनद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘उक्त पत्रानुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड १९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग र्पुयाउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा छ।’ साथै उहाँले आइतबार मन्त्रालयका सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरेको पनि जानकारी दिनुभएको छ ।
कोरोना भाइरसको अपडेटका लागि आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव तथा प्रशासन महाशाखा प्रमुख विष्टले पनि मिडियाले अनर्गल प्रचार गर्दै स्वास्थ्य मन्त्री र मन्त्रालयका अधिकारी चरित्रहत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै आइन्दा यस्तो नगर्न पनि चेतावनी दिनुभयो ।
तर, उहाँले नै विष्टले शनिवार केहि सन्चारमाध्यमसँग डाक्टर पुनलाई मन्त्रालयले मौखिक रुपमा बोलाउँदा नआएपछि पत्र काटेर बोलाइएको बताउनुभएको थियो ।

मन्त्रालयले पठाएकाे पत्र
डाक्टर पुनलाई स्पष्टीकरण सोध्न मन्त्रालय बोलाइएको भन्ने प्रश्नमा सहसचिव विष्टले भन्नुभएको थियो, ‘मन्त्रालयले उहाँलाई बोलाउन पनि नपाउने? उहाँले के काम गर्दै हुनुहुन्छ भनेर बुझ्न बोलाइएको हो।’
सरुवा रोगको उपचार र अनुसन्धानको क्षेत्रमा नेपालकै दक्ष र वरिष्ठ डाक्टर शेरबहादुर पुनलाई विषम् परिस्थितिमा मन्त्रालय बोलाइएको भन्दै सरकारको चौतर्फि आलोचना भएको थियो। कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेका बेला डाक्टर पुनलाई अध्ययन अनुसन्धानमा लगाउनुभन्दा पनि मन्त्रालयमा तानिएको भन्दै आलोचना भएको थियो।
अस्पतालकै केही चिकित्सक र स्वास्थ्य मन्त्रालयका केही अधिकारीहरुको उक्साहटमा डाक्टर पुनलाई स्पष्टीकरण सोधिएको पनि स्रोत बताउँछ।
तर चौतर्फि रुपमा व्यापक जनदबाब आएपछि मन्त्रालयले अस्पतालको काममा बाधा नपुग्ने गरी कोभिड–१९ को अभियानमा सहयोग र्पुयाउन आग्रह गरिएको स्पष्टीकरण दिएको हो । जनदबाबपछि डाक्टर पुन र मन्त्रालय दुवै ‘सेफल्यान्डिङ’ मा पुगेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले टिप्पणी गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij