काठमाडौँ– थानकोट नाका हुँदै घर जान लागेका सर्वसाधारणलाई चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राखेको छ। लकडाउनका कारण हिँडेर आफ्नो घर जान लागेका नागरिकहरुलाई चन्द्रगिरी नगरपालिकाले थानकोटमा क्याम्प बनाएर राखेको हो। बाटोमा अलपत्र परेका श्रमिक, मजदुरहरुलाई नगरपालिकाले क्याम्प बनाएर राखेको हो।
विभिन्न जिल्लामा मजदुरी गर्दै आएका तर लक डाउनका कारण उपत्यका हुँदै हिडेर घर जान लागेका उनीहरुलाई खाने र बस्ने व्यवस्थासहित क्याम्पमा राखिएको छ। कुनै पनि नागरिकले कष्ट झेल्न नपरोस भनेर खाने, बस्ने व्यवस्थासहित स्वास्थ्य जाँच गरी क्याम्पमा राखिएको सांसद अञ्जना विशंखेले बताइन्। थानकोटमा रहेको त्रिभुवन पार्कमा निर्माण गरिएको क्याम्पमा अहिले ३ सय जना रहेको उनले बताइन्।
त्रिभुवन पार्क बस्तीभन्दा टाढा रहेको र पिकनिक स्पट भएकाले लकडाउनको समयमा अन्य कुनै पनि व्यक्तिको सम्पर्कमा उनीहरु पुग्न नसक्ने उनकाे भनाइ छ। विभिन्न १५ वटा स्टल बनाएर उनीहरुको खाने बस्ने व्यवस्थापन गरिएको छ। नेपाली सेनाले डिसइन्फेक्सनको काम गरिरहेको छ। स्वास्थ्य जाँच कक्ष निर्माण गरी उनीहरुको स्वास्थ्य पनि जाँच भइरहेको छ।
तराईका विभिन्न जिल्ला जाँदै गरेका श्रमिकहरुले क्याम्पका कारण खान बस्न सजिलो भएपनि कुनै व्यवस्था गरी घरसम्म जानपाए हुन्थ्यो भन्ने धारणा व्यक्त गरेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij