टीकापुर । विश्वमा नोबेल कोरोना भाइरसको महामारी फैलिएको छ र लाखौं मान्छे मरेका छन । नेपालमा यसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन लगाएको छ । गत चैत ११ गतेदेखि लागेको लकडाउन लम्बिरहेको अवस्थामा दैनिक ज्यालादारी गरेर खाने र विपन्नलाई अत्यावश्यक खाद्यान्नको मार नहोस भने सरकारले उनीहरुलाई राहतको लागि स्थानीय तहहरुलाई निर्देशन दिएपछि स्थानीय तहले वडामार्फत राहत वितरणको काम गरिरहेका छन् ।
राहत वितरण पारदर्शी नभएको र वास्तविक विपन्नहरुले राहत नपाएको समस्या त छदै छ, दैनिक काम गरेर गुजारा चलाउनेहरु राहत लिन जादा पनि प्रहरीले उनीहरूमाथि ज्यादती गर्न थालेको छ ।
यस्तै घटना टीकापुर नगरपालिका वडा नम्बर १ मा भएको छ । वडा नम्बर १ ले राहत लिनका लागि पुरानो वडा कार्यालयमा बोलाएकाले ब्लक ‘ए’ स्थित टीकापुर अस्पतालको जमिनमा भाडामा बसिरहेका दुई परिवारका तीन सदस्य २३ वर्षीय अमर कुमार क्षेत्री, २८ वर्षीय प्रेम क्षेत्री र उनकी श्रीमती राहत लिनका लागि पुरानो वडा कार्यालयतर्फ जाँदै थिए र त्यही क्रममा प्रहरीको गाडी आयो । उनीहरुलाई सोध्यो र राहत लिन जान लागेको बताए तर उनीहरुमाथि प्रहरीले निर्ममता पुर्वक लाठीचार्ज गरे । राहतका लागि गइरहेका अमर कुमार क्षेत्रीले भने, “प्रहरीले सोध्दा राहत लिन गइरहेको कुरा स्पष्ट भन्यौं तर भाउजुबाहेक हामी दाईभाईलाई प्रहरीले निकै पिट्यो ।” उनले थपे, “हामीले के गल्ती गरेका थियौं र? वडा कार्यालयले राहत लिन बोलाएको थियो त्यही अनुसार हामी गयौं तर प्रहरीले पशुलाई जस्तो व्यवहार देखायो, पिटाई खादाखादै नालीमा लडें, हात खुट्टामा चोट लागेको छ, प्रहरी हानेको लाठीको चोट अलग्गै छ ।”
यस्तै उनका दाइ प्रेम क्षेत्रीले भने, “कोरोनाभन्दा अगाडी भोकमरीले मरिएला जस्तो भएको छ । दैनिक माला, औँठी, बोटबिरुवाका बिउँ बेचेर गुजारा चलाउथ्यौं अहिले त्यो पनि छैन अनि राहतका लागि नाम लेखाएका थियौं । राहत अलि ढिलो पाए पनि खुशी थियौं तर खुशीका साथ राहत ल्याउन पाएनौं ।”
उनकी श्रीमतीले भनिन, “प्रहरीको ज्यादती बढी नै भयो । घुम्न, खेल्नका लागि बाटोमा निस्केको भए ठिकै हो तर हामी राहत लिन वडा कार्यालयले बोलाएकाले गएका थियौं तर प्रहरीले लाठी हान्दै भाग, घर जाउ भन्यो अनि घरतर्फ आयौं र पछि महिला महिला मिलेर गयौं । जति जे दिएपनि ल्याउन गार्हो होला भनेर मसंगै श्रीमान र देवर गएका थिए ।”
टीकापुर प्रहरीले अहिले लकडाउनको उल्लंघन कसैले नगरोस भनेर निकै कडाइ गरेको छ । बजारमा अनावश्यक घुम्नेलाई लाठीचार्ज गरिरहेको छ । जसले पछिल्लो समय मानिसहरु प्रायः कमै अनावश्यक रुपमा बाहिर निस्कन्छन् होला । तर राहत लिन जानेलाई पनि यो व्यवहार गरेकाले उनीहरू त्रासमा छन । उनीहरूले भाबुक हुँदै भने, “प्रहरीले न्याय दिलाउछ, न्यायका लागि लड्छ भन्ने आशा थियो । यो झुपडीमा बस्दा अलिकति केही भए प्रहरी छन जस्तो लाग्थ्यो जो अब मरिसक्यो । गल्ती नगर्दा नि यस्तो व्यवहार गर्ने प्रहरीले कसलाई न्याय दिन्छन? यिनिहरुलाई कसले कारबाही गर्छ ?”
टीकापुर प्रहरीले पछिल्लो समय बजारमा गरेको कडाइको तारिफ गर्दै उनीहरुले भने, “हाम्रा यतातिर अनावश्यक आइराख्ने केहिलाइ प्रहरीले लाठीचार्ज गर्दा आफू सुरक्षित भएको महसुस गरेका थियौं तर प्रहरीले सुरक्षाका लागि काम गरेको होकि रिस पोख्न काम गरेको बुझ्न सकेका छैनौं ।”
यस विषयमा कुरा गर्न इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मनोहर भट्टलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij