बर्दिवास – आज मिथिलाञ्चल सहित तराई (मधेशका) बिभिन्न स्थानमा जुरशितल पर्व मनाइने भए पनि कोरोना महामारीको प्रकोपबाट बच्न सरकारले गरेको लकडाउनका कारण यस वर्षको जुरशितल पर्व घरभित्रै बसेर मनाइँदैछ ।
नव वर्षको शुभआरम्भसंगै हरेक वर्ष वैशाखको २ गते तराई मधेशमा मनाइने यो पर्वमा आजको दिन एकाबिहानै घरका जेष्ठ मान्यजन सदस्यले आफूभन्दा परिवारका साना सदस्यलाई शिर एवं तालुमा जल सिंचित गर्दै थपथपाएर शितलताको लागि आर्शिवाद दिने चलन छ । आर्शिवादले गर्दा वर्षभरिनै शितलता, सुख, समृद्धि, शान्ति एवं दीर्घायु तथा उत्तरोत्तर प्रगति हुन्छ भन्ने जनविश्वास रहिआएको छ । आजका दिन रुख विरुवामा पनि पानी सिंचित गरिनुका साथै खेतबारीमा समेत मलजल गर्ने परम्परा छ ।
सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य रहि आएको छ । जुर शितलमा जल सिंचित गर्दा आफुभन्दा सानाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्न सक्ने जनविश्वास रहिआएको छ ।
पर्वको अवसरमा मिथिलाञ्चल लगायत तराईका विभिन्न स्थानमा हिलोपानीमा कुस्ति खेल्ने गरिन्छ । आजको दिनमा अघिल्लो दिन नै पकाएको बासी भात चुल्हो देवतालाई चढाएर घर घरमा भात, दाल, तरकारी, करही बरी, तरुवा, भुटेको र तारेको परिकार लगायत मिष्ठान्न परिकार पकाएर खाने चलन रहि आएको छ ।