२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

कोरोना प्रभाव, लकडाउन र अर्थतन्त्रमा पर्ने असर (उद्यमी कर्माचार्यको विष्लेशण)

कोरोना प्रभाव, लकडाउन र अर्थतन्त्रमा पर्ने असर (उद्यमी कर्माचार्यको विष्लेशण)

अनुभव

गोविन्द कर्माचार्य, संस्थापक कर्माचार्य बिस्कुट

कोरोनाको सम्भावित जोखिमको कारण जारी लकडाउनको प्रभाव नेपालको निजी क्षेत्रमा निकै लामो समय सम्म पर्ने देखिएको छ । राज्यले निजी क्षेत्रका समस्यालाई विशेष चासोको साथ लिएर आवश्यक व्यवस्थापन गर्नु जरुरी छ । निजी क्षेत्रले राज्यलाई तिर्नुपर्ने विभिन्न शुल्क, व्याज तथा दायित्व भुक्तानीको अवधि असार सम्मलाई बढाइएको छ । यद्यपि नेपालको अर्थतन्त्र असार सम्म पनि सुधार हुन सक्ने अवस्था देखिएको छैन । जसले गर्दा यस पटक निजी व्यवसायीहरुले निकै नै कठिन परिस्थिति सामना गर्नुपर्ने निश्चित छ ।

लकडाउनको असर व्यापार र उद्योगमा मात्र सीमित रहँदैन । यसको असर समग्र अर्थतन्त्रमा नै पर्ने निश्चित छ । यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने सम्बन्धमा सरोकारवाला निकायहरुले अहिले देखि नै सोच्नुपर्ने जरुरी छ । निजी उद्योगी व्यवसायीहरुले कामदार तथा कर्मचारीको तलब, बैंकको व्याज, कर्जा, घरभाडा लगायतका विभिन्न दायित्व वहन गर्नुपर्ने हुन्छ । लकडाउनले पारेको प्रभाव उद्योग र व्यवसायको अलावा पर्यटन, शिक्षा, स्वास्थ्य लगायतमा समेत पर्ने देखिएको छ । यसको प्रभाव निम्नबमोजिम व्याख्या गर्न सकिन्छ ।

उद्योगमा पर्ने दिगाे असर

अहिले सञ्चालित उद्योगमा निकै धेरै सङ्ख्यामा मजदुरहरु छन् । अहिले जुन उद्योगहरु बन्द छन्, उद्योग सञ्चालन गर्न चाहेपनि ती उद्योगमा मजदुरहरु तत्कालै सहजै आउन सक्ने अवस्था छैन । साथै उद्योग खुलेपछि र अवस्था सामान्य भईसकेपछि पनिअहिलेको तुलनामा उत्पादित वस्तुको माग समेत घट्ने देखिन्छ । यसबाट उद्योग सञ्चालनमा समेत कठिनाई हुने देखिन्छ ।

 पर्यटन

नेपालमा अहिले सञ्चालनमा रहेका पर्यटकस्तरीय होटलहरुमा निकै ठूलो समस्या सृजना हुने देखिएको छ । यस किसिमको परिस्थितिको कारण पर्यटन क्षेत्र पनि नराम्रोसँग थिलोथिलो भएको छ । नेपालको अलावा विश्वका अन्य देशहरुमा पनि कोरोनाले निकै नराम्रो प्रभाव पारेको छ । जसले गर्दा नेपालमा आउने चाहना भएका व्यक्तिहरु समेत विगत जसरी सहज तवरले नेपालमा आउन सक्ने अवस्था देखिँदैन ।

शिक्षा

विद्यालयहरुमा पनि लकडाउनले पारेको असर उस्तै छ । सरकारले निजी लगानीमा सञ्चालित विद्यालयलाई विद्यार्थीबाट शुल्क नउठाउन तर शिक्षकलाई तलब खुवाउन आदेश दिएको छ । यसबाट विद्यालय सञ्चालकहरु पनि त्रास सिर्जना भएको छ । विद्यालय प्रवद्र्धकहरुमा थप निराशा छाएको छ । बैंकबाट कर्जा लिएर नियमित किस्ता तिर्नुपर्ने र मासिक भाडा लगायतका दायित्व तिर्नुपर्ने अवस्थामा छन् अधिकांश निजी विद्यालयहरु । धेरैजसो विद्यालयहरु सामान्य अवस्थामा त राम्रोसँग चल्न सकेको अवस्था छैन, यसरी दोहोरो भार वहन गर्न कसरी सक्षम हुन्छन् भन्ने कुरा विशेष चासोको विषय बनेको छ ।

स्वास्थ्य क्षेत्र 

काठमाडौंमा सञ्चालित अधिकांश अस्पताल निजी लगानीमा नै सञ्चालनमा रहेका छन् । यसरी निजी लगानीमा सञ्चालित अस्पतालमा एकातिर सरकारले भनेजसरी सुविधा उपलब्ध गराउनुपर्ने अवस्था छ । तर त्यसको लागि न त ती अस्पतालहरुमा प्रयाप्त सुरक्षा सामाग्री उपलब्ध हुन सकेका छन्, न त स्वास्थ्यकर्मीको मनोबल बढाउनको लागि नै राज्यले विशेष व्यवस्था गरेको छ । अर्कोतिर अहिले निजी अस्पतालमा विरामी समेत सहजै जान तयार भइरहेको अवस्था छैन ।

बैंक तथा वित्तीय क्षेत्रः

बैंक पनि त्यसरी नै प्रभावित भएको छ । बैंक, सहकारी लगायतका वित्तीय संस्थाहरु समेत आफैं समस्यामा छन् । यस्तो परिस्थितिलाई विचार गर्दै राज्यले तत्कालै विशेष नीति ल्याई आर्थिक क्षेत्रलाई चलायमान बनाउन जरुरी रहन्छ ।

भाडामा लगाएका निजी घर 

अहिलेको परिस्थितिबाट निजी घरवालाहरु पनि अछुतो छैनन् । सरकारले भाडामा बसेका व्यक्तिलाई घरभाडा छुट दिनको लागि घरवालाहरुलाई आग्रह गरेको छ । तर पनि परिस्थिति जटिल छ ।

अन्त्यमा,

अहिलेको परिस्थितिको असर ढिलोछिटो समग्र नेपाली जनताहरुलाई नै पर्न जान्छ । हरेक उत्पादन तथा सेवाका अन्तिम उपभोक्ता सेवाग्राही जनता नै हुन् । तैपनि हामीलाई भगवान पशुपतिनाथको कृपा मिलेको छ । कोरोना अरु देशको तुलनामा निकै पछि मात्र प्रवेश गरेको छ । यसको अलावा, अहिले सम्म हामीले मानवीय क्षति समेत व्यहोर्नुपरेको छैन । यस्तो अवस्थामा हामी सबैले धैर्यधारण गर्दै हाम्रा आर्थिक गतिविधिलाई जतिसक्दो छिटो चलायमान गराउनु जरुरी छ । हामी सबै मिलेर अहिलेको परिस्थितिलाई सामना गर्नु जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij