सम्पूर्ण ग्रिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं साधारणसभा सम्पन्न भएको छ । शनिवार एक भव्य कार्यक्रम बीच उक्त साधारणसभा सम्पन्न भएको हो । 
संस्थाका अध्यक्ष मंगलकृष्ण श्रेष्ठको सभापतित्व तथा ललितपुर उपमहानगरपालिकाकी उपमेयर गिता सत्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भएको उक्त कार्यक्रममा समाजसेवी, बुद्धिजिवी, पत्रकार, जनप्रतिनिधि, शेयरधनी, उद्योगी व्यवसायी लगायतका व्यक्तिहरुको व्यापक उपस्थिति रहेको थियो ।
संस्थाले साधारणसभाको अवसर पारेर टिटि खोप, सरसफाई तथा रक्तदान लगायतका सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यहरु समेत सम्पन्न गरेको छ । यसको अलावा संस्थाले उत्कृष्ट बचतकर्ता, सञ्चालक, रक्तदाता, वृद्धवृद्धा लगायतलाई सम्मान समेत गरेको छ । संस्थाका उपाध्यक्ष भागवत सुवेदीको स्वागत मञ्तव्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमकी प्रमुख अतिथि उपमेयर गिता सत्यालले संस्थाले सशक्त ढंगले गतिविधिहरु सञ्चालन गरिरहेको र आगामी दिनमा सहकारीका आधारभूत मान्यतामै रही नयाँ कार्यक्रमहरु समेत थप गर्दै जानेमा आफू आश्वस्त रहेको बताउनुभयो ।
सचिव शिव सुनारले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मंगलकृष्ण श्रेष्ठले आय व्यय विवरण र भावी योजना सहितको बार्षिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष भोजराज खड्काले लेखा प्रतिवेदन पेश गरेका थिए ।
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष श्रेष्ठले ग्रिल क्षेत्रमा संलग्न व्यवसायीहरुको अवस्थालाई सशक्त बनाउँदै अघी लैजाने योजना बमोजिम अघी बढाइएको उक्त सहकारीले आपसी सद्भाव र भाइचारा सम्बन्ध सुदृढ बनाउनुको अलावा व्यावसायिक हकहितको सुरक्षामा समेत सहयोग पुगेको बताए । संस्थाले सुरक्षित रुपमा कर्जा लगानी र असुलीलाई बढी प्राथमिकता दिँदै सञ्चालक समिति, लेखा समिति र अन्य उपसमितिहरु बीच समन्वयकारी भूमिका निर्वाह गरेको कारण अहिलेको उपलब्धि हासिल हुन सकेको बताए ।
पछिल्लो समय संस्था गुणस्तरीय सदस्य वृद्धिको योजनामा रहेको कारण तुलनात्मक रुपमा वृद्धिदर कमजोर देखिएपनि संस्था संगठनात्मक रुपमा बलियो बन्दै गएको बताए । हाल यस सहकारीमा सदस्यहरु ३ सय ४२ छन् ।
हाल यस संस्थाले पुँजी रकम ६ करोड ९१ लाख संकलन गर्न सफल छ । जुन अघिल्लो बर्ष ५ करोड १३ लाख रहेको थियो । यसैगरी संस्थाले ५ करोड ४४ लाख निक्षेप संकलन गर्न सफल रहेको छ । जुन अघिल्लो बर्षको ३ करोड ७२ लाख निक्षेप संकलनको तुलनामा ४६.१३ प्रतिशतले बढी हो । यसैगरी संस्थाले हाल ४ करोड ५२ लाख रकम कर्जा लगानी गर्न सफल छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij