२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेपालमा इन्टेरियर क्षेत्रमा युवाहरुकाे स‌ंलग्नता बढ्दै

नेपालमा इन्टेरियर क्षेत्रमा युवाहरुकाे स‌ंलग्नता बढ्दै

राम्राे सम्भावना बाेकेकाे क्षेत्र

मुकेश महर्जन (इन्टेरियर डिजाइनर), निर्देशक, द म्याक्सकोर कर्पोरेसन प्रा.लि


नेपालमा इन्टेरियर क्षेत्रको सम्भावना र महत्व 
नेपालमा इन्टेरियर क्षेत्रको सम्भावना निकै राम्रो छ । पछिल्लो समय नेपाली समाजले पनि सजावटलाई विशेष महत्व दिन थालेको छ । कुनै संरचना निर्माण पश्चात् त्यसको आन्तरिक सजावटले त्यहाँको वातावरणलाई पार्ने प्रभाव निकै महत्वपूर्ण हुने गर्छ । सुव्यवस्थित तवरले गरिने सजावटले त्यहाँ रहँदा खुसीयाली र रोमाञ्चित महसुस समेत गराउँछ । जसले गर्दा हिजोआज मानिसहरुको जमघट हुने अफिस, बैंक, होटल, रेष्टुरेन्ट, क्याफे, रिसोर्ट तथा कर्पोरेट कम्पनीहरुमा मात्र नभई बसोबासको लागि प्रयोग गरिने घरमा समेत इन्टेरियर चासोको विषय बनेको पाइन्छ । यसले एकातिर नेपाली समाज शौखिन बन्दै गएको प्रष्ट सङ्केत गर्छ भने व्यावसायिक संस्थाहरुको व्यवसाय अभिवृद्धिमा समेत यसले त्यत्ति नै लाभदायक भूमिका निर्वाह गरेको समेत पाउन सकिन्छ । विगतमा कहीँकतै चर्चा नहुने इन्टेरियर प्रतिको चाहना अहिले उपत्यकामा मात्र सीमित नभई अन्य शहरहरुमा समेत विस्तार हुँदै गएको छ ।

ग्रामीण भेगमा विस्तार हुँदै गरेका होटल तथा रिसोर्टहरुमा समेत सजावटलाई निकै नै महत्व दिइने प्रचलन विकास भएको छ । व्यवस्थित र योजनावद्ध तवरले गरिने भौतिक संरचनाको डिजाइनले मानिसलाई आकर्षित मात्र नभई भावनात्मक रुपमा समेत दिगो र सकारात्मक प्रभाव पार्ने गर्दछ । अहिले यो कुरालाई स्वीकार गर्दै आफ्नो संरचना निर्माण पश्चात् त्यसको थप व्यवस्थापनमा समेत ठूलो रकम खर्च गर्न तयार हुने जमात बढिरहेको छ । जसले गर्दा अहिले इन्टेरियर मानिसको दैनिक जीवनको अभिन्न अंगको रुपमा विकास हुँदै गएको छ ।

अहिले जसरी यो क्षेत्र प्रति मानिसहरुको चासो बढ्दै गएको छ, यसलाई हेर्दा नेपालमा पनि आगामी दिनमा समेत इन्टेरियरको सम्भावना निकै नै राम्रो रहने अनुमान गर्न सकिन्छ । यो आफैंमा प्राविधिक क्षेत्र हो । यस क्षेत्रको बारेमा चासो बढ्दै गएसँगै आगामी बजार सम्भावनालाइ समेत विचार गर्दै अहिले विभिन्न शैक्षिक संस्थाहरुले शैक्षिक कार्यक्रम अन्तरगत नै इन्टेरियर डिजाइन कोर्ष समेत समेटेका छन् । यद्यपि यो कलासँग सम्बन्धित क्षेत्र पनि हो । जसले गर्दा इन्टेरियरिङ क्षेत्रमा जोडिएर यसै क्षेत्रमा आफ्नो करियर बनाउँदै इन्टेरियर क्षेत्रलाई प्रवद्र्धन गर्ने र यसै क्षेत्रलाई नै व्यावसायिक क्षेत्रको रुपमा अपनाउने चासो भएका व्यक्तिहरुमा औपचारिक कोर्षको अलावा भित्र देखि नै विशेष रुचि पहिले देखि नै जागृत हुनुपर्छ । केही समयको छोटो तालिम लिएर मात्र यस क्षेत्रलाई राम्ररी बुझ्न र त्यसै क्षेत्रमा अघी बढ्न सहज नहुन सक्छ । यसकारण रुचि र जाँगर पनि सँगसँगै हुनु निकै जरुरी रहन्छ । प्राविधिक क्षेत्रमा सैद्धान्तिक ज्ञानको अलावा प्रयोगात्मक अभ्यासले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । जुन इन्टेरियर क्षेत्रमा पनि लागु हुन्छ । यसको अलावा विश्व बजारमा नयाँ विकास भएका प्रविधिहरुको ज्ञान, मानिसको रुचिमा आएको परिवर्तन लगायतमा समेत रुचि हुनु त्यत्ति नै जरुरी रहन्छ ।

रामगोपाल ताम्राकार, (इन्टेरियर डिजाइनर), निर्देशक, द म्याक्सकोर कर्पोरेसन प्रा.लि

इन्टेरियर डिजाइनमा मेरो प्रवेश 
नेपालबाट सन् २००४ मा मैले इन्टेरियर डिजाइन सम्बन्धी डिएलपी स्कुल अफ प्लानिङ एण्ड डिजाइनबाट डिप्लोमा तहको शैक्षिक कार्यक्रम हासिल गरिसकेपछि करिब साढे ४ बर्ष नेपालमा नै फ्रिल्यान्सरको रुपमा काम गरेँ । यस क्षेत्रलाई नै आफ्नो भावी करियर बनाउने योजना बमोजिम अझ नजिकबाट बुझ्ने र थप सिक्ने योजना बनाएर २ बर्ष वहराइन गएँ । त्यहाँ रहँदा मैले इन्टेरियर सम्बन्धी निकै महत्वपूर्ण ज्ञान हासिल गर्न सफल भएँ । मैले यस क्षेत्रका विभिन्न पक्षहरुलाई आफैंले सुक्ष्म तवरले अध्ययन गर्ने मौका पाएँ । मैले त्यहाँ रहँदा सिकेको सीप र अनुभवकै परिणाम भन्न सकिन्छ अहिलेको म्याक्सकोर कर्पोरेसन । अहिले हामीले सञ्चालन गरिरहेको यस म्याक्सकोर कर्पोरेसन रामगोपाल ताम्राकार र म (मुकेश महर्जन)ले २ जनाको सहकार्यमा सञ्चालन गरिरहेका छौं ।

गुणस्तरीय सेवामा केन्द्रित छौं 
हामीले हाम्रा सेवाग्राहीलाई सन्तुष्ट भएको देख्न चाहन्छौं । सोहीबमोजिम कसरी हामीले प्रवाह गर्ने सेवालाई अझ स्तरीय र थप परिमार्जित गर्न सकिन्छ भन्नेमा विशेष केन्द्रित रहने गर्छौं । सेवाग्राहीका सबै चाहनाहरुलाई सम्बोधन गर्दै आफ्नो डिजाइनमा नयाँपन ल्याउन सकेको खण्डमा मात्र हामीलाई पनि सन्तुष्टि महसुस हुन्छ ।

इन्टेरियर डिजाइनर एसोसिएसनमा सदस्य 
अहिले हामी नेपाल इन्टेरियर डिजाइन एसोसिएसनमा समेत सदस्य छौं । यस क्षेत्रमा संलग्न व्यक्तिहरुको हक, हित र अधिकारको उद्धेश्यले स्थापना भएको यस संस्थामा अहिले करिब ३ सय व्यक्तिहरु सदस्य छन् ।

म्याक्सकोरका कार्यक्षेत्र 
अहिले हामीले नेपालमा रहेर खासगरी क्याफे, गाडी शोरुम, अफिस, रेष्टुरेन्ट, कफी शप लगायतमा इन्टेरियर डिजाइन सम्बन्धी कामहरु गर्दै आएका छौं । हामीले कुनै सेवाग्राहीले आफ्नो आवश्यकता बमोजिम कुन किसिमले डिजाइन गर्न चाहनुभएको छ, उक्त चाहना बमोजिमको डिजाइनलाई थ्र्रिडि प्रिजेन्टेसन मार्फत सम्बन्धित व्यक्तिलाई बुझाएर त्यही डिजाइनमा यसलाई अन्तिम रुप दिने गर्छौं ।

बदलिँदो परिस्थिति
विगतका दिनहरुमा फर्निचरहरुको व्यवस्थापन भए पुग्छ भन्ने मान्यता राख्ने हाम्रो समाजमा इन्टेरियर प्रतिको अहिले जुन चासो विस्तार भएको छ, यसलाई हाम्रो दृष्टिकोणमा आएको ठूलो परिवर्तन मान्नुपर्छ ।

इन्टेरियर के हो ?
कुनै कोठा वा संरचनालाई सजावटको क्रममा कसरी त्यसलाई उत्कृष्ट तवरले आकर्षित हुने गरी डिजाइन गर्न सकिन्छ ? कुन सामान कता राख्दा ठीक हुन्छ ? रङको छनौट तथा संयोजन कसरी गर्ने ? प्रकाश तथा हावाको व्यवस्थापन कसरी गर्ने ? लगायतका कुराहरुमा इन्टेरियरले विशेष भूमिका निर्वाह गर्दछ । मानिसहरुले कुनै विदा मनाउन वा साथीहरुसँग भेटघाटको क्रममा केहीबेर आनन्दपूर्वक समय बिताउन जाने क्रममा खर्च गर्ने रकमलाई भन्दा पनि उक्त रकम बापत पाउने सेवाको पूर्ण सन्तुष्टि चाहन्छन् । जस्तो कि तवरले व्यवस्थित कफी शपमा गएर कफी खाँदा मानिसले प्राप्त गर्ने आनन्द आफ्नो घरमा आफैंले पकाएर खाएको कफी भन्दा विशेष महसुस गर्छन् । यसरी मानिसको रुचिमा पार्ने प्रभावमा इन्टेरियरको समेत विशेष भूमिका रहने गर्छ ।

नेपालमा इन्टेरियर सम्बन्धी अध्ययन 
अहिले नेपालमा केही शैक्षिक संस्थाहरुले इन्टेरियर डिजाइनिङ सम्बन्धी अध्ययन अध्यापन कार्य गराउँदै आएका छन् । विगतमा नेपालमा डिप्लोमा स्तरको इन्टेरियर डिजाइन कोर्ष सञ्चालन हुँदै आएकोमा अहिले व्याचलर लेभलको शैक्षिक कार्यक्रम समेत सञ्चालन भइरहेको छ । यद्यपि बजारमा आवश्यकता बमोजिम इन्टेरियर सम्बन्धी ज्ञान भएका जनशक्ति प्रयाप्त मात्रामा भेट्न सकिने अवस्था भने छैन । यस कोर्षको अध्ययन गरेका व्यक्तिहरुलाई सम्बन्धित कम्पनीले नै सिकाउँदै काममा लगाउनुपर्ने अवस्था छ ।

आफ्नो क्षमता पहिचान गर्नु जरुरी 
अहिले म आफू इन्टेरियर क्षेत्रकै लागि जन्मिएको हुँ जस्तो पनि लाग्छ । सानो छँदादेखि नै मलाई घरको व्यवस्थापन तथा सरसफाईमा विशेष रुचि रहँदै आएको थियो । आफु बस्ने कोठालाई कसरी बढी सुन्दर बनाउन सकिन्छ भन्ने तर्फ मेरो सोच गइरहन्थ्यो । सानै देखि मेरो ध्यान विद्यालय तहको पढाईमा भन्दा बढी स्केचमा जाने गथ्र्याे । यसले गर्दा पनि मलाई यो क्षेत्रमा रुचि बढ्दै गयो । सोही बमोजिम म यस क्षेत्रमा जोडिएको हुँ । अहिले पनि मलाई बाल्यकालको त्यो बानी सम्झिँदा रोमाञ्चक महसुस हुन्छ । मलाई लाग्छ, हामी हरेक व्यक्ति भित्र केही न केही विशेष क्षमता हुने गर्छ । त्यस क्षमतालाई पहिचान गरेर सोहीबमोजिम अघी बढ्ने हो भने अवश्य पनि सफल हुन सकिन्छ ।

सोचाई परिवर्तन आवश्यक 
अधिकांश मानिसहरुमा राम्रो तवरले इन्टेरियर गर्न ठूलै रकम खर्च गर्नुपर्छ । राम्रै सामान राख्नुपर्छ भन्ने किसिमको हुने गरेको पाइन्छ । तर त्यसो होइन । उनीहरु आवश्यक भन्दा बढी रकम खर्च गरेर मात्र इन्टेरियर राम्रो र टिकाउ हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन । आफ्नो आवश्यकता र उपलब्ध (प्रयोग गरिने) स्रोतसाधनको आधारमा बजेट तलमाथि हुन सक्छ । बरु के बुझ्नुपर्छ भने सजावटमा महँगा सामान राखेर बढी खर्च गर्नुभन्दा पनि शुरुमा सामान्य वस्तु नै राखेर समय–समयमा ती सामानहरुको फरक तवरले व्यवस्थापन गर्ने साथै सरसफाई तथा रङरोगन लगायतमा ख्याल गर्ने कार्य समेत निकै महत्वपुर्ण हुने गर्छ । यसबाट आफ्नो इन्टेरियर डिजाइनलाई राम्रो र टिकाउ समेत बनाउन सकिन्छ ।

इन्टेरियर डिजाइनर तथा  द म्याक्सकोर कर्पोरेसन प्रा.लि‍का निर्देशक मुकेश महर्जन सँगकाे कुराकानीमा अाधारित

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij