काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-१२ मा तीजको दर खाएका ५० जना भन्दा बढी मानिसहरू बिरामी परेका छन् । कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय र पाँचखाल प्रहरी चौकीको टोली शनिबार बिहान घटनास्थल पुगेर बिरामीहरुलाई उपचारको लागि पठाएको छ । बिरामी भएकाहरुको धुलिखेल सामुदायिक अस्पताल र शिरमेमोरियल अस्पतालमा उपचार भैरहेको एसपी रविराज खड्काले जानकारी दिए । केहीको पाँचखालस्थित गौतम मेडिकल र सदीप मेडिकलमा उपचार भइरहेको छ । बिरामी भएकाहरुमा महिला, पुरुष र बालबालिका छन् । उनीहरुमा फुड प्वाइजन भएको र सबैजना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।