शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षाको आवश्यकतामा जोड दिएका छन्।
जयगोविन्द साह अध्ययन केन्द्रद्वारा बिहीबार जनकपुरमा आयोजित ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेलले ्नयाँ पुस्ताको माग अनुरूपको शिक्षा अहिलेको आवश्यकता भएको बताए।
मन्त्री पोखरेलले अब विद्यालयमा राजनीति र ट्रेड युनियनको कुरा नगरी प्राविधिक शिक्षाको संस्कृति निर्माणतर्फ उन्मुख हुनु जरुरी रहेको बताए।
उनले सरकारले विगतमा भएका विसङ्गतिलाई हटाउने धेयले अनिवार्य शिक्षा ऐन ल्याउन लागेको जानकारी दिए। सरकारी विद्यालयको अवस्था ज्यादै खराब भएका कारण यसका सुधारका लागि सबैको गहन जिम्मेवारीको आवश्यकता छ भन्दै अब विद्यालयमा सुयोग्य शिक्षक राख्ने प्रणालीको विकास अपरिहार्य भइसकेको उनको भनाइ थियो।
सरकारले फरक क्षमता भएका विद्यार्थीका लागि फरक विद्यालय खोल्ने तयारी गरिरहेको जानकारी गराउँदै शिक्षामन्त्री पोखरेलले अबको साक्षरता अभियानलाई पूर्णरूपले सफल बनाउन सबै निकाय अग्रसर हुनुपर्ने धारणा राखे।
जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय निकायका पदाधिकारी, शिक्षक र गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। रासस
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij