२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

व्यवहारले मनुष्य भएर बाँच्ने कोशिस गरौं

व्यवहारले मनुष्य भएर बाँच्ने कोशिस गरौं

महेश्वर बनेपाली

हिजो म को थिएँ ? कहाँ थिएँ ? कस्तो थिएँ ? मलाई जन्माउन, हुर्काउन मेरी आमाले के–के गरिन् ? यस्ता कुराहरुलाई पनि मनन गर्दै अब म वास्तविक मनुष्य भएर बाँच्ने कोशीस गर्नेछु भन्ने अठोट गरौं । भगवानको वरदान स्वरुप भनौं या प्रकृतिको देन स्वरुप भनौं, संसारमा धेरै प्रकारका प्राणीहरुको सृष्टि भएको छ । हरेक प्राणीको आ–आफ्नै महत्व, रुपरङ्ग र विशेषता छ । शाकाहारी होस् या मांसाहारी आ–आफ्नै विविधता छ । त्यस मध्ये हामी मनुष्य अर्थात मानवजाती पनि ती प्राणी भित्रै पर्छौं । जसको विशेषता अरु प्राणी भन्दा निक्कै महत्वपूर्ण, सर्वश्रेष्ठ, चेतनशील, विवेकशील, सबभन्दा उच्चकोटीको अझ भन्नुपर्दा मानिस त प्राणीजातीका सृष्टिकर्ता भगवानकै अनुहारसँग समेत मिल्दोजुुल्दो छ । तर व्यवहारमा भगवानसँग मेल खाएको भने छैन । चाहे हिन्दु धर्म होस् या मुस्लिम, जुनसुकै धर्म मान्ने भएतापनि हर धर्मका भगवानको रुप, अनुहार मनुष्य जातीकै अनुहार वा रुपसँग मिल्छ । यसमा कुनै सन्देह छैन, हर धर्मको विशेषता, उद्देश्य हर प्राणी या मानव कल्याण, भेदभावरहित नै छ, यसमा कुनै दुईमत छैन, ध्रुवसत्य छ । तर हामी मानव जाती या अरु प्राणी जातीमा रुपरङ फरक छ । आपसी भेदभाव समेत हुने गर्छ । अरु प्राणीजातीे आ–आफ्नो जात अनुसार मिलेकै हुन्छन् । जस्तै– बाघसँग बाघ मिलेकै हुन्छ, हात्तीसँग हात्ती मिलेकै हुन्छ तर हामी विवेकशील प्राणी भएर पनि मनुष्य जाती मिलेका र भेदभाव रहित भएको देखिँदैनौं ।

पुरुषले पुरुषलाई नारीले नारीलाई कहिल्यै पनि एउटै नजरले हेरेको देखिँदैन । यहाँसम्मकी आफ्नै जन्मदाता बाबु–आमा, आफ्नै दिदीबहिनी, दाजुभाई समेतलाई त बाँकी राखिँदैन भने अरुको त कुरै छाडौं । यसबारे यहाँ वर्णन गर्नु आवश्यक ठानिन । साथै तपाईहरु पनि अनविज्ञ पक्कै हुनुहुन्न होला । धार्मिक तथा पौराणिककालका महाभारत, रामायण इत्यादिमा समेत एउटा नारीको दुःख वेदना अर्को नारीले बुझेर पनि नबुझे सरह गरी आफैंमा नै स्वार्थलिप्त भएका उदाहरणहरु भेटिन्छन् । बल्की मानवले मानवलाई मानवीय नाताले नहेरिकन दानवीय व्यवहार गरेका धेरै उदाहरण प्रस्तुत भएका छन् ।

गत महिनाको २०७५ जेष्ठ २६ गते अन्नपूर्ण पोष्टको अंक ३८ मा उमा विष्ट बहिनीद्वारा प्रकाशित नेपालकै मंगलसेन ओली गाँउकी मथुरा परियारी छाउप्रथा बारे “बरु देउता रिसाउन्, म छाउ मान्दिन” भन्ने उहाँको दुखित लेख पढ्दा र उहाँले उदाहरणीय रुपमा “हामी मानव, हाम्रो समाजले बाख्राको पाठो जन्मे काखीमा च्यापेर घर लैजान्छ रे, मान्छेको बच्चा जन्मे १२ दिनसम्म छुँदैन रे, बाख्रालाई चाहिँ छुइ नलाग्ने, मान्छेलाई लाग्ने भन्ने यी सबै मान्छेले मान्छेलाई बनाएको मनमौजी हो” भन्ने शब्दले म स्वयम्लाई समेत दुखित बनाएको छ, तपाईहरुलाई समेत दुःख लागेको होला । अवश्य विवेकशील, चेतनशील हामी मानव जाती भएर जन्मेका छौं यस धर्तीमा, तैपनि मानवीय रुपमा दयामाया, सदाचार भएर किन बाँच्न नसकेका हौंला, समाजका अगुवाइ गर्नेहरु हो, म पनि एउटी नारी आमाकै कोखबाट जन्मेको, हुर्केको, बढेको हुँ । मेरी आमाले मलाई हुर्काउन, बढाउन, कत्तिको दुःख, पीडा भोगेर हुर्काउनुभयो । त्यो अनुमान समेत गर्न सक्दिनँ । अरु आमाले पनि त्यतिकै दुःख, कष्ट भोगेका हुन्छन्, उनीहरु पनि मानव नै हुन् भने हाम्रो मनभित्र किन दया, मायाको भाव जाग्न नसकेको होला ? बल्की पशु जस्तो बाख्रा प्रति माया जाग्ने, हामी मनुष्य भएर मनुष्य प्रति नै भने दयामाया नजाग्ने, कस्तो विचित्रको मनुष्य समाज ? भनिन्छ हामी मानिस भएर जन्मेका छौं, साथै विवेकशील, चेतनशील, सर्वश्रेष्ठ पनि कहलिएका छौं । यसो हुनको निम्ति पनि हाम्रो जीवनको पहिलो गुरु नै ती नारी आमा नै हुन् भने ती नारी आमाले किन अरु नारीको पनि सोही प्रकृतिको समस्या, पिडा, दुःख त्यस्तै छ भनी हेक्का राख्न र आफ्ना सन्ततीलाई भन्न नसकेकी होलिन् ? मलाई जस्तै अरुलाई पनि दयामाया राख भनी ।

मूलत हामी मानव (मनुष्य) सर्वश्रेष्ठ, विवेकशील, चेतनशील, मानव प्राणी भएर जन्मेका छौं , हिजो म को थिएँ ? कहाँ थिएँ ? मेरो जीवनको पहिलो गुरु को हो ? मलाई जन्माउन, हुर्काउन मेरी आमाले कति दुःख पीडा सहिन् ? अब मेरो जीवनको लक्ष्य के हुनुपर्छ ? यस्ता विविध प्रश्नहरु बारे पनि सोचविचार गर्नु जरुरी छ । मानिस एक सामाजिक प्राणी हो, समाजको लागि, मानव कल्याणको लागि मेरो पनि दायित्व रहन्छ कि रहँदैन ? यसको लागि मैले के गर्न सक्छु ? के गर्नु हुँदैन ? भनी हेक्का राख्नु नितान्त जरुरी छ । हर मानव जीवनमा दुई पटक बालक हुन्छ, युवा भने जीवनकालमा एक पटक मात्र हुन्छ, त्यही युवा जीवनलाई सही मार्गमा लैजान सकेमात्र हामी समाजमा एक उदाहरणीय पात्र कहलिन सक्छौं । त्यसैकारण युवा जीवनको महत्व कति छ भन्ने कुरालाई सधैँ महत्वका साथ मनन् गरौं ।

यसरी नै जीवनको महत्वपूर्ण घडीलाई पनि याद राखौं । जीवन लामो छ, समय छोटो छ, समय आउँछ पर्खिंदैन, बगेको खोला फर्किंदैन, समय गुमाउन सजिलो छ, तर समयलाई रोक्न सकिँदैन, बल्की समयलाई सही मार्गमा लैजान सके हाम्रो जीवन सदा सफल हुनेछ । हाम्रो मानवजीवन सर्वश्रेष्ठ छ, विवेकशील छ, यसैकारण यसलाई सही बाटोमा लैजाने प्रयत्न गरौं । जीवन बाँच्नुको अर्थ मोज मस्ती, सुखसयललाई ध्यान दिनु मात्र जीवनको मूल सार्थकता नभएको कुरालाई मनन गर्दै प्राणी भएर जन्मेपछि एकदिन त अवश्य यो भौतिक शरीरलाई त्याग्नै पर्ने यथार्थलाई स्वीकार्दै मानव भएर जिउने कोसिस गरौं । । यसमा कुनै निसन्देह छैन, चाहे धनी होस् या गरीब नै ? चाहे शक्तिशाली होस्, रुपवान, गुणवान जे भएपनि यो संसारबाट बिदा लिएर अवश्य जानुपर्छ । नाङ्गै आइयो, नाङ्गै नै यो संसारबाट जानुपर्छ भने किन अरुलाई चित्त दुखाएर, पिडा दिएर जाने ? सत्य के हो ? असत्य के हो ? ‘असत्य कहिल्यै टिक्दैन, सत्य कहिले मर्दैन’ भन्ने उखानलाई मनमा राख्ने गरौं ।

दुई दिनको जीन्दगी छ, जीन्दगीको के छ र भर ? घर छ सम्पत्ती छ, सबथोक छ, तैपनि म खुसी छु, सुखी छु भन्ने यो संसारमा को नै छ र ? त्यसकारण हामी कसैको जीवनलाई दुःख दिएर, पिडा दिएर बाँच्ने कोशीस नगरौं । भनिन्छ, ‘जलाउन सक्छांै भने हामी कुनै मन्दिरमा बल्की दीप जलाऊँ तर कसैको दिललाई जलाउने कोशीस नगरौं’ जो महान उद्देश्यका लागि मर्छ, त्यसको कहिल्यै हार हुँदैन । मानिस रुँदै जन्मन्छ, सिकायत गर्दै जिउँछ र निरास हुँदै मर्छ । सबैको हितमा नै हाम्रो भलो लुकेको हुन्छ । भोगवासनाले चिरकाल सम्म दुःख दिन्छ । व्यक्तिको अनुहार भन्दा उसको पवित्र व्यवहार सुन्दर हुन्छ । दुःखको सागरभित्र सुख हुन्छ भने सुखको सागरभित्र दुःख हुन्छ । हर मानवजीवनमा सुख पनि ऊ आफंैभित्र नै हुन्छ, दुःख पनि ऊ आफै भित्र नै । दुःख पर्दा सुख पनि आउँछ भनी सोच्नुपर्छ र सुख पर्दा दुःख पनि आउँछ भन्ने हेक्का राख्नुपर्छ । जसले गर्दा मानिसलाई सधैँ समुद्र जस्तै धैर्य, सौम्य र शान्त बन्न सहयोग पुग्छ । हरेक इच्छाबाट दुःख जन्मिन्छ, जबसम्म इच्छाको चाहना हुन्छ, तबसम्म दुःखले छोड्दैन । मन शान्त भए संसार स्वतः शान्त हुन्छ । हर सुख दुःख हामै्र मनभित्रै लुकेको हुन्छ । तसर्थ हाम्रै मनलाई कसरी शान्त हुन्छ, त्यसैको खोजी गर्नु बुद्धिमानी हुन्छ । जसलाई खोज्न कहीँकतै भौंतारिनु आवश्यक छैन, हाम्रै मनभित्र लुकेका छन्, जहाँ लोभ, लालच, मोह, इष्र्या, घमण्ड । यी सबै कुरालाई जबसम्म त्याग्न सकिँदैन, तबसम्म कहिल्यै पनि हाम्रो मनभित्र शान्ति हुनेछैन ।

भनिन्छ,
सुख बोटमा फल्दैन रे, बल्की कर्म गर्नु पर्छ ।
खुसी कसैले दिँदैन रे, सन्तोष मान्नु पर्छ ।
साथ कसैले दिँदैन रे, मनै बुझाउनु पर्छ ।
महेश्वर बनेपाली
हाल : भक्तपुर, दत्तात्रय

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij