
सुर्योदय, सुर्यास्त लगायतका दृश्यहरु समेत राम्रो तवरले देख्न सकिने नगरकोट क्षेत्रलाई नेपालमा पर्यटकीय आकर्षणको हिसाबले समेत निकै नै महत्वको साथ हेर्ने गरिन्छ । यद्यपि नेपालमा अहिलेको अवस्थामा नगरकोट क्षेत्रमा राम्रो बाटोघाटो, पूर्वाधार, खानेपानी लगायतका वस्तुहरुको अभावमा यो क्षेत्र जुन रुपमा विकास हुनुपर्ने थियो, त्यो भने हुन सकेको छैन ।
नगरकोटको विकासको लागि के गर्नुपर्छ ?
नगरकोट क्षेत्रको विकासको निम्ति यस क्षेत्रमा सार्वजनिक शौचालय, पर्यटन बसपार्क, व्यवस्थित शहरीकरण लगायतका कार्यहरु गरिनुपर्ने आवश्यकता छ । नेपालमा बाहिरबाट नगरकोट प्रतिको जुन बुझाई छ, त्यसलाई यथार्थमा बदल्नको निम्ति नगरकोट क्षेत्रमा निकै धेरै कामहरु गर्नुपर्ने हुन्छ । यद्यपि नगरकोटको विकास र सम्भावना बारे अहिले सम्म व्यवसायी र राज्य पक्षबाट काम हुन नसक्दा नगरकोट क्षेत्रको पर्यटनले राम्रो गति लिन सकेको छैन ।
पछिल्लोे समय नगरकोट क्षेत्रका व्यवसायीहरुकै पहलमा उक्त क्षेत्रको विकासको निम्ति व्यवसायीहरुले पनि आफ्नो दायित्व पूरा गर्दै पर्यटन आकर्षणको निम्ति प्रभावकारी भूमीका निर्वाह गर्नुपर्छ भन्ने मान्यता बमोजिम नगरकोट नाल्दुम पर्यटन विकास समिति स्थापना गरी यसै समिति मार्फत व्यवसायीहरुकै सहकार्य र सहभागितामा नगरकोट क्षेत्रको विकासको लागि पहल गर्ने काम समेत हुँदै आएको छ । समितिले संचालन गर्दै आएका गतिविधिहरुलाई अन्य सरकारी निकाय समेतको सहकार्यबाट मात्रै ठूलो क्षेत्रमा विस्तार गर्न सकिने अवस्था समेत छ । अहिलेको संघीय ढाँचामा स्थानीय तह बमोजिम अबका विकासका कार्यहरु अघी बढ्न लागेको अहिलेको परिप्रेक्ष्यमा पर्यटन व्यवसायी र समितिसँग मिलेर नगरकोट क्षेत्रको विकासको निम्ति के कस्ता कामहरु अघी बढाउन सकिन्छ सोही बमोजिम अबका गतिविधिहरु सञ्चालन गरिनुपर्ने पर्यटन व्यवसायी प्रदीप अधिकारीको धारणा छ । 
पर्यटन क्षेत्रलाई माथि उठाउनको निम्ति अब दिगो योजनाको साथ अघी बढ्नुपर्ने आवश्यकता छ । यसो हुनसके नगरकोट क्षेत्र मार्फत नेपालमा पर्यटन क्षेत्रको विकासको निम्ति महत्वपूर्ण योगदान दिन सकिन्छ । नगरकोट क्षेत्र पर्यटन प्रवद्र्धनको निम्ति निकै राम्रो सम्भावना बोकेको क्षेत्र हो । राजधानी शहरको नजिकै रहेको यस क्षेत्रको पर्यटन प्रवद्र्धनको निम्ति अहिले सम्म व्यवसायीहरुकै सक्रियतामा प्रत्येक बर्ष महोत्सव आयोजना गर्ने गरिन्छ । उक्त महोत्सवबाट सङ्कलन हुने रकमले शहरको व्यवस्थापन, सरसफाई लगायतका कामहरु गरिँदै आइएको छ ।
यद्यपि यस क्षेत्रको पूर्वाधार विकास भने निकै नै कमजोर छ । हाल सम्म नगरकोट क्षेत्रमा राम्रो बाटो बन्न नसक्दा नगरकोट प्रतिको मानिसको बुझाईमा समेत नकारात्मक प्रभाव पर्न सक्ने अवस्था छ । पछिल्लो समय नगरकोट क्षेत्रमा लगानी विस्तार भइरहेको भएपनि ढुक्क भएर ठूलो लगानी गरिहाल्ने परिस्थिति अझै बनेको छैन ।
नगरकोटको महत्व ः
राजधानी शहर नजिकै रहनुको अलावा चिसापानी जोडिने ट्रयाक नगरकोटमा नै रहेको, शंखरापुर क्षेत्रमा प्याराग्लाइडिङ शुरु भएको, पर्यटक आकर्षणको निम्ति मानवनिर्मित संरचना समेत निर्माण गर्न सकिने प्रयाप्त सम्भावना रहेको लगायतको कारण नगरकोट क्षेत्रको पर्यटनलाई विशेष चासोको साथ लिने गरिन्छ । यस क्षेत्रको पर्यटकीय विस्तारको लागि राज्यले चासो दिन सकेको खण्ढमा गति लिन सक्नेमा भने स्थानीय व्यवसायीहरु आशावादी नै रहेको पाइएको छ । नेपाल पर्यटन वोर्ड, स्थानीय तह, पर्यटन व्यवसायी लगायत सबै सरोकारवाला निकायको सहकार्य र सहयोगमा यस क्षेत्रमा पर्यटन गतिविधिहरुले राम्रो गति लिन सक्छन् ।
राजनीतिक दलले चासो नदिएको क्षेत्र ः
विभिन्न कार्यक्रम आयोजना हुने क्रममा समय समयमा नगरकोट गइरहने नेताहरुल समेत यस क्षेत्रको पर्यटकीय विकासको लागि आश्वासन मात्रै दिँदै आएका छन् । व्यावहारिक रुपमा यस क्षेत्रको पर्यटकीय विकासको निम्ति कसैले पनि चासो नराखेको व्यवसायीहरुको गुनासो छ ।
रोजगारी सृजनामा ठूलो सहयोग ः
राजधानीबाट करिब ३२ किलोमिटरको दूरीमा रहेको नगरकोट स्थित संचालित करिब ७० ओटा होटलहरु हाल नाल्दुम पर्यटन विकास समितिमा दर्ता भएका छन् । यी होटलहरु मार्फत स्थानीय क्षेत्रका नै करिब १५ सय बढी व्यक्तिहरुले विभिन्न भूमीकामा रोजगारी प्राप्त गरेका छन् । हाल नगरकोट क्षेत्रमा पछिल्लो समय तारे होटलहरु समेत खुल्ने क्रम बढ्दो छ ।
नगरकोट चिनाउन होटलको भूमीका महत्वपूर्ण ः
अहिले नगरकोट स्तरीय होटलहरु निर्माण भइरहेको क्षेत्रको रुपमा समेत चिनिँदै गएको छ । यस क्षेत्रमा भर्खर मात्रै ४ तारे स्तरीय मिस्टिक माउन्टेन होटल निर्माण भएको छ । होटल क्लब हिमालयलाई पहिले देखि नै नगरकोटलाई पर्यटकीय सम्भावनाको क्षेत्रको रुपमा चिनाउने होटलको रुपमा लिन सकिन्छ । हिल साइड भिलेज रिसोर्ट, सेवेन स्टार लगायत होटलहरु पनि यस क्षेत्रमा छन् । केही समयमा नै झन्डै १ अर्बको लगानीमा द लिफ होटल सञ्चालनमा आउने क्रममा छ । यसरी हेर्दा नगरकोट क्षेत्रमा व्यवसायीहरु पर्यटन तथा होटलमा लगानीको निम्ति निकै नै आतुर रहेको बुझ्न सकिन्छ ।
अन्य सम्भावना ः
होटल बाहेक अन्य क्षेत्रहरु समेत हाल नगरकोट क्षेत्रमा फस्टाउने क्रममा छन् । अर्गानिक खेती गर्ने प्रचलन नगरकोट क्षेत्रमा बढेको छ । पछिल्लो समय पर्यटकहरु समेत अर्गानिक प्रति आकर्षित भइरहेको अवस्थामा नगरकोट क्षेत्रमा उत्पादन भएको अर्गानिक तरकारी यसै नगरकोट क्षेत्रमा नै खपत भइरहेको अवस्था छ ।
संस्कृतिको आदानप्रदान ः
विविधताले धनी नेपालको संस्कार पनि पर्यटन प्रवद्र्धनको निम्ति निकै नै महत्वपूर्ण मानिन्छ । नेपालका अन्य क्षेत्रमा स्थानीय भेषभूषा र संस्कृतिले पर्यटन प्रवद्र्धनको निम्ति सहयोग पुर्याएजसरी नगरकोट क्षेत्रमा पनि बढी प्रचलनमा रहेको तामाङ संस्कृतिको प्रवद्र्धन गर्नसके यस क्षेत्रमा पर्यटक आकर्षणमा थप सहजता मिल्नेछ । नाल्दुम पर्यटन विकास समितिले यस कार्यलाई समेत विशेष प्राथमिकतामा राखेको छ ।
यसैगरी नगरकोट क्षेत्रमा स्थानीय रुपमा उपलब्ध ढुङ्गा, काठ लगायतका प्राकृतिक स्रोत र साधनको प्रयोगलाई नै प्राथमिकतामा राख्दै निर्माण भइरहेका होमस्टेहरु समेत फस्टाउने क्रममा छन् । यसबाट नगरकोट क्षेत्रको पर्यटकीय सम्भावना निकै नै बलियो देखिएको छ ।
समस्या ः
पर्यटकीय बसपार्कको अभाव र पार्किङको उचित व्यवस्थापन हुन नसक्दा अहिले सम्म नगरकोट क्षेत्रमा आउने बसहरु बाटो छेउमा नै पार्किङ गर्नुपर्ने अवस्था छ । बसपार्क क्षेत्रमा सार्वजनिक यातायात समेत व्यवस्थित हुन सकेको छैन । बसपार्क क्षेत्रमा शौचालय निर्माणको निम्ति जग्गा समेत छैन । यसलाई व्यवस्थित गर्नुपर्ने दायित्वबाट राज्य पक्ष पन्छिन मिल्दैन ।
रातीलाई लक्षित गर्दै प्रयाप्त प्रकाशको व्यवस्थापन जरुरी ः
रातीको समयमा हिँडडुल गर्नको निम्ति अहिले सम्म उज्यालोको राम्रो प्रबन्ध गर्न सकिएको छैन । यसलाई सोलार सिष्टमबाट व्यवस्थित गर्न सकिन्छ ।
यसैगरी यहाँका होटलहरु खानेपानीको उचित व्यवस्थापन तथा समुदाय प्रतिको आफ्नो दायित्वमा समेत त्यत्ति नै सचेत बन्नुपर्ने अवस्था छ । स्थानीय जनतालाई पानीको उचित व्यवस्थापन गर्नको निम्ति समेत सबै होटलहरुले पहल गर्नुपर्ने आवश्यकता छ ।
होटल व्यवसाय ः विगत र अहिले
पोखराको तुलनामा नगरकोट क्षेत्र हस्पिटालिटीमा केही कमजोर नै देखिन्छ । मध्यम स्तरीय होटलहरुले पर्यटकहरु प्रति गर्नुपर्ने व्यवहारमा सुधार ल्याउनको निम्ति पर्यटन विकास समिति सँगको सहकार्यमा आधारमूत सचेतनामूलक तालिम समेत संचालन गर्नुपर्ने आवश्यकता छ ।
सुधारको तत्काल पहल यसकारण पनि आवश्यक छ ः
विगतमा नगरकोट क्षेत्र राजधानी नजिकका पर्यटकहरुको निम्ति निर्विकल्प जस्तो रहेकोमा अब भने धुलिखेल, चन्द्रागिरी लगायतका क्षेत्रहरु समेत पर्यटक आकर्षणका माध्यमहरु बनिरहेका छन् । यस्तो अवस्थामा यस क्षेत्रको विकासमा विशेष सचेत बन्न नसकिने हो भने आगामी दिनमा नगरकोट क्षेत्रका निम्ति केही चुनौतीहरु रहन सक्छन् । यसैकारण अब व्यवसायीहरु पनि थप जागरुक बन्नुपर्ने अवस्था छ ।
जनशक्ति ः
स्थानीय जनशक्तिलाई विशेष प्राथमिकता दिइएका होटलहरुमा राम्रो सेवा प्रदान गर्नको निम्ति बाह्य क्षेत्रबाट स्तरीय जनशक्ति ल्याएर काममा लगाउने अवस्था पनि सृजना भएको छ । यद्यपि स्थानीय जनशक्तिको क्षमता विकास र दक्षताको लागि थप कार्य गर्नुपर्ने आवश्यकता पनि छ ।
अन्त्यमा,
पहिले नै पूरा भइसक्नुपर्ने नगरकोट क्षेत्रको बाटो लामो समय सम्म पनि पूरा हुन सकेको छैन । यस क्षेत्रको जग्गा समेत केही क्षेत्र आर्मी मातहत रहेको कारण व्यवसायीले चाहे जसरी पार्क बनाउन मिल्ने अवस्था समेत छैन । नगरकोट टावर व्यवस्थापनको निम्ति नापी कार्यालय बाधक बनेको, राम्रो क्षेत्रमा होटलहरु बनिसकेका, अन्य ठाउँको निम्ति प्रयाप्त ठाउँ नभएको साथै उपत्यका भित्रका मानिसहरुलाई नगरकोट आउनको निम्ति प्रवर्द्र्धनात्मक कार्यक्रमहरु सञ्चालन समेत नगरेको लगायतको कारण यो क्षेत्र जुन गतिमा विकासपथमा अघी बढ्नुपर्ने थियो, त्यो हुन सकेको छैन ।
होटल म्यानेजमेन्टको अध्ययन गरी पर्यटन क्षेत्रमा संलग्न हुनभएका प्रदीपजंग अधिकारी हाल लामो समय देखि नै नेपालको पर्यटन क्षेत्रमा फरक तवरले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आउनुभएको छ । लामो समय पोखराबाट पर्यटन क्षेत्र सम्बन्धी विशेष अनुभव बटुल्नुभएका अधिकारी हाल भने पर्यटकीय क्षेत्र नगरकोटबाट माउन्ट एभरेष्ट होटल एण्ड रिसोर्ट सञ्चालन गरिरहनुभएको छ । नगरकोट क्षेत्रबाट सगरमाथा क्षेत्रको भ्यू समेत राम्रो सँग देखिने साथै पर्यटकीय सम्भावनाको नयाँ क्षेत्रको रुपमा समेत नगरकोट विकास हुँदै गएको र भविष्य राम्रो देखेको कारण आफूले यसै क्षेत्रलाई आफ्नो रोजाईमा पारेर लगानी विस्तार गरेको ऊहाँ बताउनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij