२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

नेपालमा ब्रिकेट उद्योग : अहिलेको अवस्था र यसको सम्भावना

नेपालमा ब्रिकेट उद्योग : अहिलेको अवस्था र यसको सम्भावना

नेपालमा २०४५ मा नाकाबन्दी भइसके पश्चात् नेपालमा भएका झारपात, बनमारा, सल्लीपीरल लगायतका वस्तुबाट बिकेट उत्पादन कार्य शुरुवात भएको हो । विगत लामो समय देखि अष्ट्रेलिया, भियतनाम, कोरिया, चीन, सिङ्गापुर, जापान लगायतका देशहरुमा जाडोयाममा पोल्ट्रीफार्मको निम्ति ब्रिकेट प्रयोग गरिन्छ । तर नेपालमा भने ब्रिकेट प्रयोग सम्बन्धमा निश्चित नीतिगत व्यवस्था हुन सकेको छैन ।

ब्रिकेटमा केमिकल :
ब्रिकेटमा केमिकलको प्रयोग भएको हुँदैन । चार्कोल यसको मुख्य पदार्थ हो । ब्रिकेटलाई धुवाँ सहितको र धुवाँ रहित गरेर दुइ भागमा हेर्न सकिन्छ । तुलनात्मक रुपमा धुवाँ रहित ब्रिकेट केही महँगो हुन्छ । काठमाडौं लगायतका शहरी व्यवस्थित क्षेत्रमा धुवाँ रहित ब्रिकेटको नै प्रयोग हुन्छ । धुवाँ सहितको ब्रिकेट सुधारिएको चुलोमा प्रयोग गरिन्छ ।

ब्रिकेटको प्रयोग :
गरीबीको रेखा मुनि रहेका मानिसहरुलाई लक्षित गरिएको ब्रिकेट अहिले फेसन जस्तो बनेको छ । सेकुवा बनाउने, पार्टी प्यालेस, जाडोयाममा बच्चा सेक्ने लगायतमा समेत ब्रिकेटको प्रयोग प्रयोग गर्नेहरु नेपालमा बढ्दैछन् ।

बिचौलियाको कारण महँगिएको ब्रिकेट :
हाल जोर गणेश ब्रिकेट उद्योगले बार्षिक १० टन देखि ४० टन सम्म ब्रिकेट उत्पादन गर्दै आएको यसका सञ्चालक हेमविक्रम सिलवालले बताए । यस उद्योगले एउटा ब्रिकेट सामान्यतया ७ रुपियाँमा तयार गर्छ । रामेछाप देखि काठमाडौं सम्मको ढुवानी भाडा प्रति ब्रिकेट २÷३ रुपियाँ पर्न जान्छ । तर बिचौलियाले काठमाडौंका होलसेल पसलहरुमा ४०÷५० रुपियाँमा उपलब्ध गराउँछन् । बजारमा सर्वसाधारणहरुले किन्दा भने १ सय रुपियाँ भन्दा माथि नै पर्ने अवस्था छ । तर कम्पनीहरुले भने प्रति ब्रिकेट ७५ देखि ८० सम्म उपभोक्तालाई उपलब्ध गराउन आग्रह गर्दै आएका छन् ।

विचौलिया हावी भएको क्षेत्र :
अहिले सबै क्षेत्रमा बिचौलियाहरुको नै हावी छ । उत्पादन तहमा सीमित व्यक्तिहरु मात्र संलग्न हुने तर व्यवस्थापन र बजारीकरणमा भने निकै ठूलो सङ्ख्या आवद्ध हुन रुचाउने कारणले गर्दा यो समस्या आएको हो । अहिले दूध, तरकारी लगायत सबै क्षेत्रमा विचौलियाहरु छन् । जसले गर्दा उपभोक्ताले निकै महँगो मूल्य चुकाउनुपरेको छ । तर उत्पादकहरु भने आफ्नो सामानको राम्रो मूल्य पाउन सकेका छैनन् ।
नाकाबन्दी पश्चात् प्रचार भएको क्षेत्र ः
नेपालमा नाकाबन्दी भएको कारण ब्रिकेटको प्रचार राम्रो सँग भयो । नेपालमा यो क्षेत्र नयाँ क्षेत्र हो । त्यसैकारण सबै मानिसहरुले ब्रिकेटको बारेमा बुझ्न सकेका पनि छैनन् । नेपालमा ब्रिकेटको प्रचार गर्नु आवश्यक छ । यसको उत्पादन पनि बढाउनु जरुरी छ । तर नेपालमा अहिले भने यसको बजार नै स्थायी हुन नसकेको कारण उद्यमीहरु कति समय टिक्न सक्छौं भन्ने अवस्थामा छन् ।

व्रिकेट उत्पादन प्रक्रिया :
७५ प्रतिशत कोइला (चार्कोल) र २५ प्रतिशत माटोबाट ब्रिकेट उत्पादन हुन्छ । धुवाँ निस्कने ब्रिकेट उत्पादन गर्नको निम्ति काँचो वनमारा नै भए हुन्छ । तर धुवाँ नआउने ब्रिकेटको निम्ति भने सुख्खा झारपात र वनमारा आवश्यक पर्छ ।
सय केजी सल्लिपिरलको ३५ किलो कोइला बनाउन सकिन्छ । दाउराको सबैभन्दा कम करिब १५ किलो कोइला बनाउन सकिन्छ । गहुँको करिब ४० किलो कोइला बन्छ । गहुँको व्रिकेट अष्टे«लिया लगायतका देशमा उत्पादन गरिन्छ । यसरी उत्पादन गरिने ब्रिकेटको खरानीलाई कृषि चुनको रुपमा अर्थात अम्लीयपना घटाउनको निम्ति समेत प्रयोग गरिन्छ । अहिले कृषि चुनको मूल्य प्रतिकिलो ८५ रुपियाँ छ । २५÷३० किलो कृषि चुन राख्ने हो भने मात्र अम्लीयपना भएको माटोलाई सामान्य अवस्थामा ल्याउन सकिन्छ । कृषि उपजहरु खास गरी सागपातमा समस्याको रुपमा रहेको लाही किराको समाधानमा पनि ब्रिकेटले सहयोग गरेको हुन्छ ।

प्रदुषण :
ब्रिकेट उत्पादनको क्रममा निस्कने कार्बन मुख्य प्रदूषणको रुपमा रहेको हुन्छ । ड्राई (शुख्खा) बनाउने क्रममा कार्बन उत्सर्जन हुन्छ ।

ब्रिकेटका प्रकारहरु :
विहायब ब्रिकेट र प्यालेट ब्रिकेट गरी २ प्रकारका ब्रिकेटहरु चलनचल्तीमा छन् । ईटा भट्टामा समेत प्रयोग हुने ब्रिकेट चाहिँ प्यालेट ब्रिकेट हो । अहिले नेपालमा ब्रिकेट हाते मेसिनबाट नै बनाउँदै आइएको छ । मेसिन पनि नेपालमा नै उत्पादन हुँदै आएको छ । मेसिनको मूल्य ७ हजारको हाराहारीमा छ ।
बजार :
ब्रिकेट उत्पादन पश्चात् यी ब्रिकेटहरु काठमाडौंको सुपरमार्केटमा बिक्री हुँदै आएको छ । यस बर्ष अघिल्लो बर्षको तुलनामा यसकोे बजार पनि घटेको छ । नाकाबन्दीमा माग बढेको ब्रिकेट लोडसेडिङको अन्त्य भएको कारणले बजार घटेको व्यवसायीहरु बताउँछन । साथै आगामी दिनमा नेपालमा ब्रिकेटको बजार के हुने हो भन्नेमा पनि व्यवसायीहरु द्विविधामा छन् ।

चूनौतीपूर्ण शूरुका दिनहरु :
‘नेपालमा सबैभन्दा पहिले नवलपरासीमा ब्रिकेट उत्पादन भएको हो । शुरुका दिनमा नेपालमा हामीले झारपातबाट ब्रिकेट उत्पादन गर्ने प्रस्ताव गर्दा नेपाल सरकारको आधिकारिक निकायले नै यसमा शंका गरेको थियो । ‘हामीले विभिन्न चूनौती सहेर नै अहिले सम्म ब्रिकेट क्षेत्रलाई अहिलेको अवस्थामा पु¥याउन सफल भइका हौं । २०६९ मा हामीले ब्रिकेटलाई उद्योगको रुपमा अनुमति पायौं । यद्यपि अहिले पनि नेपालमा ब्रिकेटलाई कसरी प्रयोग गर्ने भन्ने कुराको स्पष्ट व्यवस्था हुन सकेको छैन’ जोरगणेश वायो ब्रिकेट उद्योगका सञ्चालक हेम विक्रम सिलवालले सेतोघर डट कम सँगको कुराकानीमा बताए । यो उद्योग ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । आगामी दिनमा यसको क्षमता विस्तार गर्नुपर्ने जरुरी रहेको समेत सिलवाल बताउँछन् । अहिले यस उद्योगको चालु पुँजी ३ करोड छ । यस बर्ष उद्योगले बार्षिक ९÷१० करोड रकम बराबरको ब्रिकेट उत्पादन गर्ने लक्ष्य लिएको छ ।
यस क्षेत्रको थप विकासको निम्ति गर्नुपर्ने कार्य :
नेपाल सरकारको कृषि, उद्योग र वन मन्त्रालय बीच आपसी समन्वय र सहकार्य हुन सक्ने हो भने नेपालमा पोल्ट्री उद्योग मार्फत ठुलो परिणाममा ब्रिकेट खपत बढाउन सकिन्छ ।
अहिले पोल्ट्री फार्महरुमा बिजुलीले ताप दिईंदै आइएको छ । बिजुलीको तुलनामा ब्रिकेटबाट उत्पादित कुखुराको मासु स्वस्थकर र मीठो मानिन्छ । विदेशी मुलुकहरुमा समेत हेर्ने हो भने पनि अनिवार्य रुपमा ब्रिकेट नै पोल्ट्री फर्ममा प्रयोग गरिँदै आइएको छ । विद्युत केवल उज्यालोको लागि मात्र प्रयोग गरिने मानिन्छ । साथै नेपालमा उत्पादन हुने ब्रिकेटको अन्तराष्ट्रिय बजार समेत राम्रो छ । तर नेपालले त्यो सम्पर्क विस्तार गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij